• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

मन्त्री ज्वालाको स्पष्टिकरण: बालकुमारी सडक अवरोध भएको थाहा भएन



फाईल फोटो

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताउनुभएको छ ।

सोमवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ज्वालाले गत शुक्रवार आफूले बालकुमारी क्षेत्रको रुट प्रयोग गर्दा सुरक्षा निकायले सो क्षेत्रमा भइरहेको अवरोधको सम्बन्धमा कुनै जानकारी नगराएको बताउनुभएको हो । गत शुक्रवार रोजगार अनुमति प्रणाली(ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनि गरेका थिए भने प्रहरी हस्तक्षेपका कारण दुई जना युवाहरुको ज्यान समेत गएको थियो ।

सोही विषयमा कुरा गर्दै मन्त्री ज्वालाले आफू पार्टी केन्द्रिय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी आवतजावत गरिरहेको र सो दिनपनि बैठकस्थलबाट निस्किएर मन्त्रालय जाने क्रममा सो घटना भएको बताउनु भयो ।

उहाँले आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरु बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भएपनि प्रहरी केन्द्रबाट बाटोमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको स्पष्ट पार्नुभयो । आफूहरुलाई बाटोमा अवरोध छ भन्ने कुरा जानकारी नै नभएका कारण त्यो रुट प्रयोग भएको उहाँको भनाई छ । मन्त्री ज्वालाले घटनाप्रति आफू दु:खी रहेको भन्दै दु:ख पनि व्यक्त गर्नुभयो । उहाँले घटनामा आफूहरुको कुनै सम्बन्ध नभएको पनि उल्लेख गर्नुभयो । आफूहरु निर्दोष हुँदाहुँदै पनि आरोपित गरिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले आफूहरु नै पीडित पक्ष भएको भन्दै सुरक्षाकर्मीहरुको कमजोरीलाई आफूहरुतिर थोपरिएको बताउनु भयो ।

यस्तो छ मन्त्री ज्वालाले न्युज एजेन्सी नेपालसँग गरेको कुराकानी जस्ताको त्यस्तै:

“यो बालकुमार घटना आफैँमा आफैँमा दु:खद् घटना हो । दुई जना युवाहरुको ज्यान गएको छ । केही घाइते भएका छन् । र यो नघट्नुपर्ने, नहुनुपर्ने घटना भएको छ । यसमा हामी दु:खी छौँ । यसप्रति म दु:ख पनि व्यक्त गर्न चाहन्छु । त्यसदिन हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठक कान्तिपुर पार्टी प्यालेसमा चलिरहेको थियो । त्यो बैठक दुई दिन अघिदेखि चलिरहेको थियो । अन्तिम दिन बैठक भइरहेको थियो । त्यस बैठकमा म बिहानैदेखि सहभागि थिएँ । अर्कोतिर यता सिंहदरबारमा मन्त्रालयमा एउटा बैठक थियो मेरो । त्यो बैठक शुरु भइसकेपछि केही समयका लागि मन्त्रालयको बैठकमा सहभागि भएर फेरि बैठकमा फर्किने उद्देश्यले म त्यो पार्टी प्यालेस बैठक कक्षबाट बाहिर निस्केँ । बाहिर निस्किनुभन्दा अगाडी बालकुमारी क्षेत्रमा के अवस्था छ ? त्यहाँ डिस्टर्ब छ कि छैन ? अथवा परिस्थिति के छ ? रुटको अवस्था के छ ? त्यो हामीलाई केही पनि थाहा भएन । हामी सामान्य अवस्थामा बाहिर निस्कियौँ । निस्किदाखेरी पनि सुरक्षा निकायबाट, सुरक्षाकर्मीबाट समेत यस विषयमा कुनै जानकारी नभएपछि हामी सामान्य रुपमा बाहिर निस्कियौँ । संयोगले त्यतिबेलै हाम्रै मन्त्रालयको राज्यमन्त्रीज्यूको गाडी भित्र पस्यो । उहाँको गाडी भित्र पस्यो । हामी बाहिर निस्कियौँ । राज्यमन्त्रीज्युको गाडी भित्र पस्दासम्म सामान्य नै अवस्था छ ।

