५ श्रावण २०८३, मंगलवार
,
Latest
अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चरन अभावले मौरीपालनमा समस्या



अ+ अ-

देउखुरी । दाङको घोराही उपमहानगरपालिका–४ सुनपुरका हिमलाल चौधरीले चार वर्षदेखि व्यावसायिकरुपमा मौरीपालन गर्दै आउनुभएको छ । एउटा याममा दुइपटक मह निकाल्न मिल्ने र मनग्य आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । चौधरीले दश घारबाट मौरीपालन थाल्नु भएको हो । हाल उहाँसँग मौरीका ७० घार रहेका छन् ।

वर्षात्को समयमा मौरी चरनका लागि समस्या हुने गरेको चौधरी बताउनुहुन्छ । “चरनकै समस्याले घारको सङ्ख्या घटेर ४० पुगेको छ”, उहाँले भन्नुभयो । मौरीपालन व्यवसाय आय आर्जनको गतिलो माध्यम बनेको उहाँले बताउनुभयो । एकपटक मह काढ्दा रु एक लाखसम्म आम्दानी हुने गरेको चौधरीले बताउनुभयो ।

“मह बिक्रीका लागि समस्या छैन, गाउँघर र बजारमा बिक्री भइरहेको छ । तर मौरी चरनको भने समस्या छ । खेतबारीमा तोरी हुँदामात्रै चरनको सुविधा हुन्छ । त्यसपछि जिल्ला बाहिर लैजानुपर्छ”, चौधरीले भन्नुभयो । चिउरी र रुदेलो पर्याप्त मात्रामा नपाउँदा मौरी चराउन अन्य जिल्ला जानुपर्ने बाध्यता छ । मौरी चराउन लैजाँदा एकजना सँगै जानुपर्छ । घरदेखि टाढा जाँदा घरको काममा बाधा पर्छ ।

यसैगरी घोराही–१८ मसिनाका माधव सुवेदीले व्यावसायिकरुपमा मौरी पाल्न थल्नुभएको पाँच वर्ष भयो । उहाँसँग एक सय २० मौरीका घार छन् । एक वर्षमा चार पटक मह काढ्ने गरेको सुवेदीले बताउनुभयो । उहाँले घोराही–१७ कर्जाही, वडा नं ६ गुरुवागाउँ र वडा नं १८ को गिठेपानीमा मौरी चराउन लैजाने गर्नुभएको छ । मौरी पाल्न चरनको अभाव छ किसानले तरकारी र अन्यबालीनालीमा विषादी छर्ने गरेका कारण मौरी चरनमा समस्या भएको सुवेदीको भनाइ छ ।

नेपाल मौरीपालक महासङ्घ जिल्ला अध्यक्ष विष्णु श्रेष्ठले जिल्लामा २० हजारभन्दा बढी मौरीका घार रहेको बताउनुभयो । ती घारबाट वार्षिक करिब चार सय मेट्रिकटन मह उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । मौरीपालक किसानले उत्पादन गरेको मह बिक्री गर्न बजारको समस्या नभएको श्रेष्ठको भनाइ छ । घोराहीभित्र पाँच हजार, तुलसीपुरभित्र तीन हजार दुई सय, बबईमा एक हजार, शान्तिनगरमा दुई हजार आठ सय, दङ्गीशरणमा एक हजार दुई सय र बङ्गलाचुलीमा तीन हजार दुई सय मौरीका घार रहेका उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रमा कार्यरत मौरी विज्ञ रुद्रमणि पौडेलले दाङमा किसानको मौरीपालनतर्फ आकर्षण बढ्दो भएपनि चरनको समस्या रहेको बताउनुभयो । कृषि ज्ञानकेन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मौरी जोनले मौरीपालनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जोनले मौरी चराउनका लागि ढुवानी, सामग्री खरिदलगायतमा किसानलाई ५० प्रतिशत अनुदान दिने गरेको विज्ञ पौडेलले बताउनुभयो । रासस