• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

राष्ट्रियसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण



काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले भूकम्पपीडितलाई राहत, सडक, पुललगायत पूर्वाधार विकास, विदेशमा हराएका नागरिकको खोजी तथा विभिन्न निकायमा अपुग कर्मचारीको व्यवस्थापनलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा बोल्दै सांसद कुमार दसौदीले नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी बनाउन योग्य र क्षमतावान् व्यक्ति नियुक्ति गर्न सरकारसमक्ष माग गर्नुभयो । सांसद खिमलाल देवकोटाले संसद्को डोमिन ‘पार्लेयमेन्ट डट जिओभी डट एनपी’ मा सुधार गर्न सुझाव दिनुभयो । उहाँले सङ्घीय संसद् सचिवालयमा कर्मचारी अपुग रहेको भन्दै सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दिलकुमारी रावल थापा (पार्वती)ले नेपालको प्रसिद्ध ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको वाल्मीकि आश्रमको संरक्षण र सडक पहुँचका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले निर्माण सम्पन्न भएको त्रिवेणी नारायणी नदीको झोलुङ्गे पुल तत्काल सञ्चालनमा ल्याउन माग गर्नुभयो ।

सांसद दीपा गुरुङले गत कात्तिक १७ गतेको जाजरकोट भूकम्पमा परी ठूलो जनधनको क्षति भएको र पीडितको राहतका लागि देश तथा विदेशबाट आएको राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । भूकम्प प्रभावित क्षेत्रमा अहिले पनि सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिक जाडोबाट प्रभावित भइरहेको भन्दै पीडितलाई चाँडो राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद भैरवसुन्दर श्रेष्ठले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माणका लागि लाभग्राहीले अझै रकम पाउन नसकेको भन्दै अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डा विमला राई पौड्यालले गत पुस १३ गते ललितपुरको ग्वार्कोमा प्रहरीसँगको झडपमा मृत्यु भएका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र साहको घटनाबारे सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

सांसद सिंहबहादुर विश्वकर्माले देशमा बढ्दो बेरोजगारीको समस्यासँगै दिनप्रतिदिन युवा जनशक्ति विदेश पलायन भइरहेको, बेपत्ता हुनेको सङ्ख्या बढिरहेको तथा सिन्धुपाल्चोकबाट मात्रै ७७ जना हराएको भनी निवेदन परेको भन्दै पीडितको खोज तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस