२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले भूकम्पपीडितलाई राहत, सडक, पुललगायत पूर्वाधार विकास, विदेशमा हराएका नागरिकको खोजी तथा विभिन्न निकायमा अपुग कर्मचारीको व्यवस्थापनलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा बोल्दै सांसद कुमार दसौदीले नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी बनाउन योग्य र क्षमतावान् व्यक्ति नियुक्ति गर्न सरकारसमक्ष माग गर्नुभयो । सांसद खिमलाल देवकोटाले संसद्को डोमिन ‘पार्लेयमेन्ट डट जिओभी डट एनपी’ मा सुधार गर्न सुझाव दिनुभयो । उहाँले सङ्घीय संसद् सचिवालयमा कर्मचारी अपुग रहेको भन्दै सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दिलकुमारी रावल थापा (पार्वती)ले नेपालको प्रसिद्ध ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको वाल्मीकि आश्रमको संरक्षण र सडक पहुँचका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले निर्माण सम्पन्न भएको त्रिवेणी नारायणी नदीको झोलुङ्गे पुल तत्काल सञ्चालनमा ल्याउन माग गर्नुभयो ।

सांसद दीपा गुरुङले गत कात्तिक १७ गतेको जाजरकोट भूकम्पमा परी ठूलो जनधनको क्षति भएको र पीडितको राहतका लागि देश तथा विदेशबाट आएको राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । भूकम्प प्रभावित क्षेत्रमा अहिले पनि सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिक जाडोबाट प्रभावित भइरहेको भन्दै पीडितलाई चाँडो राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद भैरवसुन्दर श्रेष्ठले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माणका लागि लाभग्राहीले अझै रकम पाउन नसकेको भन्दै अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डा विमला राई पौड्यालले गत पुस १३ गते ललितपुरको ग्वार्कोमा प्रहरीसँगको झडपमा मृत्यु भएका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र साहको घटनाबारे सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

सांसद सिंहबहादुर विश्वकर्माले देशमा बढ्दो बेरोजगारीको समस्यासँगै दिनप्रतिदिन युवा जनशक्ति विदेश पलायन भइरहेको, बेपत्ता हुनेको सङ्ख्या बढिरहेको तथा सिन्धुपाल्चोकबाट मात्रै ७७ जना हराएको भनी निवेदन परेको भन्दै पीडितको खोज तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस