११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

भारतको कोलकाता र सिक्किममा नौमती बाजाको माग

भारतको कोलकाता र सिक्किममा नौमती बाजाको माग
अ अ+ अ-

झापा। भारतको दार्जीलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटकपटक पुग्न थालेका छन् । महिलाको बाजाको टोली ती स्थानमा पुगेर उत्कृष्ट बाजा बजाएबापत पुरस्कारसमेत प्राप्त गर्न थालेपछि उनीहरुको मनोबल बढेको छ ।

जिल्लामा नौमती घन्काउने महिलाको दुई दर्जनभन्दा बढी टोली तयार भइसकेका छन् । तीनमध्ये आर्ट स्टुडियो महिला नौमती बाजाको टोली भारतको सिक्किम, दार्जीलिङ र कोलाकता पुग्न थालेको हो ।

विवाह, व्रतबन्ध, गुन्यूचोली, पुराण, उद्घाटन र साधारणसभालगायत कार्यक्रममा एउटै पहिरनमा सजिएका महिला टोलीले नौमती बाजा घन्काउँदै गरेको रोचक दृश्य झापामा पछिल्लो समय बाक्लै देख्न पाइन्छ । विर्तामोड–२ की शान्तादेवी पौडेलको नेतृत्वमा झापामा महिलाको नौमती बाजा बजाउने पहिलो टोली बनेको थियो ।

पाँच वर्षअघि पश्चिम नेपालमा एउटी महिलाले नर्सिङा बाजा फुकेको देखेपछि उहाँलाई महिलाको अलग्गै टोली बनाउने रहर जागेको पौडेलले बताउनुभयो । “त्यसबेला मेरो नेतृत्वमा गाउँका महिला नाटक खेल्ने गर्थे । रुवा र खरानीको धागोजस्ता राम्रा नाटकमा उत्कृष्ट अभिनय गरेसँगै विर्तामोडलगायत झापाका विभिन्न स्थानमा नाटक मञ्चन गरेका थियौँ । पछि उक्त टोली महिला कलाकारका रुपमा परिचित बनेको थियो”, उहाँले भन्नुभयो ।

सोही टोलीलाई समेटेर शान्ताले नौमती बाजा बजाउने समूह खडा गर्नुभयो । आवश्यक तामिल लिएपछि विर्तामोड वडा नं २ का तत्कालीन वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले टोलीलाई बाजा किन्न रू डेढ लाख बजेट दिनुभएको संस्थाकी अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नमूना कार्य भन्दै कनकाई नगरपालिकाले पनि बाजा खरिदका लागि रू ३० हजार थपिदिएको थियो ।

केही नयाँ काम गरौँ भन्ने शान्ताको त्यही हुटहुटीले झापामा महिला मात्र रहेको पहिलो नौमती बाजा बजाउने टोलीको जन्म भयो । उहाँहरुले टोलीलाई संस्थागत गर्दै ‘आर्ट स्टुडियो महिला नौमती बाजा संस्था’ दर्ता गर्नुभएको छ । पौडेलका अनुसार टोलीमा १४ जना सबै महिला सदस्य छन् । समूहमा नौमती बाजामा चाहिने दमाहा, टेम्को, बाम्ताल, झ्याम्टा, ढोलक, सनाई र नर्सिङा रहेका उहाँले जानकारी दिनुभयो ।

विभिन्न कार्यक्रममा समूहले निश्चित शुल्क लिएर बाजा बजाउँदै आएको पौडेलले बताउनुभयो । उहाँका अनुसार अवधि र अवस्था हेरेर शुल्क निर्धारण हुने छ । एउटा कार्यक्रममा बाजा बजाएबापत बढीमा रू दुई लाखसम्म शुल्क पाउने गरेको संस्थाकी कोषाध्यक्ष गोमादेवी विमलीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा कार्यक्रमबापत टोलीले नेपालमा रू १५ हजारदेखि ३० हजारसम्म शुल्क लिने गरेको छ ।

