१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

जलबायू परिवर्तनको असर: मनाङको सुन्दरतामा समस्याको थुप्रो-फोटो फिचर

जलबायू परिवर्तनको असर: मनाङको सुन्दरतामा  समस्याको थुप्रो-फोटो फिचर
अ अ+ अ-

मनाङ: हिमालबाट आएको मर्स्याङ्दी नदीको सङ्लो र कञ्चन पानी तथा स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन पाइने क्षेत्र हो मनाङ । सहरको कोलाहलबाट टाढिएर प्रकृतिमा रमाउन चाहनेका लागि नदी किनारका साथै हिमाल हाँसेको जस्तो  आभास दिने एवं अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्दै जाँदा स्वर्गमै पुकेको जस्तो अनुभूति हुन्छ ।

यस क्षेत्रको भ्रमण गर्न विदेशी मात्रै नभई नेपाली पर्यटक पनि उत्सुक हुँदै आएका छन् । कञ्चन पानी बगिरहेको यस नदी किनारका साथै यहाँको वातावरणले प्रकृतिको काखमा विश्राम गरेजस्तो महशुस हुने गरेकामा अहिले यहाँको स्वरुपमा विस्तारै परिवर्तन आउन थालेको छ ।

विश्वमा प्रकृतिको कृडाभूमिका रुपमा चर्चा पाएको मनाङमा जलवायु परिवर्तनको असर देखापर्ना साथै प्रदूषण पनि बढ्दो अवस्थामा छ । साथै मानवीय तवरबाट हुने अन्य फोहर पनि बढ्दै गएको अवस्था छ ।

हिजोआज  मनाङ पुग्न सडक सञ्जालले सहज र छिटो बनाएको छ । यहाँको यात्रामा निस्कने पर्यटक तथा स्थानीयवासीले हिमाली क्षेत्रमा चिसो हुने भएकाले प्याकेटका खानेकुरालाई प्राथमिकता दिने गरेका छन् । प्लाष्टिकका प्याकेटमा रहेका खाद्यवस्तुको वजन कम हुने हुँदा बढीमात्रामा प्लाष्टिकमा प्याक भएका वस्तुको उपयोग भएको पाइन्छ । प्लाष्टिकजन्य फोहरमैलाले यस क्षेत्रमा प्रदूषण बढ्दै गएको हो ।

मनाङमा वर्षा 

पछिल्लो समय मनाङमा वर्षा हुन थालेकाले विश्वमा उत्सर्जित जलवायु परिवर्तनले यहाँका प्रकृतिक सम्पदामा पनि प्रत्यक्षरुपमा असर पारेको छ । विसं २०७८ जेठ १४ र असार १ मा मस्र्याङ्दी नदीमा विनाशकारी बाढी आउनु नै वायु प्रदूषणकै असर भएको आँकलन गरिएको छ । सोही बाढीले यहाँका प्राकृतिक सौन्दर्यमा ठूलो क्षति पुर्‍याउनाका साथै यहाँको प्रकृतिक स्वरूपमा पनि परिवर्तन ल्यायो ।

त्यसअघिसम्म बाढी नै नआएको मनाङमा पहिलो पटक बाढी आएको देख्नुभएका मनाङ ङिस्याङ गाउँपालिका–१ माथिल्लो पिसाङका ७० वर्षीय याङदुङ गुरुङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी जन्मिएर बुढा भयौँ तर मस्र्याङ्दी नदीमा बाढी आएको कहिल्यै देखेको थिएनौँ । खै के भएको हो बुझ्नै सकिएन । पृथ्वीमा के परिवर्तन हुँदैछ कुन्नी यस्तो रु कहिल्यै बाढी नआउने नदीमा बाढी आयो ।”

यो बाढीले यहाँका भौतिक पूर्वाधारका साथै प्रकृतिलाई पनि धेरै असर पुर्‍याएको उल्लेख गर्दै गुरुङ भन्नुहुन्छ, “नदीको वितण्डाले घर र बस्ती बगायो । प्रकृतिले नै बनाएको अनौठो संरचना पनि बाढीले परिवर्तन भयो ।” शान्त र सुन्दर वातावरण रहेको मनाङको स्वरुप अहिले फेरिँदै गएको छ ।

