२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुँदीरम्घालाई राष्ट्रिय एकताको केन्द्र र साहित्यिक तीर्थस्थल बनाउन राष्ट्रपतिको जोड



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई सिंगो नेपालको प्रतिबिम्ब झल्कने गरी राष्ट्रिय एकताको केन्द्र र संसारभरिका नेपाली एकचोटी पुग्नैपर्ने साहित्यिक तीर्थस्थलका रुपमा विकास गरिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

भानु साहित्य उद्यानको सहकार्यमा भानु नगरपालिकाद्वारा आज यहाँ आयोजित भानु साहित्य उद्यानको गुरुयोजना अवधारणापत्र एवम परामर्श कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले देशका सातै धाम एकै ठाउँमा निर्माण गरेर यहाँ नेपालका नेपाली, नेवारी, मैथिली, भोजपुरी, अवधी, राई, लिम्बू तामाङ, गुरुङ मगर इत्यादि सबै भाषाका साहित्यिक प्रतिभाहरूलाई एकै ठाउँमा राखेर कलात्मक र प्राकृतिक सौन्दर्यसहित आर्थिक सहयोग जुटाएर गुरुयोजना अनुरुप भानु साहित्य उद्यान निर्माणको परिकल्पनालाई साकार पार्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

“यसले नेपाली राष्ट्रिय भावनालाई उद्वेलित र उद्दीप्त गराउने छ तथा जीवनमा नेपालीले एकपटक पुग्नै पर्ने साहित्यिक तीर्थस्थल र पर्यटकीय गन्तव्य स्थल बनाउने छ भन्ने मलाई पूर्ण विश्वास छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । आदिकवि भानुभक्तको प्रतिमा केन्द्रमा राखेर अन्य भाषाभाषीका आदिकवि, ती भाषाका विशिष्ट साहित्यिक प्रतिभा र आ–आफ्ना मातृभाषामा विशिष्ट रचना गर्ने कविहरूको प्रतिमा स्थापना गरी चुँदीरम्घालाई विभिन्न भाषाका कविहरूको पूmलबारी बनाउँदै एउटा विशिष्ट साहित्यिक तीर्थस्थलको रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

साहित्यिक तीर्थयात्रीका निम्ति चुँदीबेँसी, भानु स्मृति भवन, रम्घाको डाँडो, नेपाली साहित्यका कवि शिरोमणि लेखनाथ पौडेलको जन्मथलो अर्घौअर्चले, जनकवि केशरी धर्मराज थापाको बाटुलेचौर र लोकगायक अलि मियाको जन्मस्थल कुँडहर हुँदै राष्ट्रकवि माधव घिमिरेको घर पुस्तुन लमजुङ, मानुङ आदि विविध भानुस्मृति स्थलहरू संयोजन गरी एउटा भानु सर्किट बनाउन सकिने र यस सर्किटले भानुभक्तका स्मृतिलाई चिरकालसम्म जीवन्त बनाई राख्ने उहाँको भनाइ थियो ।

आफूले दार्जीलिङ र सिक्किमको भ्रमणका बेला यस्तो उद्यानको परिकल्पना गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले चुँदीरम्घाको डाँडामा सिक्किममा चार धाममा शिवजीको मूर्ति राखे जस्तै ठूलो बाटुलो भवनकोे धुरीमा भानुभक्तको प्रतिमा राखेर चारैतिर देखिने गरी अर्थात् दक्षिणमा बन्दीपुर, छिम्केश्वरी, पश्चिममा मानुङ, तनहुँसुर, उत्तरमा मिर्लुङकोट र तुर्लुङकोट, पूर्वमा लिगलिग कोट हुँदै गोरखा कालिका र मनकामनाबाटसमेत देख्न सकिने बनाऔँ भनेर यो परिकल्पना अघि सारेको स्मरण गर्नुभयो । “नेपालका सात प्रदेश र सो क्षेत्रका सप्त गण्डकीसमेतको प्रतीकात्मक स्थलका रुपमा यो उद्यान तयार हुन सक्छ”, उहाँले भन्नुभयो ।

विश्वभरिका नेपालीहरूको सुझाव र सहयोग जुटाएर गुरु योजना अनुरुपको निर्माण कार्य गर्न उहाँले सुझाव दिनुभयो । “ यो उद्यान संसारभरि छरिएका नेपालीहरूले जीवनमा एक पटक पुग्नै पर्ने साहित्यिक तीर्थस्थल र भावनात्मक रूपले नेपाली राष्ट्रिय एकता केन्द्र बन्ने गरी यसको निर्माण होस् भन्ने मेरो सदिच्छा छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सांसदहरु प्रदीप पौडेल, कृष्णकुमार श्रेष्ठ “किसान”, शिशिर खनालले धेरै भन्दा छरितो संरचना, डिजिटल र प्रविधिमैत्री प्रस्तुतिहरु राखेर यसलाई एउटा आकर्षक स्थलका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले नगरपालिकाले यस सम्बन्धमा गरेका काम तथा योजना, समितिका उपाध्यक्ष डा व्रतराज आचार्यले भानु साहित्य उद्यानको गुरुयोजना अवधारणापत्र र महासचिव काशीराज आचार्यले विषयवस्तुबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा डा वासुदेव त्रिपाठी, रमा शर्मालगायतका साहित्यकार, विभिन्न प्रतिष्ठानका उपकुलपति, प्राज्ञलगायतले भानु साहित्य उद्यानका विविध पक्षबारे प्रकाश पार्नुभएको थियो ।