कमरेडहरु ,कठोरताको पराकाष्ठाको रुप कस्तो हुँदोरहेछ देखियो । सरकारको दुई वर्षको कार्यकाल पछि देखियो निर्मम दृश्यहरु । सरकारले गरेको राम्रो काम बारे प्रचार गर्नको साटो कमजोरीहरु खोज्दै हिंड्ने , मिडियामा दौडेर गएर अन्तर्वार्ता दिने , नभएको मिथ्या आरोप लगाउने सायद प्रतिपक्षले पनि त्यति धेरै गरेन होला । जसले सरकारका राम्रो कामबारे लेख्छ र बोल्छ उनिहरुलाइ हाम्रै कमरेडहरुबाट हतोत्साही बनाउने काम भयो ।
त्यो पीडा खेप्ने मध्येको म एक हो । मेरो कुनै स्वार्थ थिएन , पार्टीको सबल पक्षको प्रचार गर्ने , नेतृत्वको सबल पक्षको प्रचार गर्ने , सरकारको राम्रो कामको प्रचार गर्ने यो काम सबैले गरेको भए सबैको हित र आन्दोलनको जीत हुने थियो । हो मैले त्यही गरें , आज मात्रै होईन हिजो माधव नेपाल र झलनाथ खनालले नेतृत्व गर्दा पनि यसैगरी साथ दिएको हो ।
कमरेडहरु, सबैका सामु छर्लङ्ग भएको कुरा अब धेरै नकोट्याउँ । पार्टी एकीकरण पछि तीन वर्ष संगठन चलेन । भक्तपुर , धरान र चितवनको प्रदेश ,र स्थानीय तहको उपनिर्वाचनको परिणामले बतायो की , एकताले फाईदा होईन नोक्सान गर्यो । कमरेड प्रचण्डको असली प्रवृत्ति सच्चिएन । हाम्रा आदरणीय नेताहरू समेत निर्ममता पुर्वक सरकार र पार्टी अध्यक्षका विरुद्ध उभिनु भयो । त्यति मात्रै होईन पार्टीका अध्यक्षलाई साधारण सदस्यबाट निश्कासन गर्न पनि पछि पर्नु भएन ।
यी सबै तीता कुरा छोडौं , मलाई समेत कार्वाही गरेको पनि बिर्सिदिउँला । आज हामी सबै एमाले भएका छौं , प्रसब पीडाबाट मुक्त भएको अनुभुति भएको छ । अब कमरेडहरु , प्रचण्डले आज पनि एमाले फुटाउन उत्तेजित बनाउने गरि जे गर्दै हुनुहुन्छ र जस्तो अभिव्यक्ति दिंदै हुनुहुन्छ , अब बहकिन जरुरी छैन । आज कमरेड केपी ओली र माधवकुमार नेपाल दुई पक्षीय नेता कमरेडहरुको बीचमा बार्ता हुनु अत्यन्तै सकारात्मक कुरा हो , यसले सकारात्मक सन्देश पनि दिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षले बोलाएको चियापानमा सहभागी हुन आउनुहोस् हाम्रा बीचमा हार्दिकता बढाएर जाउँ , चैत्र ७ गतेको बैठकमा आउनुहोस सबै समस्यालाई बिधिसम्मत हल गरौं र एकताबद्ध एमाले बनाऔं ।
माओवादी केन्द्रका साथीहरू जो जालझेल र षड्यन्त्रबाट मुक्त भइ कम्युनिस्ट आन्दोलनको मुलधारमा रहन चाहनुहुन्छ , वहाँहरुलाइ सम्मान जनक तरिकाले सँगै बस्न आव्हान गरौं । अहिले कमरेड केपी ओलीकै नेतृत्वमा बैचारिक रुपमले सहमत भएर रहनुहुने कमरेडहरुलाई उपयुक्त जिम्मेवारी दिइएको कुरामा सबै सकारात्मक बनौं । विस्तारै सबै कुरा मिल्दै जानेछ , सल्लाह हुँदै जाँदा जिम्मेवारीको विषय पनि मिल्दै जानेछ । संयम बनौं , फेरि अधैर्य नबनौं ।











