• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

देश यथास्थितिमा बस्न सक्दैन, नयाँ सम्झौता गरौँ: अध्यक्ष लिङदेन



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताउनुभएको हो । उहाँले देशले अवलम्वन गरेको प्रणाली नै दोषि रहेको उल्लेख गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको बताउनु भयो । उहाँले अहिलेको प्रणाली गणतन्त्र नभइ लुटतन्त्र भएको टिप्पणी समेत गर्नुभयो । उहाँले कसैलाई निषेध गरेर मुलुक अगाडी बढ्न सक्दैन भन्नेकुरा प्रमाणित भइसकेको भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले अवलम्बन गरेको प्रणाली दोषि छ । त्यसैले अब यही निर्वाचन प्रणाली, यही नियुक्ति प्रणाली, यही ऐन निर्माण गर्ने विधिबाट हामीले अपेक्षा गरेको परिवर्तन सम्भव छैन मात्र होइन कुनै हालतले देश अगाडी बढ्न सक्दैन । अहिले यो कुरा राप्रपाले मात्रै होइन, यो उत्कृष्ट व्यवस्था हो भनेर ल्याउने, लड्ने सबैले पनि स्वीकारि सक्नुभएको अवस्था हो । त्यसैले म आग्रह गर्छु, परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो, त्यो गणतन्त्र होइन । अहिले जनताले के भन्छन्, लुटतन्त्र हो । केही सिमिति राजनीतिक दल र ति सिमित राजनीतिक दलका पनि सिमित नेताहरुका मुठीमा देश कैद भयो ।’

‘उनीहरुको लागि मात्रै भयो । त्यसकारण अब देश यहीँ अडिइराख्न सक्दैन । देशलाई यही अवस्थामा राखिराख्न सकिँदैन । म भन्न चाहन्छु, सबै दलहरुको ध्यानाकर्षण गर्न चाहन्छु, केवल सरकारको मात्रै होइन, सबै माननीय सदस्यहरुको ध्यानाकर्षण गर्न चाहन्छु । राप्रपाले पछाडी फर्किने कुरा गरेको होइन । तर अब देश यहीँ बसिराख्न पनि सक्दैन । अब नयाँ सम्झौता गरेर अगाडी जानुपर्छ । कसैलाई निषेध गरेर मुलुक अगाडी बढ्दैन भन्ने कुरा प्रमाणित भइसक्यो । हाम्रो अहम् तुष्टिको लागि देशलाई बन्धक नबनाऔँ । सबै मिलेर नयाँ सम्झौता गरेर नविन बाटोमा देशलाई अगाडी लैजाऔँ भन्ने कुरा म आग्रह गर्न चाहन्छु ।’

उहाँले विभिन्न भ्रष्टाचारका काण्डहरु आएपनि त्यसको निष्पक्ष रुपमा छानबिन हुन नसकेको बताउनु भयो ।