२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा

राजधानीका सार्वजनिक जग्गाजमिन कता हराए ? पार्क बनाउने योजना कता अलपत्र ?

राजधानीका सार्वजनिक जग्गाजमिन कता हराए ? पार्क बनाउने योजना कता अलपत्र ?
अ अ+ अ-

सोमनाथ लामिछाने

उद्यान्न वा पार्क भन्ने बित्तिकै हाम्रो दिमागमा कस्तो चित्र बन्छ ? बिहान, साँझ यसो टहलिन, खेल्न र केटाकेटीलाई कुदाउन हामी सबैलाई मन हुन्छ । तर मन भएर मात्र कहाँ हुन्छ र ? त्यसका लागि ठाउँ पनि त हुनुपर्यो । शहरी क्षेत्रमा के यस्ता ठाउँ व्यवस्था गर्न सकिन्छ ? अझ काठमाडौंजस्तो घना बस्ती र ठूलो जनसंख्या भएको ठाउँमा यी कुराहरु जुटाउन सकिएला र ? अधिकांश अभिभावकले आफ्ना घरछेउ वा पायक पर्ने ठाउँ वा टोलमा एउटा पार्क भए हुन्थ्यो भन्ने चाहना राखेका हुन्छन् । तर यस्ता ठाउँ कसले व्यवस्था गरिदेला ? कहाँ भन्ने ? जमिन कहाँ होला ? सार्वजनिक र निजी जमिन कसरी पत्ता लगाउने ? कसैले भित्रभित्रै सार्वजनिक जग्गा बेचिसकेका त छैनन् ?

यी अनगिन्ती प्रश्नको उत्तर खोजेर सार्वजनिक स्थल पत्ता लगाउने र त्यहाँ पार्क बनाउने भन्ने कुरा निकै कठिन छ, जुन स्वाभाविक हो । भूमाफियाले यी जग्गा बीचमै गायब पारिसकेका वा सार्वजनिक जग्गा मिचेर व्यक्तिका नाममा दर्ता गरिसकेका हुन्छन् । के राजधानीमा सार्वजनिक जग्गाको स्थिति अहिलेकै जस्तो विगतमा थियो होला र ? सरकारी र सार्वजनिक जग्गाहरु कता मासिए होलान्, कहाँ गए होलान् ?

राजधानीमा बाक्लो बस्ती वा जनघनत्व बढी हुनु स्वाभाविकै हो । काठमाडौंमा व्यवस्थित योजनाको अभाव हुँदा सार्वजनिक, सरकारी जग्गामाथि खुलेआम अतिक्रमण भएकै हो । हुँदाहुँदा खोला किनार पनि निकै साँघुरा भइसकेका छन् । अहिले आएर बल्ल सरकारले नदी किनारामा सडक, ढल र केही ससाना पार्कजस्ता खुला ठाउँ संरक्षण गरेको देखिएको छ । तर शहरका यी भित्री खोलाहरु साँघुरिएर स–साना नहर जस्ता भएका छन् । नदी सभ्यताको दृष्टिबाट हेर्दा अहिलेकै अवस्थामा यी खोलाहरुले शहरको शोभा पटक्कै बढाएका छैनन् ।

***

सन् २०२० को डिसेम्बरमा अस्ट्रेलियाको ब्रिस्बेन घुम्ने अवसर मिल्यो । झण्डै एक महिने बसाई ब्रिस्बेनदेखि झण्डै २ घण्टाको ड्राइभमा पुगिने टुआम्बा भन्ने सानो शहरमा थियो । यो ठाउँ अस्ट्रेलियामा रोज गार्डेनका नामले परिचित रहेछ । यहाँ गुलाबका अनेक प्रजाति देख्न पाइने रहेछ, र वर्षमा एक पटक मेला पनि लाग्दो रहेछ । सामान्यतया, अस्ट्रेलिया ठूलो र फराकिलो ठाउँ भएकाले शहरलाई जति पनि बढाउन सकिएला ।

तर शहरलाई व्यवस्थित, सुन्दर र सुविधासम्पन्न कसरी बनाउने भन्ने कुरा सोच पनि हो । यही सोचले शहरलाई शहरजस्तो बनाउँछ । टुआम्बामा आधुनिक शहरमा हुनुपर्ने सायद सबै चिज छन् । फराकिला बाटाघाटा, एक लहरमा मिलाएर बनाइएका घर, हरेक घर अगाडि नगरपालिकाले अनिवार्य रोप्न लगाएका रुखबिरुवा, अस्पताल, नर्सिङ होम, वृद्धवृद्धाको हेरचाहका लागि खोलिएका स्याहार केन्द्रहरु, अवकाश जीवन बिताउन निर्माण गरिएका भिलेज इत्यादि यहाँ देख्न सकिन्छ । एउटा धनी, सम्पन्न राष्ट्रमा उपलब्ध यी सुविधाहरुको फेहरिस्तका बारेमा कुरा गरेर साध्य छैन, हुँदैन । तर यहाँ उठान गर्न लागिएको विषय पार्कको हो ।

***

टुआम्बामा शहरका भित्री (कोर) क्षेत्रदेखि शहर विस्तार हुँदै गएका नयाँ नयाँ क्षेत्रमा साना–ठूला पार्क सबैजसो टोल नजिकै देख्न पाइयो । हरियाली यी पार्कमा खासगरी बिहान र साँझपख मानिसको बाक्लो उपस्थिति हुने गर्दछ । बिदाका दिनहरुमा त यहाँ अझ बढी मानिस भेला हुँदा रहेछन् । केटाकेटीलाई खेल्न, दौडिन यी ठाउँ स्वर्गसरी छन् । अझ, कैयौं पार्कमा खासै केही छैन, केबल खुला चौर छ । यी चौरमा मजाले घुमफिर गर्दा बेग्लै आनन्द आउँछ । पार्कमा फटाफट दुई–तीन फन्का लगाए पसिनै आउने रहेछ । हल्काफुल्का शारीरिक अभ्यास गर्ने व्यवस्था पनि यी पार्कमा छन् ।

