• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान ★   लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो ★   बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान ★   दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो ★   इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खस्यो ★   आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता ★   पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन ★   घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध ★   संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह ★   लगानी सम्मेलन: एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

स्मृतिको इन्टेरियर यात्रा: के हो डिजाइन, किन आवश्यक छ ?



घर होस् या अफिसको भित्री, बाहिरी सजावट जो कोहीको चाहना त्यस्तो सजावट भव्य होस्, अरुभन्दा फरक होस् वा वाह भन्ने हुन्छ । घरको भित्री साजसज्जा सुन्दर बनाउनका लागि घरको पनि ‘मेकअप’ गर्नुपर्ने हुन्छ। मेकअपको काम नै इन्टेरियर डिजाइन हो ।

पश्चिमा मुलुकमा कैयौं वर्ष अघिदेखि इन्टेरियर डिजाइनले विशिष्टीकृत महत्व पाइरहे पनि नेपालमा यो विषय गौण थियो । खुसीको कुरा के भने, केही वर्षदेखि नेपालमा पनि निजी घर, कार्यालय, कम्पनी, हाउजिङहरूमा इन्टेरियर डिजाइनको प्रयोग र माग बढ्दै गएको छ । इन्टेरियर डिजाइन हिजोआज पेसाको रुपमा स्थापित हुँदै गएको छ भने कलेजमा पढाई पनि हुन थालेको छ ।

आवासलाई आकर्षक तुल्याउन भित्री र बाहिरी दुबै डिजाइनमा ध्यान दिनु पर्दछ । डिजाइन र सजावटले यसमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। घरको बाहिरी भागको डिजाइन आर्किटेक्ट इन्जिनियरले गर्दछन् । भित्री भागको डिजाइन भने इन्टेरियर डिजाइनरले गर्दछन् ।

विगत १४ वर्षदेखि स्मृति थापा इन्टेरियर डिजाइनको क्षेत्रमा नेपालमै क्रियाशील हुनुहुन्छ । डिजाइन स्टुडियो नामको कम्पनी खोलेरै त्यसको कार्यकारी निर्देशकका रुपमा संघर्षरत थापाका अनुसार नेपालमा केही वर्षदेखि निजी घर, अफिस, कम्पनी, हाउजिङहरूमा इन्टेरियर डिजाइनरको माग बढ्दै गएको छ ।

इन्टेरियर डिजाइनर हिजोआज डाक्टर, इन्जिनियरजस्तै नामी पेशाको रुपमा स्थापित हुँदै गएको छ । उहाँका अनुसार व्यस्त जीवनशैलीका कारण घरको सजावटका लागि प्रशस्त समय नहुनु, थोरै जमिनमा घर पनि वास्तुशास्त्र अनुसारको निर्माण गर्नुपर्ने अवस्था, व्यवस्थित कोठाहरू बनाउन नसक्दा व्यवस्थापनमा कठिन हुने कारणहरूले पनि इन्टेरियर डिजाइनरको माग बढेको छ ।

इन्टेरियरलाई घरभित्रको डिजाइन गर्न दिँदा खर्च बढी हुन्छ कि भन्ने आममानिसमा भ्रम छ । थापाका अनुसार यो गलत सोचाइ हो । स्थानीय सामानको प्रयोग गरेर थोरै खर्चमा पनि घरभित्रको सजावटलाई विशेष बनाउन सकिन्छ, घरभित्र मनै लोभ्याउने वातावरण सिर्जना गर्न सकिन्छ ।

इन्टेरियर डिजाइनरले घरभित्रका ससाना ठाउँलाई पनि भरपुर सदुपयोग गर्ने, आवश्यकताअनुसार कोठाको फर्निचरको व्यवस्थापन गर्ने, कार्पेट, मार्बललगायत सामग्रीको छनौट गर्ने, सिलिङ र भित्ताहरूमा कस्तो खालको रङको प्रयोग गर्दा आकर्षक देखिन्छ, कुन सामान कुन ठाउँमा राख्दा राम्रो देखिन्छ भन्ने कुराको तय गर्दछन् ।

थापाले भन्नुभयो, डिजाइनरले सबै सामग्रीलाई फेसनेबल तरिकाले सजाएर राखिदिन्छन् र त आकर्षक देखिन्छ । उहाँका अनुसार डेकोरेसन, लेआउट, डिजाइन, फलसिलिङ, वाल फ्लोरिङ, कार्पेटिङ लगायतका सम्पूर्ण काम इन्टेरियर डिजाइनरले हेर्ने गर्छन् । देख्दा राम्रो बनाउने मात्र होइन, वास्तुशास्त्र अनुसार कुन सामग्री कहाँ राख्ने, सानो कोठालाई ठूलो देखाउने जस्ता कुरामा विचार पुर्‍याउने जिम्मेवारी इन्टेरियर डिजाइनरको हातमा हुन्छ ।

थापाले न्युजपोलारसँग भन्नुभयो, पहिले–पहिले धेरै सम्पन्न परिवारको घरको तथा ठूला–ठूला कम्पनीहरूका भित्री सजावटका लागि मात्र इन्टेरियर डिजाइनरलाई काममा लगाउने चलन रहे पनि विगत केही वर्षदेखि सामान्य घर, अफिस तथा कम्पनीहरूको आन्तरिक सजावटका लागि इन्टेरियर डिजाइनरको सेवा खोज्न थालिएको छ ।

उहाँले भन्नुभयो, यो यस्तो काम हो सुरुमा कुरा बुझाउन नै कठिन हुन्छ तर काम सकिएपछि मात्र कुरा बुझ्ने अवस्था छ । घरको आन्तरिक स्थान आरामदायी हुनुपर्ने, सामाजिक हैसियत पनि घरको अवस्थाले देखाउने भएकाले यसको व्यापकता बढ्दै गएको छ । यो सँगै व्यावसायिक संस्थाहरुमा त यो सेवा अनिवार्य जस्तै भै सकेको छ ।उहाँले भन्नुभयो, इन्टेरियर डिजाइनरलाई लिएर सजावट डिजाइन गर्दा महंगो हुन्छ भन्ने सोच छ त्यो गलत हो, इन्टेरियर डिजाइनरले लिने भनेको लागेको समय, इनर्जी र आइडियाको शुल्क मात्र हो । अरू बाँकी खर्च भनेको घर वा कार्यालयमा राखिने सामान र त्यसको गुणस्तरमा भर पर्छ।

यस क्षेत्रमा राम्रैसँग आफ्नो क्षमता देखाउनु भएकी थापाले अहिले प्रत्यक्ष रुपमा २५ जना र कामका आधारमा १०० भन्दा बढी व्यक्तिलाई रोजगारी दिनु भएको छ । उहाँले भन्नुभयो, पछिल्लो समय इन्टेरियर डिजाइनरको माग बजारमा ह्वात्तै बढेको छ तर दक्ष शिल्पीहरुको अभाव छ । सस्तो श्रमको मूल्यका लागि वैदेशिक रोजगारीमा जानेहरुका लागि स्वदेशमा नै अवसर रहेको भन्दै उहाँले भन्नुभयो, यताका युवा रोजगारीका लागि विदेश जान्छन् तर इन्टेरियर कामको लागि विदेशबाट कामदार ल्याउनु पर्ने अवस्था छ । यस क्षेत्रमा महिलाको संख्या कम भएको सुनाउँदै उहाँले भन्नुभयो, धैर्यपूर्वक आफ्ना योजनाहरु बुझाउने हो भने सहज नै छ ।

उहाँको अनुभवमा महिलाहरु अलि बढी सिर्जनात्मक काम गर्न रुचाउने भएकाले यो क्षेत्रमा आकर्षण बढिरहेको छ । थापाका अनुसार घरको नक्सा बनाउने कार्यसँगै इन्टेरियर डिजाइन कार्य पनि सँगसँगै अगाडि बढाउँदा भविष्यमा पछुताउनु पर्दैन । घरको बाहिरी काम पिलर, ढलान, वाल, प्लास्टर लगाउने कार्य सकिएपछि भित्री सजावटका कार्य गर्न खोजियो भने भनेजस्तो र खोजेजस्तो डिजाइनको स्वरूप नआउने हुन सक्छ । अर्थात् कता–कता के नमिलेजस्तो महसुस हुन्छ । यस्तो अवस्थामा सबभन्दा बुद्धिमानी घरको नक्सा बनाउने कार्यसँगै इन्टेरियरको कार्य पनि सँगै गर्न सके पछि झेल्नुपर्ने समस्या र दोहोरो खर्चबाट बच्न सकिन्छ ।

थापाका अनुसार इन्टेरियर डिजाइनरले मान्छेको बजेटअनुसार सामग्री छनोट गरी सीमित बजेटबाट पनि चाहेजस्तो डिजाइनमा सौन्दर्य थपिदिन सक्छन् । डिजाइनरले जस्तो बजेट र चाहना छ, त्यस्तै डिजाइनमा घरको सौन्दर्य भरिदिन्छन् । थापा भन्नुहुन्छ, ‘जस्तो खर्च, त्यस्तै डिजाइन । आकर्षक घर पनि चाहिने खर्च गर्न पनि कन्जुस गर्ने कार्यले भनेजस्तो स्वरूप हुन सक्दैन ।’

थापाले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, कस्तो संरचना बन्छ भन्ने कुरा थ्रिडी मार्फत पहिल्यै नै देखाउने गरिन्छ जसले गर्दा मेरो घर वा कार्यालय वा होटल तथा कर्पोरेट अफिस यस्तो बन्छ भन्ने अनुभूति गर्न सकिन्छ । त्यही अनुभवलाई निर्माणसँग उपभोक्ताले अनुभूति गर्दै जान्छन् । त्यसले गर्दा लगानी कति लाग्छ, समय कति लाग्छ भन्ने कुरा पहिला नै थाहा हुन्छ ।

थापाका अनुसार स्वदेशी सामग्रीका लागि पनि यो महत्वपूर्ण क्षेत्र हो । विगतमा विदेशबाट सामान ल्याएर निर्माण गर्ने गरिएको भएपनि पछिल्ला समयमा स्वदेशी सामग्रीको माग पनि बढ्दै गएको छ ।

दर्जनौं होटल, रेस्टुरेन्ट, घर, अफिस तथा अपार्टमेन्टहरुमा आफ्नो सीप देखाउनु भएका थापाले भन्नुभयो, विशेष गरेर ठुला होटलहरुमा नेपालको कला, संस्कृति र परम्परा तथा भूगोलको संयोजन गरेर सजावट गर्ने हो भने पर्यटकहरुका लागि नयाँ अनूभुति हुन्छ । उहाँले भन्नुभयो, नेपालको हिमाली क्षेत्र र त्यसको वातावरण, गोक्यो ताल, रारा लगायत क्षेत्रबाट नामकरण र यसै क्षेत्रको आभाष दिने संरचनाको प्रयोग गरेका छौं, त्यो साँच्चै सुन्दर बनेको छ ।

उहाँले भन्नुभयो, विदेशी पर्यटकहरु नेपाल आउँदा र बस्दा नेपालको अनूभूति गर्दा पो उपयुक्त हुन्छ । विदेशको होइन स्वदेशको अनुभूति दिनु पर्छ । अनेक किसिमका जात्रा र पर्वहरुको धनी मुलुक नेपालमा रंगको संयोजनदेखि डिजाइनको संयोजन गर्न कठिन छैन ।

अरुको घर बनाउने कार्य सहज नभएको भन्दै उहाँले भन्नुभयो, ९९ प्रतिशत राम्रो काम भएपनि १ प्रतिशत काम बिग्रदा पुरै मेहनत ओझेलमा पर्छ । तर यस्तो बेला त्यही १ प्रतिशत काम गर्ने परियोजना नदोहोरिन सजग हुनु पर्छ । त्यसका लागि मिहिनेत र धैर्य आवश्यक पर्छ ।

कुनै पनि व्यक्तिले आफ्नो जीवनभरको पुँजी घरमा लगाउने गरेको हुँदा विश्वास जितेर काम गर्नुपर्ने चुनौती रहेको भन्दै उहाँले विदेशी ठुला कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।


उहाँको अनुभव छ, यस क्षेत्रमा पनि लैंगिक विभेद छ । महिलाले यस्तो ठुलो काम गर्न सक्छन् र भन्ने मानसिकता अझै छ । एक कम्पनीले आफ्नो डिजाइन मन पराएको तर काम भने नदिएको तितो अनुभव सुनाउँदै उहाँले भन्नुभयो, यस क्षेत्रमा प्रत्येक पटक परीक्षा दिनुपर्ने र प्रत्येक पटक उत्तीर्ण हुनुपर्ने अवस्था छ ।

ठुला परियोजनामा स्वदेशीलाई विश्वास नगर्ने विदेशी नै खोज्ने तर काम बिग्रिएपछि सच्याउन स्वदेशीको खोजी हुने गरेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, विदेशीलाई नेपालमा पाइने सामानको बारेमा पूर्ण जानकारी हुँदैन, स्थानीय बजार बुझेका हुँदैनन् जसका कारण खोजेको नतिजा नआएको पनि अवस्था छ ।

अहिले पनि भारतीय र थाइल्याण्डका इन्टेरियर डिजाइनको बलियो उपस्थिति रहेको भन्दै उहाँले भन्नुभयो-नेपाली इन्टेरियर डिजाइनहरुले पनि आफू सक्षम रहेको प्रमाणित गरिसकेका छन् ।