११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

१६८ मुरी धान फलाएका बम्जन दम्पती ५० हजारबाट पुरस्कृत

१६८ मुरी धान फलाएका बम्जन दम्पती ५० हजारबाट पुरस्कृत
अ अ+ अ-

पाँचथर । पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त हुनुहुन्थ्यो । सबैलाई ‘एकछिन बस्न र चिया खाएर जान’ आग्रह गर्दैमा मकरबहादुरको समय बितिरहेको थियो । भान्सामा चिया र नास्ता पाक्दै थियो ।

मकरबहादुरको घरको आँगनमा मकैको थाङ्ग्रो पनि बडेमानकै थियो । घर वरिपरि कोदो टन्न फलेको थियो । टिप्ने समय बित्नै लागेको छ । फाल्गुनन्द–१ का वडाध्यक्ष होमप्रसाद आङदेम्बेसहित जनप्रतिनिधि र कर्मचारी सिकुवाको डिलमा बसेर ५६ वर्षीय मकरबहादुर र उहाँकी श्रीमती ६० वर्षीया टीकामायाको मेहनतको प्रशंसा गरिरहेका थिए ।

फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई रु ३० हजार र एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई रु ५० हजारबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि मकरबहादुर गाउँपालिकाको कार्यालय पुग्नुभएको थियो । उहाँले आफूले एक सय मुरीभन्दा बढी धान फलाएको गाउँपालिका कार्यालयमा दाबी गर्नुभयो । मकरबहादुरको दाबीपछि बुधबार जनप्रतिनिधि र कर्मचारी उहाँको घर पुग्नु भएको हो ।

मकरबहादुरले निबु खोलाको बेँसी र घर छेउको पाखाबारीमा फलाएको धान एक सय ६८ मुरी प्रमाणित भएपछि उहाँ औधी खुशी हुनुभयो । मकरबहादुर दम्पतीले फाल्गुनन्द–७ को सिस्ने, काब्रेती, घरमुनी, करमबोटे र खोल्साइले गरी पाँचवटा खेतमा तीन मुरी चार पाथी बीउ रोपेका थिए । उक्त बीउबाट फलेकोमध्ये ३० मुरी धान उहाँले यसअघि नै बिक्री गरिसकेको बताउनुभयो । त्यसैले उहाँले फलाएको धान एक सय ६८ मुरी मात्र गणना भयो ।

फाल्गुनन्द गाउँपालिकाको प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीका अनुसार बम्जन परिवारले फाल्गुनन्दमा सबैभन्दा बढी धान फलाएको प्रमाणित भएको छ । मकरबहादुरले फाल्गुनन्दका इन्द्रनारायण आङदेम्बे, कालीदास चेम्जोङ, कर्ण चेम्जोङ, पञ्चबहादुर चेम्जोङ र भीमबहादुर आङदेम्बेको खेतमा खेती लगाउने गरेको बताउनुभयो । गत मङ्सिर ७ गते ३० मुरी धान बिक्री गरिसकेपछि मात्रै धेरै धान फलाउनेलाई पुरस्कृत गर्न लागिएको थाहा पाउनुभएको थियो ।

“वडाध्यक्षले खबर गरेपछि गत मङ्सिर १३ गते गाउँपालिकामा गएर एक सय ८५ मुरी धान फलाएको जानकारी गराएको थिएँ”, मकरबहादुरले भन्नुभयो । विगतमा अन्नको अभावमा पाएको दु:ख सम्झेर धान फलाउन कम्मर कसेर लागेको उहाँको भनाइ छ । “विसं २०५६ मा म सगोलको परिवारबाट छुट्टिँदा निकै दु:ख पाएँ, दुई पाथी धान लुकाएँ । त्यतिबेला मेरो पाँचजनाको परिवार थियो”, उहाँले भन्नुभयो, “मेरो नाममा दुई रोपनी जग्गा छ । यसको उब्जनीले नपुगेपछि पाँचजनाको जग्गामा खेती गर्दै आएका छौँ । ३० मुरीभन्दा कम धान फल्ने कुनै खेत छैन ।” मकरबहादुरले ती खेत बन्धकी, कुत र अधियाँमा लिनुभएको हो । उहाँले मकैका लागि पाखो बारी अधियाँमा लिनुभएको छ ।

किसानलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने गाउँपालिकाको सूचना पाएपछि मकरबहादुरले धानका खलाखलामै कर्मचारीलाई बोलाउनुभएको थियो । तर सबै धान भेला पारेर जोख्न मन लागेपछि घर छेउको खेतको खलामा सबै धान जम्मा गर्नुभयो । “धान जम्मा गर्न रु सात हजार खर्च भयो । धान झारे पनि पराल दाइँ गर्न भ्याएकै छैन्”, उहाँले भन्नुभयो । बम्जन दम्पतीका तीन छोरा झापाको दमकमा बसोबास गर्छन् भने तीन छोरी विवाह गरेर गइसकेका छन् । तर धान फलाउन बम्जन दम्पतीले छरछिमेकीको साथ पाइरहनुभएको छ ।

“दु:ख नभई सुख हुँदैन रहेछ । साथीभाइले मैले भनेको टार्दैनन्, नाइँ भन्दैनन्”, मकरबहादुरले भन्नुभयो । विसं २०६० देखि धान खेतीमा लागिपरेको उहाँ बताउनुहुन्छ । पाखा खेतमा पानीको समस्या भए पनि निबु खोलाको बेँसीमा समस्या नरहेको उहाँले बताउनुभयो । मकरबहादुर गाउँपालिकाले रु ५० हजार पुरस्कार दिएपछि ठूलो भैँसी किन्ने सोचमा हुनुहुन्छ । “गाउँपालिकाले दिएको रकमले एउटा माउ भैँसी किन्ने योजना छ”, उहाँले भन्नुभयो । बम्जन दम्पतीले लामो समयदेखि बर्षेनि एक सय मुरीभन्दा बढी धान फलाउँदै आएको स्थानीयवासीको भनाइ छ । रासस