हामी निस्किसकेपछि बिचमा अलिकति अगाडी बढिसकेपछि पारीपट्टी केही डिस्टर्ब हामीले महशुस गर्‍यौँ । अब के गर्ने भन्ने त्यहाँ हाम्रो बीचमा छलफल भयो । अगाडी बढ्न पनि नसकिने पछाडी फर्किन पनि नसकिने भएपछि मुख्य बाटोमा हामी प्रवेश गर्‍यौँ । मुख्य बाटोमा गइसकेपछि पनि केही व्यक्तिहरु आएर गाडी रोक्ने प्रयास भयो । त्यहाँ पिएसओले सम्झाउने प्रयास गरे । र प्रदर्शनकारीहरु रोक्ने मध्येकै पनि कतिपय व्यक्तिहरुले यो गाडीलाई अगाडी जान दिउँ भनेर निकै धेरै प्रयास पनि गरे । त्यति हुँदाहुँदै पनि भीड बढ्दै जान थालेपछि म त्यहाँ रहँदा झन उत्तेजित होला भीड भन्ने हिसाबले म त्यो गाडीबाट निस्केर फेरी बैठकस्थलमै फर्किइहालेँ । फर्केपछि म बैठकमा बसेँ । त्यसपछिको अवस्था पनि मलाई जानकारी छैन । त्यहाँ आगलागि भएको कुरा । गोलि चलेको कुरा । गोलि चलेको कुरा गाडीमा आगो लाग्नुभन्दा पहिले हो कि पछि हो यो कुरा पछि छानबीनबाट पनि थाहा होला । त्यहाँ गाडी पुग्यो । म केही समय त्यहाँ रोकिएँ । रोकिएपछि त्यहाँको अवस्था तनावपूर्ण हुन्छ कि भन्ने उद्देश्यले आफ्नो बैठक कक्षमा फर्किइहालेँ । फर्किएपछि त्यसपछिको अवस्था के भयो ? कसरी अगाडी बढ्यो ? त्यस विषयमा पनि जानकारी छैन ।

हाम्रो गाडी त्यहाँ पुगिसकेपछि पिएसओले बारम्बार यहाँ गाडी सडकमा छ । प्रदर्शनकारीहरुले घेरिरहेका छन् । छिटोभन्दा छिटो सुरक्षाकर्मी पठाउनुपर्‍यो भनेर उसले कम्युनिकेशन गरिरहेका थिए । त्यति हुँदा पनि करिब २०/२२ मिनेटसम्म पनि त्यहाँ सुरक्षाकर्मीहरु पुगेनन् । त्यसपछि प्रदर्शनकारीहरुले आगो लगाए भन्ने कुरा पछि मैले जानकारी पाएँ ।

यो घटनामा हामी कहीँ कतैबाट पनि जोडिदैनौँ । हाम्रो कुनै सम्बन्ध, साइनो पनि छैन । हाम्रो मन्त्रालयसँग जोडिएको विषय पनि होइन । हामीचाहीँ सामान्य अवस्थामा बैठक कक्षबाट मन्त्रालयमा आउने क्रममा बाटोमा गाडी रोकियो । यो घटना भयो । यस विषयमा हामी प्रष्ट के छौँ भने, न त्यो घटनाभन्दा पहिले हामीलाई जानकारी छ । न हामीलाई रोकिसकेपछिको घटनाको जानकारी छ । हामी यो घटनासँग कुनै पनि हिसावमा जोडिदैनौँ । अब भौतिक पूर्वाधार मन्त्री चढेको गाडी आएकै कारणले यो घटना घट्यो भन्ने कसैले परिभाषा गर्छ भने यो पूर्ण रुपमा गलत कुरा हो । किनकी सडक खुला छ । सडकमा गाडी त चल्छन् । अरु गाडीहरु पनि चलिरहेकै छन् । हाम्रो गाडी पनि चल्यो । त्यहाँ डिस्टर्ब छ भन्नेकुरा जानकारी भएपनि त्यो बाटोमा हामी जादैन थियौँ । त्यो जानकारी पनि भएन । यो घटनासँग हाम्रो कुनै संलग्नता पनि छैन । हाम्रो गाडी त्यो बाटोमा हिँडेकै कारणले यो घटना उत्तेजक बनेको पनि होइन । त्यसभन्दा पहिलेदेखि नै त्यहाँ भीडन्त भएको रहेछ । त्यसपछि पनि भीडन्त भइराख्यो । जहाँ गाडी जलाइयो त्यो ठाउँमा भीडन्त भएको पनि छैन । त्यो ठाउँमा कुनै गोलि चलेको पनि छैन । त्यसकारण यो घटनामा हामीलाई जोड्ने अथवा हाम्रो गाडी सडकमा गएको कारणले यो घटना घटेको हो अथवा प्रदर्शनकारी बढी उत्तेजित भएका हुन् भन्नेकुरा गलत छ ।

