• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo

अमेरिकामा भारतीयलाई मात्र समय दिन्छन् नेपाली राजदूत



वासिङटन । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री नेपाली समुदायलाई समय दिन खासै आवश्यक ठान्दैनन् । उनले नेपालीलाई भन्दा अन्य देशका नागरिकलाई बढी समय दिन्छन् । त्यसमा पनि सबैभन्दा बढी त उनी भारतीयलाई दिन्छन् ।

अमेरिकामा पनि अहिले नेपाली समुदायको ठूलो उपस्थिति रहेको छ । त्यहाँ नेपालीहरुले जागिर खाने मात्र होइन आफ्ना बिजनेस व्यवसायलाई पनि फैलाएका छन् । उनीहरु होटल, रेष्टुरेन्टदेखि अन्य व्यवसायलाई अघि बढाइरहेका छन् । त्यस्तै एनआरएनए र त्यो भन्दा पनि नेपालका अन्य भौगोलिक या विषयगत संघसंस्थाहरु पनि स्थापना गरी नेपाली नेपाली बीचको सम्पर्क र सम्बन्धलाई स्थापित गर्ने काम गरिरहेका छन् ।

तर नेपाली समुदायका यी कुनै पनि क्रियाकलापहरुमा सहभागी हुन नेपाली राजदूत जान रुचाउँदैनन् । नेपाली समुदायले खोलेको रेष्टुरेन्टमा उनी उपस्थित हुदैनन् बरु भारतीयले भने बोलानासाथै पुगिहाल्छन् । हालैका केही भारतीय रेष्टुरेन्ट उदघाटनका कार्यक्रमबाट पनि यो पुष्टि भएको छ ।

नेपाली समुदायका विविध सांस्कृतिक तथा जनसम्पर्कका अन्य कार्यक्रममा अतिथिका रुपमा उपस्थित भैदिन नेपाली समुदायका नागरिकले गरेका आग्रहलाई लत्याउँदै उनी एकै महिनामा भारतीयका दुई रेष्टुरेन्ट उदघाटनमा पुगेका थिए । यो देखेर नेपाली समुदायका नागरिकले आश्चर्य पनि मानेका थिए । आफूहरुले खोलेका होटल रेष्टुरेन्ट हुन् या यस्तै नेपाली समुदायका कार्यक्रममा आउन नमान्ने राजदूत ती कार्यक्रममा भने सहजै सहभागी हुँदा अमेरिकास्थित नेपाली समुदायका नागरिकले आश्चर्य मान्नु पनि स्वाभाविकै हो ।

अर्कातर्फ अमेरिकास्थित नेपाली दूताबासले वासिङटन डिसीमा गर्ने कार्यक्रममा पनि राजदूत खत्रीले नेपालीलाई भन्दा भारतीयलाई नै बढी मात्रामा बोलाउन सहज मान्ने गरेका छन् । नेपालका मन्त्री या विशिष्ट व्यक्ति गएका बेला होस या दूताबासले आयोजना गर्ने कुनै औपचारिक कार्यक्रममा त्यहाँ नेपाली भन्दा विदेशी समुदायका नागरिकको संख्या बढी देख्ने गरिन्छ । नेपाली व्यवसायीका अनुसार दुताबास भित्र हुन औपचारिक कार्यक्रमहरुका नेपाली खानाको प्रर्बद्र्धनका लागि पटक पटक आग्रह गरे पनि उहाँले त्यत्ति चासो दिनु भएको छैन ।

उनको यो व्यवहारले यहाँका नेपालीले उनलाई बारम्बार गुनासो गर्ने गरे पनि उनले वास्ता गर्दैनन् । अमेरिकामा रहेका नेपाली समुदायले यस विषयमा दूताबासका कर्मचारीलाई भन्ने गरेको भए पनि उनीहरुले पनि राजदूतलाई नै देखाउने गरेका छन् । यसै विषयमा राखिएको एक जिज्ञासामा दूताबासका एक कर्मचारीले भने– हामीले त यसो नगरौँ भनेर उहाँलाई धेरै पटक भन्यौँ तर आफैँले भारतीय समुदायका कार्यक्रमलाई समय दिइसक्नुभएको हुन्छ हामीलाई थाहै हुदैन ।