८ आश्विन २०८१, मंगलवार
,
Latest
सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहका सरकारबीच समन्वय जरुरी: मुख्यमन्त्री सिंह कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच कार्य सम्पादन सम्झौता दुर्गा प्रसाईंको रिटमा कारण देखाउ आदेश जारी झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत: आईएमएफ चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ तल अधिकार नदिने हो भने संघीयता हटाइदिए हुन्छ: डा. शेखर कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गली जनावरले सखाप पारे हिउँदे बाली



अ+ अ-

महोत्तरी । महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहमा किसानले लगाएका लाखौँ रुपैयाँ बराबरको हिउँदे बाली जङ्गली जनावरले सखाप पारेको छ  । जिल्लाका मटिहानी, भङ्गहा, जलेश्वर, मनरासिस्वा, बलवा, लोहारपट्टि र गौशाला नगरपालिकासहित  पिपरा, एकडारा, सम्सी, सोनमा गाउँपालिकामा केही दिनदेखि हुलका हुल जङ्गली जनावर आएर खेतबारीमा लगाइएका हिउँदे बाली सखाप पारेको स्थानीय किसानले जानकारी दिएका छन् ।

ती स्थानीय तहका विभिन्न क्षेत्रका सयौँ बिघा क्षेत्रफलमा लगाइएका तरकारी, दलहन, तेलहन, गहुँ बाली र फलफूल जङ्गलबाट आएका नीलगाई, घोरगद्दर र जङ्गली सुँगुरहरुले सखाप बनाएको मटिहानीका किसान रामबाबु नायकले बताउनुभयो ।  दिनभरि वन क्षेत्रमा लुकेर बस्ने र राति दर्जनाँैको सङ्ख्यामा आएर ती जनावरले  बालीनाली खाइदिने र खेतबारीसमेत खनेर तहसनहस गर्ने गरेको सम्सीका किसान विपीनविहारी यादवले जानकारी दिनुभयो  । 

ती जनावरलाई धपाउन स्थानीयवासीले समूह बनाएर राति जाँदा जनावर मानिसको आभास पाउनेबित्तिकै वनतिर भागेर लुक्ने गरेको छ । पछि पुनः किसान फर्किसकेपछि जनावर आएर खेतबारी चर्ने गरेको मनरासिस्वाका किसान रवीन्द्र भगतले बताउनुभयो । 

जङ्गली जनावरको आतङ्कले अहिले जिल्लाका किसानले हिउँदे बालीबाट कमाइ हुने लाखौँ रुपैयाँ गुमाएको गुनासो गरेका छन् । जनावरले एक्लै पाएका खण्डमा आक्रमणसमेत गर्ने गरेकाले एकाबिहानै बालबालिकालाई पनि घरबाहिर निकाल्न नसक्ने भएको एकडाराका किसान नागेन्द्र मण्डलले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न वन, जङ्गल र खोला किनारामा रहेका ठूलठूला घाँसपातमा ती जनावर समूह बनाएर बस्ने गरेका छन् ।  रातिको मौका छोपी  हिउँदे बाली चरीचरन गरी सखाप पार्ने गरेकाले किसानलाई वर्षभरिलाई पुग्ने खाद्यान्न जोगाउन हम्मेहम्मे परेको छ । 

आफ्नो लाखौँको बालीको क्षति सहन बाध्य भएको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताउनुभयो  । क्षतिका बारेमा स्थानीय तहलाई मौखिक र लिखित जानकारी गराइए पनि  सहयोग नपाएको किसानको गुनासो छ ।