३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिक्रमणको चपेटामा पुङ्गीखोला



अ+ अ-

भरतपुर (चितवन) । भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पु्ङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमाङ्कन तथा संरक्षणको काम सुरु गरेको हो ।

महानगरपालिकाले पुङ्गीखोला सीमाङ्कन तथा संरक्षण समितिसमेत बनाएको छ । अहिले यो समितिले सिमाना छुट्याउने काम गरिरहेको छ । आधाभन्दा बढी नापजाँच गर्दा पुङ्गीखोलामाथि ५० भन्दा बढी घर परेको महानगरपालिकाका नापी अधिकृत विकास देवकोटाले बताउनुभयो । उहाँका अनुसार पुङ्गीखोला अतिक्रमण गर्नेमा वडा कार्यालयदेखि विभिन्न क्लब रहेका छन् ।

दियालो फुडल्याण्डले पुङ्गीखोला र सिँचाइको जग्गा गरेर करिब दुई कठ्ठा जमिन अतिक्रमण गरेको उहाँले बताउनुभयो । “हामीले अहिले नै यति भन्न सक्ने अवस्था छैन । प्रारम्भिक अनुमान गर्दा दुई कठ्ठा हाराहारीमा अतिक्रमण भएको छ”, उहाँले भन्नुभयो । पर्खाल र टपमात्र पर्ने घरहरूको सङ्ख्या धेरै रहेको उहाँले बताउनुभयो । खोला र नहरबाट तीन मिटर छाडेर भौतिक संरचना बनाउनुपर्ने हुन्छ । तर कतिपयले खोलाको सिमानाबाटै घर उठाएका छन् । सीमाङ्कनको काम एक महिनाभित्र सकिने उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका–२ स्थित रामकृष्ण टोलका रामकृष्ण गुरुङ २०२५ सालमा लमजुङबाट चितवन झर्दा नारायणगढ क्षेत्रमा फाट्टफुट घर थिए । उहाँ हाल बस्दै आएको रामकृष्ण टोल छेउबाट पुङ्गीखोला फराकिलो हुँदै बग्दथ्यो । आजभोलि त्यो फराकिलो खोला उहाँले देख्न नपाएको बताउनुहुन्छ । खोला साँघुरिँदै गएको छ । अहिले मानिसले खोला मिच्दै गएका छन् । “यहाँ यो खोला कहीँ साँघुरो र कहीँ फराकिलो हुँदै बग्थ्यो”, पूर्वशिक्षकसमेत रहनुभएका गुरुङले भन्नुभयो, “अहिले ठुल्ठूला मान्छेले खोला अतिक्रमण गरेर संरचना बनाएका छन् ।” स्थानीय तहले खोलाको जग्गा संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका–११ गणेशधामबाट सुरु हुने यो खोला वडा नं २, ३ र वडा नं ४ को रामघाट बाह्रघरे हुँदै रामघाटमा पुगेर नारायणी नदीमा मिसिन्छ । साढे छ किलोमिटर रहेको यस खोला सबैभन्दा बढी वडा नं २ मा मिचिएको छ । रामकृष्ण टोल, जलदेवी टोल, समता स्कुल, दुई नम्बर वडा कार्यालय, मिल्स एरिया, वडा नं ३ को आनन्दमार्गमा खोला बढी मिचिएको छ ।

भरतपुर महानगरपालिका वडा नं २ को वडा कार्यालय पूरै खोलाको जमिनमा पर्दछ । भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाट महानगरपालिकाको कार्यापालिकाको बैठकले पारित गरेपछि भवन निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार खोला र ऐलानी जग्गा गरेर पाँच कठ्ठाको हाराहारीमा वडाले ओगटेको जग्गा छ । यो खोलाको चौडाइ एक नासको छैन ।

सब्जीमण्डी र लायन्सचोकबाट पश्चिमतर्फको एनपिआइ कलेज क्षेत्रमा नक्साको लगतसमेत भएको छैन । यस क्षेत्रमा खोला बगिरहेको क्षेत्रलाई हेरेर लगत सङ्कलन गर्ने एकखालको मौखिक सहमति भएको छ । अन्य स्थानमा ६ देखि ६५ मिटरसम्म फराकिलो भएर खोला बगेको नापी अधिकृत देवकोटाले बताउनुभयो ।

महानगरपालिकाले अतिक्रमणको चपेटामा परेको पुङ्गीखोलामा तलाउसहित दायाँबायाँ हरियाली उद्यानसहित सौन्दर्यीकरणका लागि विभिन्न संरचना बनाउने योजना बनाएको छ । अहिले गणेशस्थानबाट कामसमेत सुरु भएको छ । प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम र भरतपुर महानगरपालिकाको साझेदारीमा रु एक करोडको लागतमा तलाउ निर्माण र हरियाली उद्यानसहित सौन्दर्यीकरणका काम गरिएको छ ।

गुरुयोजनामा उद्यान, फुटपाथ, साइकल ल्याण्डलगायतका संरचना बन्नेछन् । खोला अतिक्रमण गरेर बनाइएका सम्पूर्ण संरचाना हटाइने भरतपुर महानगरपालिका प्रमुख नरेन्द्रकुमार राना बताउनुहुन्छ । “खोला अतिक्रमण कसैले गर्न पाउँदैन । बनेका संरचना छन् भने सबै हटाइन्छ”, उहाँले भन्नुभयो, “वडाको भवन बनेको भए पनि भत्किन्छ ।” तलाउ निर्माण रु ६६ लाखमा सक्नेगरी कायाक कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ । तलाउ निर्माणपश्चात खोलाको संरक्षण र पर्यटकीय स्थान निर्माण हुने बताइएको छ । रासस