• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ ★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत ★   काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस् ★   प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने

माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताहका कार्यक्रम



काठमाडौँ । माघ १० गतेदेखि सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका छन् । सहिद सप्ताह मूल समारोह समितिले कार्यक्रम सञ्चालन गर्नेछ । कार्यक्रमका बारेमा जानकारी दिन विज्ञप्ति जारी गर्दै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले, सहिदहरुको स्मृतिमा उहाँहरुको योगदानको सम्मान गर्दै आयोजना गरिने कार्यक्रममा सहभागी हुन सर्वसाधारण सबैमा आग्रह गर्नुभएको छ ।

नागरिक स्वतन्त्रताका लागि राजनीतिक संघर्षका क्रममा वि. सं. १९९७ सालमा पक्राउ परेका ४ सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दसहित विभिन्न समयका राजनीति आन्दोलनमा सहादत प्राप्त गर्ने योद्धाहरुको स्मरण तथा सम्मानमा सहिद सप्ताहका कार्यक्रम मनाउने गरिएको छ । शासकसामु माफी मागेर झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गरेका सहिदहरुको स्मृतिमा वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित मूल समारोह समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ ।

यस बर्ष काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रमुख सुनिता डंगोल, वडा नं. १२ का अध्यक्ष एवं वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, वडा नं. ७ का अध्यक्ष बिमलकुमार होडा, वडा नं. १५ का अध्यक्ष एवं वित्त समितिका संयोजक ईश्वरमान डंगोल र वडा नं. २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारी सदस्य हुनुहुन्छ ।

समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । सप्ताहको पहिलो दिन अर्थात् माघ १० गते शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गर्नुभएको स्थानमा स्मृति सभा हुनेछ । यी स्थानहरुमा महानगरपालिकाले सहिदहरुको पूर्ण कदको सालिक निर्माण गरेको छ । यस्तै माघ १६ गते शान्तिबाटिकाबाट प्रभातफेरी सुरु गरेर लैनचौर सहिद पार्कमा ज्ञात अज्ञात सहिदहरुको स्मृतिमा सभा हुनेछ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको सपना स्मरण गर्दै सहिद दिवस मनाउन थालिएको हो । जेल सजाय भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र १३ गते धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो । माघ १५ गते शोभा भगवती किनारामा गंगालाल श्रेष्ठ र दशरथ चन्द एकले अर्कालाई देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो ।

ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उहाँहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो ।  त्यति गर्दा पनि कायल नभएपछि पछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।’ त्यस बर्षको माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो ।

त्यसपछि प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनहरुमा धेरै व्यक्तिहरुले सहादत प्राप्त गर्नुभएको छ । उहाँहरुको सबैको योगदानलाई सप्ताहका कार्यक्रममा सम्झना गर्ने तथा कदर स्वरुप स्मृति सभा गर्ने गरिएको हो ।