१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितको अर्धशतकमा एपीएफले लुम्बिनीलाई ७ विकेटले हरायो



अ+ अ-

काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतकमा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराएको छ ।

जितको लागि १३४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको एपीएफले २२.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको जितमा कप्तान रोहित पौडेलले अर्धशतकिय ईनिङ खेले । उनले ४८ बलमा ४ चौका र १ छक्कासहित ५२ रनको योगदान दिए ।

पुरन बिक ३३ र अमर राउटेला ८ रनमा नट आउट रहँदा लोकेश बम १६ र प्रज्वल शाही ५ रनमा आउट भए ।

लुम्बिनीका मोहम्मद हुसेन, कृष्ण कार्की र इखलाख अहमदले १/१ विकेट लिए ।

त्यसअघि सिद्धार्थनगर रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले ४१ ओभरमा अलआउट हुदै एकसय ३३ रन बनाएको थियो। लुम्बिनीको लागि दिलसाद अलीले सर्वाधिक अविजित ३९ रन बनाए । मृनाल गुरुङले ३४,बिराट भण्डारीले २३ र प्रज्ज्वल थापाले ११ रन बनाए । यी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो ।

एपीएफको लागि रमेश कुर्मी एक्लैले पाँच विकेट लिएका थिए । भुवन कार्कीले तीन विकेट लिदा रोहित पौडेल र मौसम ढकालले एक–एक विकेट हात पारे ।

एपीएफ ६ खेलमा समान ३ मा जित र हारका साथ छैटौं स्थानमा छ । लुम्बिनी ५ खेलमा १ मा जित र ४ मा हारसहित नवौं स्थानमा छ । योसँगै भैरहवामा पिएमकपका खेलहरु सकिएका छन् । पुलिस ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ ।