२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध



अ+ अ-

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ ।

चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७० लाखबाट मालढुङ्गा बस्ती संरक्षणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनियर दीपेन्द्र पौडेलले रासस जानकारी दिनुभयो । कालीगण्डकीले धार परिवर्तन गर्दा केही वर्षयता कटान तीव्र हुँदै आएको छ । अघिल्लो वर्ष पनि रु ६५ लाख लागतमा केही क्षेत्रमा तटबन्ध गरिएको थियो । लक्ष्मीनारायण मन्दिरसँगै मालढुङ्गाबाट खुदुर्के घाटसम्मको बस्ती संरक्षण गर्न थालिएको इञ्जिनियर पौडेलले बताउनुभयो । गत पुस महिनादेखि निर्माण समिति गठन गरी तटबन्धको काम धमाधम भइरहेको छ ।

कालीगण्डकी निरन्तर दोहन हुँदा बर्खामा पानीको बहाव बस्तीसम्म पुग्ने गरेको थियो । तटबन्ध निर्माणपछि मालढुङ्गाको तटीय क्षेत्रका बस्ती, प्रहरीचौकी, लक्ष्मीनारायण मन्दिरलगायत संरचना जोगिने इञ्जिनियर पौडेलले बताउनुभयो ।

इन्जिनियर पौडेलले भन्नुभयो, “बर्खामा कालीगण्डकी उर्लेर आउँदा बस्तीमा बस्ने जोखिम बढेको थियो, अघिल्लो वर्ष केही भागमा काम भयो भने अहिले पनि करिब ४५ मिटर लामो तटबन्ध निर्माण हुन्छ, जसका लागि निर्माण समिति गठन भएर काम सुरु भएको छ, हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ, आगामी असार मसान्तसम्म सम्पूर्ण काम पूरा गर्न ठेकेदारलाई निर्देशन दिइएको छ ।”

तटबन्ध निर्माण समितिका अध्यक्ष भुवन खड्काले पानीमुनि दुई मिटर पक्की पर्खाल उठाउने काम भइसकेको भन्दै अहिले त्यसमाथि ग्याविनसहितको ‘पर्खाल’ उठाइरहेको बताउनुभयो । बागलुङ प्रवेशद्वार नजिकै ऐतिहासिक लक्ष्मीनारायणको मन्दिर बन्दै गएको र तटबन्ध बनेपछि यहाँका धेरै घर सुरक्षित हुने उहाँले दाबी गर्नुभयो । “तटबन्धको कामलाई तीव्र बनाएका छौँ, पर्खाल उठाएर ढलान गर्ने काम भइरहेको छ, सम्झौताऋनुसार आठ मिटर उचाइ, ४५ मिटर लम्बाइ हुनेछ, सोअनुसार काम गरिरहेका छौँ”, अध्यक्ष खड्काले भन्नुभयो । रासस