काठमाडौँ । भनिन्छ— विपत्ति बाजा बजाएर आउँदैन । अझ प्राकृतिक विपत्तिले त झन् दैलोमा आएपछि मात्र आफ्नो रौद्र रुप देखाउँछ, पहिल्यै थाहा हुने कुरा भएन । भूकम्प, बाढी, पहिरो, आगलागी, महामारीजस्ता विपत्तिले एकैछिनमा मानिसको मात्र नभएर मानवीय सभ्यताकै इहलिला अस्तव्यस्त बनाउने मात्र होइन, समाप्त नै गरिदिन्छ ।
यस्तो अवस्थामा मानिसहरू स्वाभाविक रूपमा डर, अन्योल र असुरक्षामा हुन्छन् । आज भोटेकोशी नदीमा तिब्बत तर्फबाट आएको बाढीले यस्तै बनायो । आज बिहान करिब साढे ९ बजेबाट भोटेकोशीले देखाएको रौद्र रुपले धेरेका जनजीवन समाप्त पारिदियो, सयौँ घर परिवारलाई घरबारबिहीन बनायो । यो समाचार तयार पार्दासम्म नेपाल सरकारले ९५ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको छ । खोजी र उद्धारको काम निरन्तर रहेकाले यसका विवरणहरु भोलिदेखि बजारमा आउन थाल्नेछन् ।
यस्तो समयमा सूचनाको सम्प्रेषण निकै महत्वपूर्ण हुन्छ । जस्तो कि आजैपनि अकस्मात आएकाले जेजति मात्रामा रसुवामा क्षति पुगेको छ, त्यति भोटेकोशीको तटीय क्षेत्र यता त्रिशुली, देवीघाट बजारमा पुगेको छैन । किनभने रसुवाको सूचनाले गर्दा यी तटीय क्षेत्रका नागरिक घर छाडेर माथितर्फ भाग्ने समय पाएका थिए । त्यसैले यस्तो विपतका बेलामा सबैभन्दा महत्वपूर्ण भनेको सूचना हो, सही सूचना ।
तर पनि यस्तो संवेदनशील अवस्थामा सही मात्र सूचना आउँछ भन्ने छैन । यस्तो बेलाको फाइदा उठाउँदै सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट मिथ्या सूचना र अफवाह फैलिन थाले भने विपत्तिको असर झनै गम्भीर बन्न सक्छ ।
विपद्का समयमा सूचना जीवन बचाउने माध्यम हो । कहाँ क्षति भयो, कुन बाटो सुरक्षित छ, कहाँ उद्धार भइरहेको छ, कहाँ राहत सामग्री पाइन्छ र के–कस्ता सावधानी अपनाउनुपर्छ भन्ने सही जानकारीले नागरिकलाई सुरक्षित रहन सहयोग गर्छ । तर यसको विपरीत, पुष्टि नभएका सूचना, पुराना तस्बिर तथा भिडियो, गलत तथ्य र अतिरञ्जित समाचारले मानिसमा त्रास र भ्रम उत्पन्न गर्छ। कतिपय अवस्थामा मानिसहरू गलत सूचनाका आधारमा सुरक्षित स्थान छाड्ने, भीड जम्मा गर्ने वा अनावश्यक रूपमा आवतजावत गर्ने गर्न सक्छन् । यसले उद्धार तथा राहत कार्यसमेत प्रभावित हुन सक्छ । मानिसहरुमा त्रास फैलन सक्छ ।
आज सामाजिक सञ्जाल सूचना आदानप्रदानको प्रभावकारी माध्यम बनेको छ । तर यसको कमजोरी के हो भने गलत सूचना पनि केही क्षणमै हजारौँ मानिससम्म पुग्न सक्छ । एउटा व्यक्तिले नजाँची सेयर गरेको सामग्री अर्को व्यक्तिले सत्य ठानेर पुनः सेयर गर्दै जाँदा अफवाहले व्यापक रूप लिन सक्छ । त्यसैले विपत्तिको समयमा सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष सावधानी आवश्यक छ ।
कुनै सूचना प्राप्त भएपछि त्यसको स्रोत, मिति र विश्वसनीयता जाँच्नुपर्छ । सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्रकाशित सूचनालाई प्राथमिकता दिनुपर्छ । भावनात्मक शीर्षक, डर पैदा गर्ने सन्देश वा स्रोत नखुलेका सामग्रीलाई तुरुन्तै अरूलाई पठाउनु हुँदैन । आफूलाई थाहा नभएको कुरा ‘सुनेको भरमा’ फैलाउनु पनि जिम्मेवार नागरिकको व्यवहार होइन ।
विपद् व्यवस्थापन सरकार र सुरक्षाकर्मीको मात्र जिम्मेवारी होइन, नागरिकको भूमिकासमेत उत्तिकै महत्वपूर्ण हुन्छ । संकटको समयमा संयमित भएर सही सूचना फैलाउनु, आवश्यक परेकालाई सहयोग गर्नु र अफवाह रोक्न सचेत गराउनु सामाजिक दायित्व हो ।
अन्ततः विपत्तिमा भौतिक क्षतिसँगै गलत सूचनाले मानसिक र सामाजिक क्षति पनि बढाउन सक्छ । त्यसैले संकटको घडीमा हतार होइन, विवेक आवश्यक छ । मिथ्या सूचना नफैलाऔँ, सत्य सूचना मात्र साझा गरौँ र विपत्तिको सामना एकजुट भएर गरौँ ।
भोटेकोशीको बाढीका बारेमा पनि यस्तै मिथ्या सूचनाको बाढी आएको देखिएको छ । जस्तो कि त्रिशुलीस्थित एक विद्यालयका ४०० भन्दा बढी विद्यार्थी सम्पर्कबिहीन भनेर अहिले पनि सूचना आइरहेको छ । जबकि, विद्यालयले नै सबै विद्यार्थी सुरक्षित रहेको बताइसकेको छ । यस्तै खालका सूचना अहिले पनि आइरहेका भेटिएको छ । विपतमा यस्ता मिथ्या सूचना नबाँड्ने र सबै जिम्मेवार हुने समय हो यो ।









