• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

सामुदायिक कुकुरमा डिस्टेम्पर रोगको संक्रमण : टोलमा देखिए खवर गर्न आग्रह



काठमाडौँ । केही स्थानका सामुदायिक कुकुरमा डिस्टेम्पर रोग देखिएको काठमाडौँ महानगरपालिका पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिनुभएको छ ।

समुदायमा रहेका कुकुरमा समस्या देखिएपछि स्थानीयबाट आएको सूचनाका आधारमा परीक्षण गर्दा रोग थाहा भएको उहाँको भनाइ छ । कुकुरहरुमा हुने यो रोग एउटा कुकुरदेखि अर्को कुकुरमा सजिलै सर्छ । कुकुरबाट मान्छेमा भने सर्दैन । यो कुकुरहरुका लागि प्राणघातक रोग हो । लक्षण देखिएपछि रोकथामका कार्यक्रम थालेका छौँ । डा. झा भन्नुहुन्छ, ‘रोग लागेका कुकुरहरुलाई ज्वरो आउँछ । खाना नखाने, झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन् । खोक्ने, बान्ता गर्ने, दिशा पातलो गर्ने, छारे रोग जस्तो लक्षण देखाउने, लडवडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने यो रोगका मुख्य लक्षण हुन् ।’

रोग लागेका कुकुरका बारेमा जानकारी आएपछि उपचार र व्यवस्थापनको काम थालिसकिएको विभागले जनाएको छ । सामुदायिक कुकुरमा यस्ता समस्या देखिए, महानगरपालिकाको नि:शुल्क टेलिफोन नं. नम्बरमा सम्पर्क १६६००१०५५११ र ११८० मा सूचना दिन विभागले अनुरोध गरेको छ ।

कुकुरबाट कुकुरमा सर्ने भएकोले रोग फैलिएका ठाउँमा घर पालुवा कुकुर बाहिर नलैजान र कुकुरहरुलाई रोगविरुद्धको खोप अनिवार्य लगाउन विभागले अनुरोध गरेको छ ।