२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द



अ+ अ-

सल्लेरी । सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको दुई सय ६७ सामुदायिक विद्यालयमध्ये एक सय एक विद्यालयको पठनपाठन बन्द भएको छ ।

जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालय हालसम्म बन्द भइसकेका छन् । केहीले बिदा दिने तयारी गरिरहेका छन् । सोलु दूधकुण्ड नगरपालिकामा ६२ सामुदायिक विद्यालयमध्ये ५८, खुम्बु पासाङल्हामु गाउँपालिकाका १७ विद्यालयमध्ये १४ र थुलुङ दूधकोशी गाउँपालिकामा ५१ विद्यालयमध्ये सात विद्यालय बन्द भइसकेका छन् ।

यस्तै महाकुलुङ गाउँपालिकामा १९ मध्ये आठ, लिखुपिके गाउँपालिकामा २२ विद्यालयमध्ये छ, नेचासल्यान गाउँपालिकामा ३६ विद्यालयमध्ये चार तथा माप्यदूधकोशी गाउँपालिकामा ३९ विद्यालयमध्ये चार विद्यालय बन्द भएको कार्यालयले जनाएको छ ।

हिमाली भेगमा चिसो अत्यधिक हुने भएकाले धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुस÷माघमा जाडो बिदा दिने गरेका छन् । यहाँ चिसोका कारण शिक्षक बस्न नसक्ने तथा विद्यार्थीलाई समेत कठिन हुने भएकाले पुस दोस्रो साताबाटै विद्यालय बन्द गरिएको पिके माध्यमिक विद्यालय लोदिङका प्रधानाध्याक चेतबहादुर मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बालबालिका चिसोका कारण विद्यालयमा कम आउन थालेपछि बाध्य भएर जाडो बिदा दिनुपरेको हो ।” यस्तै जिल्लाको माथिल्लो खुम्बु क्षेत्रको विद्यालय पुस लाग्दै बन्द गरिएका छन् । उच्च हिमाली क्षेत्रमा मङ्सिर दोस्रो साताबाटै पानी जम्न थालेपछि जाडो बिदा दिइएको खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङका शिक्षक तिलक रसाइलीले बताउनुभयो ।

“यतिखेर खुम्जुङ पुरै सुनसान छ, त्यहाँ स्थानीय समेत जाडो छल्न अन्यत्र जान थालेपछि हामीले विद्यालयमा जाडो बिदा दिएका हौँ, यतिखेर बस्न सक्ने अवस्था नै छैन”, उहाँले भन्नुभयो ।

सोताङ गाउँपालिका क्षेत्रका कुनै पनि विद्यालयले जाडो बिदा दिएका छैनन् । सोताङ न्यानो ठाउँ भएकाले त्यहाँको कुनै पनि विद्यालय बन्द नगरिएको गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले बताउनुभयो ।