त्यतिबेला म बैठक कक्षबाट निस्किएँ । त्यसपछि मैले पिएसओ र ड्राइभरलाई हामी सिंहदरबार जाऔँ भने । हामी सबै गाडीमा बस्यौँ । गाडीबाट हिड्यौँ । हिँड्दाहिँड्दै पिएसओले हामी बालकुमारीबाट मन्त्रालय जाँदैछौँ भनेर आफ्नो सेन्ट्रलमा उनले खबर गरिरहेको मैले सुने । त्यतिबेला सम्म पिएसओले वा अरु सुरक्षाकर्मीले कहिँ कतैबाट यो बाटो डिस्टर्ब छ । यो बाटोमा जानु हुँदैन । अथवा अर्को कुनै रुट प्रयोग गरौँ । भन्ने किसिमको जानकारी कहिँ कतैबाट आएन । यो जहाँबाट पनि पुष्टि हुन्छ । त्यहाँ डिस्टर्ब छ भन्दाभन्दै म मुर्खतापूर्वक त्यो बाटो त जाँदैन । बरु हामी त्यो बाटोमा प्रवेश गरिसकेपछि जो डिस्र्टबेन्स् देखियो । त्यसपछि हामी सर्तक भयौँ र अब कसरी सुरक्षित हुने भन्ने किसिमले हामीले प्रयत्न गर्‍यौँ । प्रयत्न गर्दागर्दै हामी सफल भएनौँ त्यो एउटा पाटो भयो । तर अहिले मन्त्रीको गाडी आएकै कारणले यो घटना यसरी अगाडी बढ्यो भन्ने कुरा जुन भनिदैछ । यो आफ्नो दोष अरुतिर पन्छाउने खालको प्रयत्न/कसरत हो भन्ने मलाई लाग्छ । त्यसकारण यो घटनाको बारेमा हामी दु:खी छौँ । घटना घट्यो । नघट्नुपर्ने थियो । दुई जना युवाहरुले ज्यान गुमाए । यो एउटा दु:खद् पक्ष हो । तर हाम्रो त कहिँ कतैबाट सम्बन्ध नै छैन यसमा । हामी सामान्य रुपमा त्यो बाटो प्रयोग गरेर मन्त्रालय आउन खोजेको हो । आउने क्रममा अवरोध भयो । अबरोध भएपछि म आफ्नो बैठकतिर फर्किएँ । त्यहाँ गाडी आगलागि भयो । हामी त पीडित पक्ष हौँ । साच्चिकै भन्दाखेरी । मान्छेको ज्यान जानेभन्दा गाडी आगलागि हुने कुरा सानो कुरा होला । तर हाम्रो मन्त्रालय त पीडित पक्ष हो । हामी बिना कारण, निर्दोष हुँदाहुँदै, त्यसमा हाम्रो कुनै संलग्नता नहुँदा नहुँदै, कुनै सम्बन्ध नहुँदा नहुँदै हाम्रो त गाडी क्षति भएको छ । सरकारी सम्पत्ति क्षति भएको छ । त्यसकारण पीडित पक्षतिर नै फेरी यो घटनालाई पन्छाएर जो सुरक्षाकर्मीले कमजोरी गरेका छन् । चाहेँ सुरक्षा सम्बन्धी सूचना दिने कुरा होला । चाहे गोलि चलाउने अवस्था थियो कि थिएन त्यस्तो अवस्थामा गोलि चलाइएको कुरा होला । यो तमाम कुरामा आफ्नो कमजोरी कतै ढाकछोप गर्नलाई फरक ढंगले अभिव्यक्ति आउन थाल्यो कि भन्ने कुरामा मलाई अनुभुति हुन थालेको छ । कतिले त्यहाँ किन गएको मन्त्री भन्नेपनि प्रश्न गरेछन् । दुनियाँलाई थाहा छ, तिन दिनदेखि बैठक चलिरहेको छ । केन्द्रिय कमिटी बैठकमा त मन्त्री भएको केन्द्रिय सदस्य पनि जान्छ नि । बैठकमा दिनदिनै गएका छौँ हामी । दिनदिनै बैठकबाट मन्त्रालयमा काममा आएका छौँ । त्यसकारण आउने जाने त तीनदिनदेखि हाम्रो चलिरहेकै छ । यस्ता कुरामा जे सत्य र वास्तविक हो त्यही नै कुरा सबैले गर्नुपर्छ । हाम्रो तर्फबाट सत्य कुराहरु प्रष्ट पारिएको छ । हामी प्रष्ट पार्न तयार छौँ । जुनसुकै हिसावले पनि यो कुरालाई सत्य सावित गर्न हामी सक्षम छौँ ।”