२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

लुकाउनै नसकिने व्यथा

लुकाउनै नसकिने व्यथा
अ अ+ अ-

केही वर्षअघि काठमाडौंको मोडेल अस्पतालमा फिस्टुलासम्बन्धी छलफल हुँदा धादिङकी एक महिलाले भनेकी थिइन्, ‘मलाई ०६४ मा लामो व्यथा लागेर सन्तान भयो । तर, केही समयपछि मेरो शरीरबाट दिसा र पिसाब आफै निस्किन थाल्यो ।

काठमाडौं आएर देखाउँदा पनि ठीक भएन । मलाई त ठीक भएन भन्दा डाक्टरले यहाँभन्दा बढी गर्न सकिन्न । तपाईंको भाग्य नै यस्तै हो भनेको सुनेर मलाई मर्नै मन लाग्यो । तर, मोडेल अस्पतालमा सित्तैमा यो रोगको उपचार हुन्छ भनेपछि म आएँ र उपचार पनि भयो । मलाई त जिन्दगी यसरी सुकिलो भएर बाँच्न पाइएलाजस्तो पनि लागेको थिएन । अर्को जिन्दगी पाएजस्तो लाग्यो ।’

महिलालाई प्रसूति हुने क्रममा लामो समयसम्म सुत्केरी व्यथा लाग्यो भने भ्रूणको टाउकोले आमाको योनिमार्ग र पिसाबथैली वा मलाशयलाई लगातार च्यापेर वा थिचेर प्वाल पार्दा पिसाब बगिरहन्छ । यसरी बन्ने प्वाललाई प्रसव वा सुत्केरी फिस्टुला भनिन्छ ।

पाँच वर्षअघि एउटा स्वास्थ्य शिविरमा जाँदा फिस्टुलाको उपचार गराएकी एउटी महिलासँग भेट भएको थियो । उनको छैटौं बच्चा हुने क्रममा अस्पतालमा शल्यक्रिया गर्दा पाठेघर फुटेर बच्चा मरिसकेको रहेछ । त्यसपछि आमालाई पिसाब चुहिने समस्या सुरु भयो ।

उनले भनेकी थिइन्, ‘मलाई त पहिले धेरैले यो त रक्सी खाएर आँगनमा पिसाब फेरेर गन्हाएकी हो भन्थे । यो सुनेर म धेरै रुन्थें । पिसाब नहोस् भनेर म पानी कम पिउँथें । सात वर्षसम्म पीडा भोगेपछि बल्ल उपचार भयो । अहिले त पिसाब बग्ने धेरै कम भएको छ ।’

फिस्टुलाको व्यथा सहेका महिलाहरूका यी दुई प्रतिनिधि उदाहरण मात्र हुन् । धरानमा कार्यरत स्त्री रोग विशेषज्ञ डा.मोहनचन्द्र रेग्मीका अनुसार पिसाब चुहिरहने समस्या भएर उपचार नभएका महिलाहरू नेपालमा पाँच हजारदेखि १० हजारसम्म हुन सक्छन् । त्यस्ता महिलाको उपचारमा समस्यै छ, पैसा र ज्ञानको अभावमा महिलाहरू दुःख लुकाएर बस्छन् ।

विकसित देशहरूमा यो समस्या एकदमै कम छ । नेपालमा यो समस्याको कारणमध्ये कम उमेरमा विवाह, कुपोषण, सुत्केरी हुँदा जटिलता, गर्भावस्थामा गरिने स्याहारबारे जनचेतना अभाव र स्वास्थ्य उपचारमा सहज पहुँच नहुँदा जटिल अवस्थाका सुत्केरीलाई समयमा शल्यक्रिया गर्ने सुविधा नहुनु हो ।

स्त्री रोग विज्ञहरूका अनुसार प्रसव व्यथाले मात्र नभई कहिलेकाहीँ त चिकित्सकले शल्यक्रिया वा औजार प्रयोग गरी सुत्केरी गराउँदा दुर्घटनावश फिस्टुला हुन सक्छ । महिलाको योनिमा जटिल संक्रमण वा बलपूर्वक यौन सम्पर्क राख्दा पनि यो समस्या हुन सक्ने उनीहरूको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार एक हजार महिलामध्ये प्रसव हुँदा तीन जना यो समस्याबाट ग्रसित हुन्छन् । नेपालमा हरेक वर्ष दुई सयदेखि चार सय महिलामा यो समस्या देखापर्छ भन्ने अनुमान गरिएको छ ।

तर, यस्तो किसिमको समस्या लिएर उपचार गराउन अस्पताल पुग्ने महिलाहरू कमै छन् । किनभने यसको उपचार हुन्छ भन्ने पनि धेरैलाई थाहा छैन ।

प्रायः गरिब र दुर्गम गाउँमा बस्ने महिलाहरू बढी यो समस्याबाट पीडित छन् । उनीहरूलाई सहरको अस्पतालसम्म पुग्दा बस्न र खर्चको अभाव हुन्छ । १० वर्षअघि एउटी महिलालाई पाटन अस्पतालमा यो समस्याको उपचार गराउँदा ६० हजार रुपैयाँ तिर्नुपरेको थियो ।

रामेछापकी ती महिलाको फिस्टुलाको उपचार हुँदा तीन सातासम्म अस्पतालमा बस्नुपरेको थियो । विभिन्न व्यक्तिसँग पैसा उठाएर त्यो उपचार सफल भएको थियो । तर, त्यति धेरै पैसा गाउँका महिलाले तिर्न सक्दैनन् । हामीले धेरै जनासँग पैसा उठाउनुपरेको थियो ।

धेरै समुदायमा फिस्टुलाबारे जानकारी पनि छैन र नेपालका केही ठाउँमा मात्र सित्तैमा उपचार हुन्छ भन्ने पनि थाहा छैन ।

सुदूरका गाउँमा काम गर्ने स्वास्थ्यकर्मीलाई फिस्टुला र पाठेघर खस्ने र प्रजनन स्वास्थ्यसम्बन्धी तालिम दिन सकियो र उनीहरूले यस्तो बिरामीलाई उपचार गर्न कहाँ पठाउने भन्ने थाहा भए सहज हुने थियो । फिस्टुला भएकाहरूको जीवन नै बदलिन्थ्यो ।

अहिले मोडेल अस्पतालमा, धरान र सुर्खेतको उपक्षेत्रीय अस्पतालमा यसको निःशुल्क उपचार हुन्छ ।