काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।
नेदरल्यान्डले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका अनिलकुमार शाह र आसिफ शेखले अर्धशतक बनाए । आसिफले ४५ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए । अनिल साहले ३६ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ५७ रन बनाए ।
कुशल भुर्तेल ११ बलमा २८ रन बनाएर आउट भएका थिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १३७ रन जोडेको थियो । उसका लागि स्कट इडवार्ड्सले ३३, बास डि लिडेले २७, सिब्रान्ड एंगलब्रेच्टले २३, नोहा क्रोइसले १२, म्याक्स ओ’डोडले १० तथा आर्यान दत्तले १० रन जोडे । यस्तै काइल क्लेइन ११ रनमा नटआउट रहे ।
बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामी १–१ विकेट लिए ।