भारतमा भने भारू ५० हजार शुल्क निर्धारण गरिएको विमलीले जानकारी दिनुभयो । “केही समयअघि जिल्लामा महिलाले नौमती बाजा बजाउँछन् भन्ने थाहा पाएपछि दार्जीलिङका एक जना सैनिक जर्नेलले आफ्नो छोराको बिहेमा बाजा बजाउने टोली झिकाउनुभएको थियो । दार्जीलिङबाट कोलकातामा जन्ती जाँदा रू ५० हजार दिने सहमति भएको थियो”, उहाँले भन्नुभयो, “हामीले नौमती बजाएको मन पराएर उहाँहरुले भारू डेढ लाख दिनुभयो ।”

बाजा बजाउन आमन्त्रण गर्नेहरुले टोली र बाजा बोक्नका लागि गाडी भाडा व्यहोर्ने गर्नुभएको विमलीको भनाइ थियो । उहाँका अनुसार काठमाडौँमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी चढाउँदा झापाको यही टोलीले नौमती बाजा बजाएको थियो । ऊबेला बाजा बजाएबापत रू एक लाख शुल्क दिइएको उहाँले जानकारी दिनुभयो ।

भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले एउटा कार्यक्रममा नौमती बजाउन उहाँहरुको टोलीलाई निमन्त्रणा गर्नुभएको थियो । तामाङले महिलाको नौलो र राम्रो कार्य भनेर प्रशंसा गर्दै भारू एक लाख पुरस्कार दिनुभएको थियो । टोलीले चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीमा बाजा बजाउँदै दोहोरीसमेत खेल्ने अवसर पाएको थियो ।

संस्थाकी अध्यक्ष शान्तादेवी पौडेलले नौमती बाजा बजाउन सुरु गर्दा आफू र आफ्ना साथीले पारिवारिक र सामाजिक असहयोग खेप्नुपरेको बताउनुभयो । दलितले मात्र बजाउने बाजा भनेर अपहेलना गर्न खोजिए पनि आफुहरुले बलियो आत्मविश्वास र लगनका साथ डटेर सामना गरेको उहाँले अनुभव सुनाउनुभयो ।

“यस्तो दमाईं बाजा पनि महिलाले बजाउने भनेर परिवारका सदस्यबाटै साथीहरुले अवहेलना भोग्नुपर्‍यो”, अध्यक्ष पौडेलले सङ्घर्षका दिन सम्झिँदै भन्नुभयो, “सुरुमा कसैले पनि साथ दिएनन् । तथापि हामी पछाडि हटेनौँ । अहिले चाहिँ प्रशस्त आम्दानी र सामाजिकरुपमा प्रशंसा हुन थालेपछि परिवारका सदस्य खुसी छन् ।”

टोलीका सदस्यहरुले घरको कामधन्धा छाडेर बाजा बजाउन जाने भएकाले सङ्कलन भएको आम्दानीको ९० प्रतिशत बाँडेर लिने गरेका छन् । दश प्रतिशत आम्दानी चाहिँ संस्थाको कोषमा जम्मा गर्दै आइएको कोषाध्यक्ष विमलीले बताउनुभयो ।

लोकभाका र चल्तीका जुनसुकै गीतमा सुमधुर धुन निकाल्ने महिलाको नौमती टोलीलाई अचेत कार्यक्रममा भ्याइनभ्याइ छ । व्यावसायिकरुपमा शुल्क लिने भएकाले आयआर्जनका दृष्टिले प्रशस्त आम्दानीको स्रोत बनेको छ भने सामाजिकरुपमा पनि प्रशंसा हुन थालेको छ । यसरी महिलाले नौमती बजाएर कला, संस्कृतिको संरक्षण हुनुका साथै यस क्षेत्रको पहिचानमा योगदान पुगेको स्थानीय बताउँछन् । रासस