• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन

पोखरामा य:मरी महोत्सवसँगै प्रतियोगिता



अन्नपूर्ण । नेवारी समुदायको निकै लोकप्रिय परिकार हो, य:मरी । नयाँ धानको चामलको पीठोबाट माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई खाली भागमा चाकु, खुवा, गुँदपाक, मास, मुँगीलगायत सामग्री राखेर बनाइने यो:मरी पछिल्लो समय लोप हुने अवस्थामा छ ।

नेवारी भाषामा ‘य’ को अर्थ ‘मन’ परेको र ‘मरी’को अर्थ ‘रोटी’ हो । आधुनिकतासँगै नयाँ पुस्ताले मन परेको रोटी अर्थात् य:मरी बनाउन थोरैले जान्दछन् । त्यसैले पुस्तान्तरण र अन्य समुदायलाई जानकारी दिन नेवा मिसा पुच: कास्की लागिपरेको छ ।

पुच:ले सोमबार पोखरा महानगरपालिका–४ सँगको सहकार्यमा पोखरामा य:मरी सांस्कृतिक महोत्सव तथा प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा २० समूहको सहभागिता रहेको नेवा मिसा पुच: कास्कीकी अध्यक्ष सङ्गीता बज्राचार्यले जानकारी दिनुभयो ।

महोत्सवले युवापुस्तामा य:मरीको महत्व बुझाउन सहयोग पुगेको उहाँले बताउनुभयो । यो परिकारको नेवार समुदायमा विशेष महत्व रहेकाले जोगाएर राख्नुपर्ने उहाँको धारणा छ । “नयाँ धानको पहिलो परिकारका रुपमा य:मरी बनाइन्छ,” अध्यक्ष बज्राचार्यले भन्नुभयो, “मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन नयाँ धानको चामलबाट बनेको य:मरीलाई पूजा गरियो भने घरमा कहिल्यै अन्नको अभाव हुँदैन भन्ने जनविश्वास छ ।”

पूर्णिमाका दिन यमरीलाई धानलगायत अन्नका भकारीमा चढाइन्छ । यस दिन नेवार समुदायले यमरीको कुवेर, गणेश, लक्ष्मीलगायत विभिन्न भगवानको मूर्ति बनाएर चढाउने चलन रहेको छ । यसरी चढाएको य:मरी चार दिनपछि मात्र प्रसादका रुपमा बाँडेर खाने प्रचलन रहेको अध्यक्ष बज्राचार्यले बताउनुभयो । नेवार समुदायमा महत्व बोकेको य:मरीलाई औषधिका रुपमा पनि प्रयोग गरिने महोत्सव संयोजक भवानी माकाजुले बताउनुभयो । “य:मरी औषधिका रुपमा पनि खाने प्रचलन छ,” उहाँले भन्नुभयो, “यसमा राखिने चाकु, तिल, मरिचले जाडोमा चिसोबाट बचाउन पनि सहयोग गर्छ ।”

परम्परागत परिकार जोगाउन पोखरा महानगरपालिकाले पनि साथ दिएको पोखरा महानगरपालिका–४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले बताउनुभयो । वडा कार्यालयले कला र संस्कृतिको संरक्षणका लागि वितगदेखि नै काम गर्दै आएकाले य:मरी जोगाउन प्रयिोगिता आयोजना गरेको उहाँले सुनाउनुभयो । “पोखराको पुरानो बजार जुन ऐतिहासिकता र मौलिकतासँग जोडिएको छ,” वडाध्यक्ष पराजुलीले भन्नुभयो, “य:मरीलाई पर्यटनसँग जोड्न र संरक्षण गर्न महोत्सवको आयोजना गरेका हौँ ।” यो परिकार संरक्षणका लागि आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।

नेवा मिसा पुच: कास्कीले आगामी दिनमा जिल्लामा भएका सबै सदस्यलाई य:मरी बनाउन सिकाउने योजना बनाएको छ । सबै पोख्त भएपछि यसलाई व्यावसायिकीकरण गरिने भएको छ । य:मरी प्रतियोगितामा कर्माचार्य मिसा पुच:ले प्रथम हुँदै रु १० हजार पुरस्कार प्राप्त गर्‍यो । द्वितीय जिरो मालेपाटन पस्र्याङ मिसा पुच, तृतीय बगर मिसा पुच र सान्त्वना शिशुवा मिसा पुच हुँदै क्रमश: रु सात हजार, रु पाँच हजार र रु तीन हजारसहित प्रमाणपत्र प्राप्त गरे । रासस