२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट भूकम्पबाट १३ जिल्ला प्रभावित, ६१ हजार घरमा क्षति



file photo
अ+ अ-

काठमाडौं: गृह मन्त्रालय मातहतको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले यही कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट २६ हजार ५५७ घरमा पूर्ण क्षति भएको जनाएको छ ।

शाखाले आज सार्वजनिक गरेको विवरणमा भूकम्पबाट ३५ हजार ४५५ घरमा आंशिक क्षति पुगेको र प्रभावित जिल्लाहरुबाट विस्तृत विवरण आउने क्रम जारी रहेको बताएको छ ।

जाजरकोटलाई केन्द्रविन्दु बनाएर कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट १३ जिल्ला प्रभावित भएका थिए । जाजरकोट सहित रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्युठान र अछाम जिल्लामा क्षति पुगेको शाखाको भनाई छ ।

भूकम्पबाट सरकारी कार्यालय र सार्वजनिक भवनमा पनि क्षति पुगेको थियो । प्रारम्भिक विवरण अनुसार १६ वटा कार्यालयमा पूर्ण क्षति र ३४ वटामा आंशिक क्षति पुगेको छ ।

उक्त भूकम्पबाट १५४ जनाको मृत्यु भएको र ३६६ जना घाइते भएका थिए । राहत र उद्धारका लागि २५१ जना शसस्त्र प्रहरी, ४७५ नेपाल प्रहरी र २५० नेपाली सेनाका जवान खटिएका थिए ।

भूकम्पबाट सबैभन्दा बढी क्षति जाजरकोट र रुकुम पश्चिममा भएको छ । शाखाको विवरण अनुसार जाजरकोटमा १०१ जनाको मृत्यु, १४५ जना घाइते हुनुका साथै २४ हजार ७०७ घरमा आंशिक तथा ९ हजार ७९४ घर पूर्ण क्षति भएका छन् ।
यस्तै रुकुम पश्चिममा ५३ जनाको मृत्यु, २०२ जना घाइते हुनुका साथै ९ हजार ९६१ वटा घर आंशिक तथा १६ हजार ५७० घर पूर्ण क्षति भएको छ ।

शाखाले भौतिक क्षतिको विवरण संकलन कार्य जारी रहेको जनाएको छ ।