लस एन्जलसः लेडी गागा भनेर चिनिने अमेरिकी पपस्टार गायिकाका दुई वटा फ्रेन्च बुलडग हलिउडको निवास नजिकैबाट लुटिएका छन् । प्रहरीका अनुसार हतियारधारी लुटेरा समूहले लेडी गागाका कुकुर डुलाउने व्यक्तिलाई गोली हानी घाइते बनाएर कुकुर लुटेका छन् ।
गागालाई निकै मनपर्ने ती दुई कुकुरका लागि उनले ५ लाख अमेरिकी डलर (करिब ६ करोड नेपाली रुपैयाँ) इनाम घोषणा गरेकी छिन् ।
लस एन्जलस प्रहरी विभागका जोनाथन टिपेटका अनुसार कुकुर डुलाउने व्यक्तिलाई बुधबार राति गोली हानिएको थियो, तर उनी खतरामुक्त रहेका छन् । घटना हुँदा गागाका तीन वटा बुलडग ती व्यक्तिले बाटोमा डुलाउँदै थिए, तर एउटा कुकुर भने भाग्न सफल भएको थियो ।
गागाका यी दुई कुकुरको नाम कोजी र गुस्ताभ राखिएको थियो । लेडी गागा आजभोलि एउटा मुभीको सुटिङका लागि रोममा छिन् ।
लुटेराहरु निस्सान सेडान कारमा आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
फ्रेन्च बुलडगलाई हजारौं डलर पर्ने गर्दछ । यसअघि गत जनवरीमा सान फ्रान्सिस्कोमा एक महिलाको फ्रेन्च बुलडगको खैरो रंगको बच्चा बन्धुक देखाएर लुटिएको थियो । (एपी)