फोहरमैला बढ्दै

हाम्रो जीवनशैली आएको परिवर्तनले प्राङ्गारिक खाद्यान्नलाई निरुत्साहित गरेर प्लाष्टिकमा मोरिएका खानेकुरालाई प्रोत्साहन गर्न थालेपछि यस प्राकृतिक वातावरणमा प्लाष्टिकजन्य प्रदूषणको मात्रा बढ्दो छ । मनाङ पर्यटकीय क्षेत्र भएकाले पनि यहाँ ‘फास्ट फुड’का रुपमा प्याकेटमा बन्द गरिएका सामानको उपभोग बढ्दै गएको छ । यस्ता खाद्यवस्तुको प्याकेट जथाभावी फाल्दा यहाँको प्राकृतिक सुन्दरतालाई कुरुप बनाउन थालेको स्थानीयवासी फुर्वा लामा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “यहाँ सिर्जित प्लाष्टिकजन्य फोहरमैलाको व्यवस्थापन हुन सकेको छैन । अहिले कम होला तर बढ्ने क्रममा रहेकाले व्यवस्थापनमा ध्यान आवश्यक छ । उपयोग गर्ने व्यक्ति सचेत भएमा यसको निराकण गर्न सहज हुने थियो ।”

सदरमुकाम पर्यटकीय क्षेत्र भएकाले अहिले कम फोहर उत्पादन हुँदा सम्बन्धित निकाय र पालिकाले व्यवस्थापन केही व्यवस्थापन गरे पनि भविष्यमा फोहरमैला व्यवस्थापन नै गर्न नसकिने  समस्या हुने भएकाले समयमै सचेत हुनुपर्नेमा लामाको जोड छ ।

पदमार्ग र हिमाल जोखिममा 

हिमाल र पदमार्ग नै मनाङको मुख्य आकर्षणको केन्द्र हो तर यही हिमाल र पदमार्ग नै अहिले जोखिममा छन् । हिमाल माथि सर्दै जाँदा बगर र कालापत्थर देखिनेक्रम बढेको छ । हिमालमा हिउँ नै कम देखिन थालेको छ । हिउँदमै हिमालमा हिउँ कम देखिनु जलवायु परिवर्तनको प्रत्यक्ष असर पारेको सम्बद्ध विज्ञहरूले बताउँदै आएका छन् । विभिन्न क्षेत्रबाट गरिँदै आएको अध्ययनले प्रथमत: हिमालमै असर देखिने उनीहरूको भनाइ छ  ।

विश्वका पर्यटक यहाँ आउनाका कारण पदमार्गको यात्रा र हिमाललाई नजिकबाट नियाल्नु हो । यही मुख्य आकर्षण बनेका प्राकृतिक क्षेत्र नै जोखिममा परेपछि कसरी आउछन् त पर्यटक ? यो विषयमा बृहत् छलफल हुनु आवश्यक छ । सरकारले यस्ता प्राकृतिक सौन्दर्यले भरिएका आकर्षक क्षेत्रको संरक्षणमा प्राथमिकता दिनुपर्ने स्थानीयवासी याङदुङ गुरुङ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “विस्तारै हिमाल पनि माथि सर्दै गएको छ । पहिले त हामीलाई अलि माथि हिँडे भेटिन्थ्यो हिमाल अहिले त धेरै माथि पुग्नुपर्ने हुन्छ । त्यसैमाथि हिमालमा हिउँ नै देखिँदैन । पदमार्ग पनि विस्तारै मासिएको छ । पदमार्गमा त सबै सडक बनेको छ । अनि केको पदमार्ग रु कि त पदमार्गको विकल्प खोज्नुपर्छ । नत्र पदमार्ग पनि मासिँदै गएको छ ।” पर्यटक यही पदमार्गमा हिँड्न रुचाउँछन् र त्यसकै लागि पनि आउँछन् । यसको संरक्षण गर्नुपर्ने देखिएको उहाँको भनाइ छ ।

