१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: बागमतीले मधेशलाई हरायो, सूर्यले लिए ह्याट्रिकसहित ६ विकेट



अ+ अ-

काठमाडौं । सुर्य तामाङको उत्कृष्ट बलिङमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेशलाई ८६ रनले हराएको छ । यो बागमतीको पहिलो जित हात हो भने मधेशको लगातार दोस्रो हार हो ।

बागमतीले दिएको १९१ रनको मभ्यम लक्ष्य पछ्याएको मधेश १०४ रनमै स्तब्ध हुन पुग्यो । मधेशलाई सस्तोमै अलआउट गराउन सुर्य तामाङले एक्लैले ६ विकेट लिए । मधेशको लागि पवन सराफले सर्वाधिक ४५ रन बनाए । मायन यादवले ३१ र निरोज यादवले १५ रन बनाउदै मधेशका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुर्यले ह्याट्रिकसहित ६ विकेट लिएका हुन् । उनले २९ औं ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिए । उनले ९ ओभर बलिङ गर्दा ३ मेडनसहित १८ रन खर्चेर ६ विकेट लिन सफल भए । यस्तै, प्रतिश जिसी र इशान पाण्डेले २–२ विकेट लिए ।

त्यसअघि मुलपानी क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती ४९ ओभर २ बलमा अलआउट हुँदै १९० रन बनाएको थियो । बागमतीका लागि प्रतिश जिसीले सर्वाधिक ५९ रन बनाए । रबिन जोशीले २१, इशान पाण्डेले १५, बिपिन आचार्यले १३ र कप्तान रित गौतमले १२ रन बनाएका थिए ।

बलिङतर्फ मधेशका रुपेश सिंह र अर्निको यादवले २–२ विकेट लिएका थिए ।