१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गली जनावरले सखाप पारे हिउँदे बाली



अ+ अ-

महोत्तरी । महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहमा किसानले लगाएका लाखौँ रुपैयाँ बराबरको हिउँदे बाली जङ्गली जनावरले सखाप पारेको छ  । जिल्लाका मटिहानी, भङ्गहा, जलेश्वर, मनरासिस्वा, बलवा, लोहारपट्टि र गौशाला नगरपालिकासहित  पिपरा, एकडारा, सम्सी, सोनमा गाउँपालिकामा केही दिनदेखि हुलका हुल जङ्गली जनावर आएर खेतबारीमा लगाइएका हिउँदे बाली सखाप पारेको स्थानीय किसानले जानकारी दिएका छन् ।

ती स्थानीय तहका विभिन्न क्षेत्रका सयौँ बिघा क्षेत्रफलमा लगाइएका तरकारी, दलहन, तेलहन, गहुँ बाली र फलफूल जङ्गलबाट आएका नीलगाई, घोरगद्दर र जङ्गली सुँगुरहरुले सखाप बनाएको मटिहानीका किसान रामबाबु नायकले बताउनुभयो ।  दिनभरि वन क्षेत्रमा लुकेर बस्ने र राति दर्जनाँैको सङ्ख्यामा आएर ती जनावरले  बालीनाली खाइदिने र खेतबारीसमेत खनेर तहसनहस गर्ने गरेको सम्सीका किसान विपीनविहारी यादवले जानकारी दिनुभयो  । 

ती जनावरलाई धपाउन स्थानीयवासीले समूह बनाएर राति जाँदा जनावर मानिसको आभास पाउनेबित्तिकै वनतिर भागेर लुक्ने गरेको छ । पछि पुनः किसान फर्किसकेपछि जनावर आएर खेतबारी चर्ने गरेको मनरासिस्वाका किसान रवीन्द्र भगतले बताउनुभयो । 

जङ्गली जनावरको आतङ्कले अहिले जिल्लाका किसानले हिउँदे बालीबाट कमाइ हुने लाखौँ रुपैयाँ गुमाएको गुनासो गरेका छन् । जनावरले एक्लै पाएका खण्डमा आक्रमणसमेत गर्ने गरेकाले एकाबिहानै बालबालिकालाई पनि घरबाहिर निकाल्न नसक्ने भएको एकडाराका किसान नागेन्द्र मण्डलले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न वन, जङ्गल र खोला किनारामा रहेका ठूलठूला घाँसपातमा ती जनावर समूह बनाएर बस्ने गरेका छन् ।  रातिको मौका छोपी  हिउँदे बाली चरीचरन गरी सखाप पार्ने गरेकाले किसानलाई वर्षभरिलाई पुग्ने खाद्यान्न जोगाउन हम्मेहम्मे परेको छ । 

आफ्नो लाखौँको बालीको क्षति सहन बाध्य भएको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताउनुभयो  । क्षतिका बारेमा स्थानीय तहलाई मौखिक र लिखित जानकारी गराइए पनि  सहयोग नपाएको किसानको गुनासो छ ।