हिउँ माथि सरेसँगै हिमालको तल्लो क्षेत्र पातपतिङ्गरबिनाको पहाडजस्तो बनेको छ । ती ठूला चट्टानयुक्त पहाडमा खेतीपाती नहुने भएकाले उपयोगविहीन चट्टानमात्र देखिने गरेको छ । यसरी हिमालका हिउँ माथि सर्दै गर्दा पानीका मुहानसमेत एक ठाउँमा सुके अर्को ठाउँमा देखिने गरेको याङदुङ बताउनुहुन्छ ।

“उदाहरणका लागि गङ्गापूर्ण ताललाई नै लिन सकिन्छ”, उहाँ भन्नुहुन्छ, “अरु के खोज्ने हो र रु हामीले हेर्दाहेर्दै सुक्यो त त्यो ताल । यहाँ सुक्यो अन्य ठाउँमा नयाँ ताल देखिन थालेका छन् ।” केही ठाउँमा त बस्तीमा खानेपानीको मुहान नै सुकेर अर्को स्थानबाट ल्याउनुपर्ने भएको याङ्दुङको भनाइ छ । यो जलवायु परिवर्तनको असर हो वा अन्य केही कारणले गर्दा यहाँ परिवर्तन आएको हो भन्नेबारेमा अनुसन्धान गर्न आवश्यक रहेको यहाँका अग्रज जोड दिन्छन् ।

फेरिँदै व्यवसाय 

जलवायु परिवर्तनको असर प्रत्यक्षरुपमा अन्यत्रभन्दा हिमाली क्षेत्रमा परेको छ । हिमालमा परेको असरले यहाँका यहाँ गरिने पशुपालन व्यवसाय परिवर्तन गर्न बाध्य हुनुपरेको छ । पशुपालनका लागि वातावरणमा आएको परिवर्तनले निकै असर पारेको नासों गाउँपालिका–४ का पशु व्यवसायी सुरेश थकाली बताउनुहुन्छ । व्यावसायिकरुपमा पशुपालनमा लाग्नुभएका उहाँ मौसममा परिवर्तन आउँदा पशुको उत्पादन घट्न थालेको गुनासो गर्नुहुन्छ ।

विगतमा याक–चाैँरी पाल्दै आउनुभएका थकालीको गोठमा अहिले झोपा (चौँरी र गाईको क्रस) छ । याक–चौँरीको चरण क्षेत्र घट्ने क्रममा रहेकाले झोपा पाल्न थालिएको उल्लेख गर्दै उहाँ  भन्नुहुन्छ,  “पशु व्यवसायी लेकका खर्कतर्फ जान चाहदैनन् । यहीँ राखे याक–चाँैरी पाल्न सकिँदैन । पहिला ६०/७० वटा  याक–चाँैरी पालेको थिएँ, अहिले ४०/५० झोपा पाल्न थालेको छु ।”

उहाँ भन्नुहुन्छ, “पुख्र्यौली पेसा धान्नै मुस्किल भएकाले विस्तारै मैले पनि व्यवसाय फेर्दै गएको छु । युवाजति पढ्न, अन्य काम तथा व्यावसायतर्फ आकर्षित भएका छन् । उनीहरू अहिले पर्यटन तथा अन्य व्यवसायतर्फ लागेका छन् । अधिकांश त विदेश पलायन भएकाले पुख्र्यांंैली पेसा जोगाउन सकस छ । पशुपालन कम हुँदै गएपछि आफूले अहिले डेरी पनि खोलेर बसेको छु ।”

उमेर बढ्दै गएपछि अब स्वास्थ्यले पनि साथ दिन छाडेकाले खर्कसम्म पनि पुग्नै मुस्किल हुन थालेको छ । पशुपालनमा प्रोत्साहन गर्न पालिकाले विभिन्न अनुदानका कार्यक्रम ल्याए पनि पशुपालन घट्दो अवस्थामा रहेको थकाली बताउनुहुन्छ ।

