१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कृषि आधुनिकीकरणमा चीन र एफएओको सहयोग महत्त्वपूर्ण छ : मन्त्री चौधरी

कृषि आधुनिकीकरणमा चीन र एफएओको सहयोग महत्त्वपूर्ण छ : मन्त्री चौधरी
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालको कृषि क्षेत्रलाई उत्पादनशील, उत्थानशील, समावेशी र दिगो बनाउने लक्ष्यसहित नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र जनवादी गणतन्त्र चीन सरकारको साझेदारीमा सञ्चालन हुने ‘स्ट्रेन्थेनिङ एग्रिफुड सिस्टम्स इन नेपाल’ (नेपालमा कृषि तथा खाद्य प्रणाली सुदृढीकरण) परियोजनाले कृषि क्षेत्रको रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ।

सोमबार आयोजित परियोजनाको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नेपाल र चीनबीचको ऐतिहासिक, घनिष्ठ र समस्या–रहित सम्बन्ध पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र एक–अर्काको संवेदनशीलताप्रतिको गहिरो समझदारीमा आधारित रहेको बताउनुभयो।

उहाँले चीन नेपालको प्रमुख विकास साझेदारका रूपमा दिगो विकास, पूर्वाधार निर्माण, कृषि आधुनिकीकरण तथा गरिबी न्यूनीकरणमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।

उहाँले चीन सरकारद्वारा ग्लोबल डेभलपमेन्ट एन्ड साउथ–साउथ कोअपरेसन फन्डमार्फत प्रदान गरिएको सहयोगले खाद्य सुरक्षा र जलवायु अनुकूल कृषि प्रवर्द्धनप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको बताउनुभयो।

मन्त्री चौधरीले नेपालको कृषि तथा ग्रामीण विकासमा एफएओले लामो समयदेखि प्राविधिक सहयोग र रणनीतिक नेतृत्व प्रदान गर्दै आएको उल्लेख गर्दै नेपालको कृषि तथा खाद्य प्रणाली रूपान्तरणमा एफएओ विश्वसनीय विकास साझेदारका रूपमा स्थापित भएको बताउनुभयो।

उहाँका अनुसार कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड मात्र नभई अधिकांश नागरिकको जीविकोपार्जन, संस्कृति र पहिचानसँग जोडिएको क्षेत्र हो। तर न्यून उत्पादकता, जलवायु परिवर्तनका बढ्दो प्रभाव, प्राकृतिक विपद्, कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन, आधुनिक प्रविधि तथा बजारसम्म सीमित पहुँचजस्ता चुनौतीले कृषि क्षेत्र प्रभावित भइरहेको उहाँले बताउनुभयो।

मन्त्री चौधरीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आधुनिक कृषि परीक्षण प्रयोगशालाको अभावका कारण कृषि उपज निर्यातमा समेत समस्या देखिएको उल्लेख गर्दै सरकारले कृषि आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण तथा आधुनिक प्रयोगशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो।

उहाँले नवप्रवर्तन, जलवायु–स्मार्ट प्रविधिको अधिकतम उपयोग, दिगो मूल्य शृंखला विकास, महिला तथा सीमान्तकृत समुदायको सशक्तीकरणमार्फत समावेशी आर्थिक वृद्धि हासिल गर्नु सरकारको प्रमुख लक्ष्य रहेको बताउँदै चीन सरकार, एफएओ तथा अन्य विकास
साझेदारबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

मन्त्री चौधरीले परियोजनामार्फत जलवायु–स्मार्ट कृषि अभ्यासको प्रवर्द्धन, पोषण सुधार, बजार विस्तार तथा स्थानीय संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पुग्ने र यसले नेपालको समग्र कृषि तथा खाद्य प्रणालीलाई थप सक्षम, प्रतिस्पर्धी र दिगो बनाउन दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले चीनले कृषि आधुनिकीकरण र गरिबी न्यूनीकरणमा हासिल गरेको सफलता विकासशील राष्ट्रका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै ज्ञान, प्रविधि र असल अभ्यासको आदान–प्रदानबाट नेपालको कृषि क्षेत्रले लाभ लिन सक्ने बताउनुभयो।