१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपकुलपतिमा बुढाथोकी नियुक्त भएका हुन् ? माओवादी नेताहरुले किन दिँदै छन् बधाई ?



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता तथा सांसद देवेन्द्र पौडेल र उहाँकी पत्नी तथा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद बलावती शर्माले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्नुभयो ।

उहाँहरुले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा १ नम्बरमा छनौट हुनु भएका प्रा डा चित्रबहादुर बुढाथोकीलाई नियुक्तिका लागि बधाई दिँदै शुभकामना समेत दिनुभयो । पौडेल दम्पतीले बधाई दिएपछि माओवादी नेतृ जयपुरी धर्ती लगायत अन्य माओवादी नेताहरुले बुढाथोकीलाई बधाई दिए ।

नियुक्ति नभएको कुरा सार्वजनिक पछि उहाँले आफनो स्टाटस सच्चाउनु भएको थियो ।

पूर्वशिक्षामन्त्री समेत रहनु भएका पौडेलले सामाजिक सञ्जालमा दिनुभएको बधाईलाई आधार मानेर विभिन्न सञ्चारमाध्यमले समाचार बनाए । यसैलाई आधार बनाएर न्यूजपोलारले पनि समाचार बनाएको थियो । यद्यपि, त्यस बेलासम्म कुलपति समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले नियुक्तिको कुनै सूचना जारी गरेको थिएन ।

अर्थात् नियुक्त भएको थिएन तर सांसद तथा माओवादी केन्द्रका जिम्मेवार नेता पूर्वशिक्षामन्त्री समेत रहेका पौडेलले लेखेको स्टाटसलाई आधार मान्दा हामी पनि चुक्यौं । यसमा हामी क्षमा चाहन्छौ ।

सिफारिस कमिटीले आइतबार पहिलो नम्बरमा डा चित्रबहादुर बुढाथोकी, दोस्रो नम्बरमा डा केशरजंग बराल र तेस्रोमा टंकप्रसाद धमलाको नाम सिफारिस गरेको थियो ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा शिक्षा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेको सिफारिस कमिटी गठन गर्नुभएको थियो ।

सो कमिटीले आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूचीमा परी अन्तर्वार्ताको कार्य सम्पन्न भएपछि तीन जनाको नाम चयन गरेको थियो ।

त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १८ गते सकिएपछि सो पद रिक्त रहेको थियो ।

*सम्पादन गरिएको समाचार