परम्परागत घर मासिँदै 

यस हिमाली जिल्लामा विस्तारै परम्परागत घर मासिँदै गएका छन् । हिउँले असर नपार्ने यहाँका परम्परागत माटोका घर अहिले वर्षा हुन थालेसँगै मासिँदै गएका हुन् । वर्षाले माटोका घर चुहिने र भत्किने भएपछि अहिले आधुनिक तवरबाट कङ्क्रिटको घर बनाउन थालिएको छ ।

कङ्क्रिटको घर निर्माणले यहाँका परम्परागत माटोका घर विस्तारै लोप हुने अवस्थामा पुगेका छन् । यहाँ कमैमात्रामा अहिले परम्परागत घर देख्न पाइन्छन् । स्थानीयवासी कर्माछिरिङ गुरुङ भन्नुहुन्छ, “पहिले पहिले मनाङमा वर्षा नै हुँदैन थियो । अहिले हिउँ कम पानी बढी पर्न थालेको छ । यो खै के भएको हो । मौसम पनि फेरिँदै जाने रहेछ कि के हो रु”

उहाँ भन्नुहुन्छ, “पानी चुहिने यस्तो चिसो घरमा बस्न सकिँदैन । जसरी हुन्छ कङ्क्रिटको घर त बनाउनै पर्‍यो नि । नत्र भने पानी पर्दा चुहिएर बस्न सकिने अवस्था नभएकाले विस्तारै सबैजसो ठाउँमा कङ्क्रिटको घर बन्दै गएका हुन् । पुरानो घरको आकर्षण बढी छ भनेर नहुने रहेछ । मौसमले हामीलाई च्यालेन्ज गर्छ के गर्नु र रु यहाँका बासिन्दाले पानीबाट जोगिन पनि कङ्क्रिटको घर बनाउन थालेका छन् ।”

यहाँ लोकप्रिय मानिएको परम्परागत घरलाई संरक्षण गर्न सकिए भावि पुस्ता तथा अब आउने पर्यटकका लागि कथा बन्ने अवस्था नआउला भन्न सकिँदैन । त्यसैले यसको संरक्षणका लागि स्थानीयवासीसँगै सरकार पनि सचेत हुनुपर्ने भएको छ ।

माथिल्लो मनाङसम्म लामखुट्टे 

केही वर्षअघिसम्म मनाङ जिल्लामा लामखुट्टे देखिँदैन थियो तर अहिले माथिल्लो मनाङमा लामखुट्टे भेटिन थालेका छन् । तापक्रम बढी भएको स्थानमा पाइने लामखुट्टे आजकाल यहाँ पनि भेटिन्छन् ।

यहाँ पनि लामखुट्टे भेटिनुमा विज्ञले तापमान वृद्धिको असर अनुमान गरेका छन् । उच्च तापक्रम भएको स्थानमा पाइने लामखुट्टे अहिले बाह्रै मास चिसो हुने यस क्षेत्रमा पनि पाइन थालेको छ । नासों गाउँपालिकाका पूर्वअध्यक्ष चन्द्र घले भन्नुहुन्छ, “हामीले तालगाउँमै लामखुट्टे देखेका थिएनौँ । अहिले माथिल्लो मनाङमा पनि देखियो । यसले पनि बताउँछ कि यहाँको तापमान वृद्धि हुँदै गएको छ । जसले गर्दा लामखुट्टे बाँच्नसक्ने भएको छ । चिसो ठाउँमा पनि पहिलो पटक लामखुट्टे देख्दा मलाई पनि अचम्म लागेको थियो ।” अहिले त सामान्य लाग्न थालेको उहाँको भनाइ छ ।

पृथ्वीको तापमान वृद्धिका कारण पहिले कीरा, फट्याङ्ग्रासमेत नभेटिने ठाउँमा अहिले फरक किसिमका कीरा, फट्याङ्ग्रा देखिने गरेको पूर्वअध्यक्ष घले भन्नुहुन्छ, “पहिले देखिने र अहिले देखिने कीरा, फट्याङ्ग्रा नै फरक छन् । अहिलेका कीराले तरकारी, फलफूल, खेतीपाती खान थालेपछि सखाप हुन्छ तर पहिले त्यस्तो हुँदैन थियो ।”