• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित ★   प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित ★   राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित ★   हरेक ठाउँमा भ्रष्टाचार व्याप्त छः अध्यक्ष नेपाल ★   खुट्टाले लेखेर एसईईमा ३.३७ जिपिए प्राप्त गरेका विद्यार्थीको पढाइको ग्यारेन्टी लिन सरकारसँग माग ★   दुई पटक बयान दिएको व्यक्तिलाई फरार अभियुक्त बनाइयो, गृहमन्त्रीले जवाफ दिनुपर्छः सांसद खतिवडा ★   आर्थिक विधेयक,२०८१ मा संशोधित व्यवस्था दुरुपोग हुने सम्भावना छैनः अर्थमन्त्री पुन ★   नेकपा एसको दस्ताबेजमा आफूलाई अस्थिर भनेकोप्रति प्रधानमन्त्रीको असन्तुष्टि

नवराज विक हत्या प्रकरणः २३ जनालाई जन्मकैदको फैसला



काठमाडौं । विसं २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा भएको घटनाको फैसला भएको छ ।

जाजरकोटका नवराज विकसहित छ जनाको हत्या भएको घटनाको मुद्दाको फैसला आएको हो । आइतबारदेखि सुरु भएको सुनुवाइको फैसला तीन दिन लगाएर मङ्गलबार साँझ आएको हो ।

जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले घटनाको कसुरमा कारागारमा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

कोइरालाका अनुसार नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदको मुद्दामा दुई वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएको छ । साधारण तारेखमा छुटेका ११ जनामध्ये आठजनाले सफाइ पाएको सूचना अधिकारी कोइरालाले जानकारी दिनुभयो । त्यसैगरी पीडितलाई प्रतिवादीको तर्फबाट रु ४० हजारका दरले क्षतिपूर्ति भराउने फैसला भएको छ ।

उक्त घटनाको जाहेरीपछि ३४ जना पक्राउ परेका थिए । उनीहरूमध्ये थुनछेक बहसका क्रममा दुई जना बालकसहित ११ जना तारेखमा छुटेका थिए ।

भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकाको परिवारसँग आफ्नो विवाहको कुरा गर्न उनी त्यहाँ पुगेका थिए । दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेका थिए । घटनामा १२ जना घाइते भएका थिए । घटनामा ज्यान गुमाएकाको शव भेरी नदीमा भेटिएको थियो ।

विसं २०७७ जेठ १० गते जाजरकोटका नवराजसहित उनका पाँच जना साथी जाजरकोटका गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा हत्या भएको थियो ।