२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोदा पुल: आठ वर्षमा तीन पिलर मात्रै ठडिए,१२ करोड भुक्तानी



अ+ अ-

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् ।

विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो । त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन । तीन पिलर पनि मापदण्ड विपरित निर्माण गरिएको पाइएपछि पुलको डिजाइन नै फेरिएको छ ।

“पुलको कामले गति लिएको छैन । निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दैआएका छौँ”, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले भन्नुभयो । विसं २०७८ साउनमा पुलको नयाँ डिजाइन तयार गरिएको थियो । विभिन्न बहाना बनाएर निर्माण कम्पनीले निर्माणको काम अघि नबढाएको इन्जिनियर सिग्देलको आरोप छ । उक्त पक्की पुलको लागत रु २४ करोड ५२ लाख रहेको छ ।

“हालसम्म रु १२ करोड भुक्तानी भइसकेको छ”, उहाँले भन्नुभयो । पुल निर्माणले गति नलिँदा स्थानीय निराश बनेका छन् । “लामो समय बितिसक्दा पनि पुल निर्माण भएन । अब त पुल बन्नेमा आशंका हुन थालेको छ”, लालझाडी–४ का कृष्ण राना भन्नुहुन्छ ।

वर्षौँदेखि देखतभुली–पर्सिया जोड्ने पक्की पुल निर्माण नहुँदा लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् । पक्की पुल निर्माण नहुँदा स्थानीयले शुल्क तिरेर काठको अस्थायी पुल प्रयोग गर्दैआएका छन् । “नदी तर्न काठको पुल प्रयोग गर्दै आएका छौँ”, लालझाडी–५ का धोके रानाले भन्नुभयो, “बर्खामा नदी ओहोरदोहोर गर्न सकिँदैन ।”

स्थानीयले काठको पुल प्रयोग गरेबापत साइकलको रु १० र मोटरसाइकलको रु २० शुल्क तिर्ने गरेका छन् । बर्खामा बाढी आउने हुनाले निर्माण गरिएको काठको अस्थायी पुल हटाउने गरिएको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका मङ्गलबहादुर चौधरीले बताउनुभयो । “वर्षातमा काठको पुलबाट आवतजावत गर्न सकिँदैन । बाढीले बगाउने हुनाले हटाउँछौँ”, उहाँले भन्नुभयो, “त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ ।” रासस