***

उता ब्रिस्बेन शहरकै लगभग बीच भागमा पर्ने ब्रिस्बेन बोटानिकल गार्डेन घुम्न मानिसको भीड नै लाग्छ । गार्डेन ठूलो छैन, तर मानिसले यस गार्डेनभित्र अनेक प्रजातिका बोट बिरुवा र जीवजन्तु देख्न पाउँछन्, जानकारी लिन सक्छन् । उता डाउनटाउन ब्रिस्बेनमा पनि ठुल्ठूला पार्क देख्न सकिन्छ । परिवार र साथीभाइ मिलेर रमाइलो गर्न, खानपिन गर्न पनि यहाँ सम्भव छ । त्यसैले पार्कहरुले समाज र परिवारलाई जोड्न निकै ठूलो भूमिका खेलेको प्रष्टै देख्न सकिन्छ ।

***

के नेपालमा हामीलाई पार्क नचाहिने हो ? पक्कै होइन । हामीलाई पनि पार्कको निकै जरुरत छ । घुम्ने कहाँ ? कता जाने ? हामीले दिनहुँजसो समाचार सुन्दै आएका छौं, मर्निङ वाकमा हिँडेका व्यक्तिलाई सवारी साधनले ठक्कर दिएर मृत्यु भयो । शहरभित्र दिनदिनै व्यस्त हुनुपर्ने, काम गर्नुपर्ने व्यक्तिका लागि टाढाटाढा पुग्न सम्भव नै हुँदैन । सप्ताहान्तमा साइकल चलाएर अलि टाढा घुम्न जाने चलन युवामा बढेको छ, तर त्यो पनि पूर्ण समाधानको बाटो होइन । सबैका लागि पहुँच हुने, पुग्ने ठाउँमा पार्कहरु भइदिए मानसिक र शारीरिक स्वास्थ्यमा ठूलो मद्दत पुग्नेछ । हामीले शहर त बनायौं, तर यस्ता अति आवश्यक पक्षप्रति ध्यान नजाँदा पार्कहरु बनाउने ठाउँहरु मासिएका छन् । कैयौं सरकारी जग्गा जमिनलाई केन्द्रीय, स्थानीय तहका सरकारी वा अर्ध सरकारी कार्यालयहरुले भाडा उठाउने, पैसा कमाउने नाममा भाडामा दिएका छन्, र योक्रम अझै रोकिएको छैन । काठमाडौंमा सार्वजनिक जग्गामा भाडाका लागि बनाइएका कैयौं सरकारी भवनबाट वर्षमा मुश्किलले १–२ अर्ब रुपैयाँ भाडा उठ्दो हो, तर ती ठाउँमा सानै स्वरुपका भए पनि पार्कहरु बनाउन पाए अर्बौं रुपैयाँ बराबरको फाइदा पुग्छ, शहरी सुन्दरता थपिन्छ ।

***

भृकुटी मण्डप, रत्नपार्क, बालाजुमा ससाना पार्कहरु छन् । भृकुटी मण्डपभित्र अनेक भौतिक संरचना निर्माण गरिएका कारण त्यो पार्कका रुपमा देखिन्न । नाम नै पार्क रहेको रत्नपार्क पनि सानो छ । टुँडीखेलमा बसपार्कले ओगटेको छ भने सैनिक टुँडीखेलमा मानिसले सहजै प्रवेश पाउँदैनन् । हाल मन्त्री निवास बनिरहेको भैंसेपाटीमा पार्कको जरुरत भए पनि पूरै जमिनमा मन्त्रीहरुका लागि घर, क्वार्टर इत्यादि बनिरहेका छन् । मगरगाउँका स्थानीयवासीले मगरगाउँ चोकमा थोरै खुला ठाउँका लागि माग गरिरहेका छन् तर मन्त्रीहरुका लागि भवन निर्माणको जिम्मा लिएको शहरी विकास मन्त्रालयले स्थानीयको माग सुनेकै छैन । मन्त्रालयलाई केबल भवन बनाएर त्यसभित्र मन्त्रीहरुलाई राख्न पाए पुग्यो भन्ने सोचमात्र देखिन्छ, जुन सर्वथा गलत छ ।

राजधानीका सार्वजनिक स्थलमा पार्क बनाउनु पर्छ भनेर आवाज उठाउने नेपाल वातावरण पत्रकार समूह समेतका नागरिक समाज र अभियन्ताहरुको आवाज यो शहरभित्र मधुरो छ, उनीहरुको आवाज सुनिएको छैन । अलि ठूलो स्वरमा आवाज उठाए स्वार्थ समूहले उकासेको आरोप खेप्नुपर्ने मात्र होइन, धाकधम्की सहनु पर्ने भुक्तभोगीहरुले बताउँदै आएका छन् । त्यसैले केन्द्र सरकार र स्थानीय तह दुबैले राजधानी काठमाडौंमा मात्र होइन, देशका प्रमुख शहर र बजार क्षेत्रका हरेक टोलमा पार्क बनाउने गरी योजना बनाउन, लगानी बढाउन र सार्वजनिक जमिन नभेटिए किनेरै भए पनि व्यवस्था गर्न तत्काल पहल थाल्नु जरुरी देखिन्छ ।

माथिका तस्वीरहरू अस्ट्रेलियाकाे ब्रिस्बेन र टुआम्बा शहरका पार्कका हुन् । तस्वीरः साेमनाथ लामिछाने