मुम्बई । वरिष्ठ गायिका लता मंगेशकरले कोभिड–१९ सङ्क्रमणलाई पराजित गरेकी छिन् । लता पछिल्लो २४ दिनदेखि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी छिन् ।
निमोनिया भएपछि उनलाई ८ जनवरीमा अस्पताल ल्याइएको थियो । पछि परीक्षण गर्दा उनी कोरोना सङ्क्रमित भएको खुलेको थियो ।
महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले आइतबार लता मंगेशकरको स्वास्थ्य अब स्थिर रहेको बताएका छन् । उनको कोभिड–१९ परीक्षणको नतिजा नेगेटिभ आएको छ । अहिले निमोनियाको लक्षण पनि देखिएको छैन ।
राजेश टोपेले भने, “मैले डा. प्रतिमा समदानीसँग कुरा गरेको छु, उनले लता मंगेशकरको अस्पताल उपचार गरिरहेकी छिन् । लताजी निको हुँदैहुनुहुन्छ । उहाँ केही दिनदेखि भेन्टिलेटरमा हुनुहुन्थ्यो । अहिले उहाँले ठिक महसुस गरिरहनुभएको छ । उहाँलाई अहिले भेन्टिलेटरबाट निकालिएको छ । अहिले अक्सिजन मात्र दिइएको छ । उहाँले उपचारमा प्रतिक्रिया दिँदै हुनुहुन्छ ।”
सुर साम्राज्ञी लता मंगेशकरलाई सन् २००१ मा भारतीय नागरिकको सर्वोच्च सम्मान ‘भारत रत्न’ प्रदान गरिएको थियो।
लता मंगेशकरको स्वास्थ्यका लागि देशभर प्रार्थना भइरहेका बेला गायकहरुको टोलीले पनि उनको स्वास्थ्यका बारेमा निरन्तर अपडेट दिइरहेको छ । गायकको टोली र परिवारले यस्ता कुनै पनि अफवाहमा विश्वास नगर्न अपिल गरेका छन् ।











