• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

गीत लेखेको ३० वर्षपछि सोही ठाउँमा ‘झरनाको चिसो पानी’ गुञ्जिएपछि…



बालेवा (बागलुङ ) झरनाको चिसो पानी… सुकेर जाँदैन, रोकेर रोकिँदैन–२, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी… झरनाको चिसो पानी…

बागलुङको जैमिनी नगरपालिकामा चलिरहेको जैमिनी महोत्सवको चौथो दिन माघ ३ गते बुधबार । सहारा खेल मैदानमा भरिभराउ दर्शकको अघि उभिएर गायक जीवन शर्माले आफ्नो प्रस्तुतिको सुरुआत गर्नुभयो ।

शर्माले सिर्जना गरेका हजारौँ गीतमध्ये सहारा खेल मैदानमा यो गीत प्रस्तुत गर्नुको आफ्नै कारण छन् । बागलुङको जैमिनी र बागलुङ नगरपालिकाको सङ्गममा पर्ने नियालमारे खोलाको छेउमा तारेभिरको सानो चौतारीमा बसेर शर्माले अहिलेभन्दा ३० वर्षअघि यो गीत सिर्जना गर्नुभएको हो । बुधबार शर्माले यही गीत गाउँदै गरेको खेल मैदान र उहाँले यो गीत सिर्जना गरेको ठाउँ पैदलयात्रा गर्दा आधा घण्टाको दूरीमा पर्छ ।

“घर छाउने ढुङ्गा बोकेर हिँडेको जोडी, श्रीमान् नियालमारे खोलापारी पुगेका थिए । श्रीमती चौरीमा बिसाइ मारेर भारी बोक्दै थिइन् । असिनपसिन, ठूलो भारी बोकेका खेताला भिरको बाटो निरन्तर हिँडिरहेको देखेपछि मैले गीत बनाएँ”, शर्माले भन्नुभयो ।

विसं २०५० तिर बागलुङको दक्षिण क्षेत्रमा अर्मपर्म र खेताला हालेर घर छाउने र ढुङ्गा बोक्ने प्रचलन थियो । कैयौँ मजदुरहरु यही घर छाउने पाटे ढुङ्गा बोकेर गुजारा चलाउँथे । त्यही देख्नुभएका उहाँले खेतालाको जिन्दगानीको गीत बनाएको सुनाउनुभयो ।

महोत्सवमा शर्माले झण्डै एक घण्टा आफ्ना गीत गाउनुभयो । मैदानमा उपस्थित अधिकांश दर्शक उहाँका गीतमा झुमे । शर्मालाई उहाँकी जीवन सङ्गिनी निलिमा पुनले साथ दिनुभयो । जीवन र जगत्का जल्दाबल्दा विषयवस्तु गीतमार्फत प्रस्तुत गर्ने शर्माले ३० वर्षदेखि हरेक वर्ष जैमिनीमा हुने माघे सङ्क्रान्ति मेलामा प्रस्तुति दिनुहुन्छ ।

स्थानीय हेमलाल शर्माले भन्नुभयो, “उहाँका गीत कहिलै पुराना भएनन् । सधैँ सुनौँ, सुनौ लाग्छन् ।” उहाँका गीतले जहिले जनताको दु:ख बोल्यो । जसको परिणाम अहिले उहाँ जनवादी गायकको परिचयले बाँच्नुभएको छ । साङ्गीतिक यात्राको पहिलो खुड्किलो उहाँको बाँसुरी हो । वनजङ्गलमा घाँस, दाउरा गर्न जाँदा होस् वा विद्यालयका कार्यक्रममा उहाँले बाँसुरीको धुन राम्रोसँग निकाल्नुहुन्थ्यो ।

शर्माको पहिलो गीतिएल्बम जनसाङ्गीतिक यात्रा रक्तिम भाग–१ हो । त्यसयता दुई हजार बढी गीत उहाँले जनताकै पक्षमा गाउनुभएको छ । मेला महोत्सव हुन वा अन्य कुनै साङ्गीतिक कार्यक्रम शर्माका गीतले तताउँछन् । शर्माले बाल्यकालदेखि वृद्धसम्मका लागि सदावहार गीत गाउनुएको छ । ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ देखि ‘झरनाको चिसो पानी’सम्मका गीत उहाँले गाउनुभएको छ । ती गीत सबैले रुचाएका लोकप्रिय गीत हुन् ।

“मैले गाएका गीतले ऊर्जा भरेर भएका परिवर्तन धेरै होलान् आफैँले कसरी मूल्याङ्कन गरुँ”, शर्माले भन्नुभयो, “समयसँग सम्झौता होइन, सङ्घर्ष गर । सङ्घर्ष, भन्ने गीतले आत्महत्या गर्न कस्सिएकालाई रोकेका उदाहरण छन् ।”

सिमली छायाँ उहाँको गीतले अहिले पनि धेरैको मुटु चिरिन्छ । शर्मा अहिले पनि सङ्गीत साधनामै हुनुहुन्छ । परिवर्तनका लागि सङ्गीत उपयुक्त माध्यम भएको भन्दै लाग्नुभएका शर्माले सांस्कृतिक क्रान्तिमार्फत परिवर्तनको सपना देख्नुभएको छ । जन्मेको ११ दिनमा टीकानिधि नाम पाएका शर्मा, बाल्यकालमा ताराकृष्ण, जवानीमा रामकृष्ण र साङ्गीतिक बजारमा जीवन शर्माका नामले परिचय बनाउनुभएका व्यक्ति हुनुहुन्छ ।रासस