• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

गणतन्त्र असफल भयो- नेपाल ‘कोर्स करेक्सन’को सम्मुखमा छ



आज संसदीय निर्वाचन भएको एक वर्ष पूरा भएको छ। राजनीतिक दलहरुले चुनावी दौरानमा जनताको माझमा जाँदा गरेका बाचा र प्रतिबद्धताहरुको सम्झना र समिक्षा गरुन् ।हामी पनि समिक्षा गर्छौं।

निर्वाचनपछि बनेको सरकारमा सहभागी भएर राप्रपाले एउटा प्रयोग गऱ्यो, ४० दिन नपुग्दै नाटकीय रुपमा सत्तामा संकट देखिएपछि सबैभन्दा पहिले सरकारबाट बाहिरियौं । जति दिन सरकारमा रह्यौं राम्रो गर्ने प्रयास गऱ्यौं, नराम्रो गरेनौं ।

त्यसपछि सरकार सञ्चालनका क्रममा संघ र प्रदेशमा यो एक वर्षमा देखिएका रमिता, कुकृत्य गणतन्त्रका गहनाका रुपमा स्थापित भए । तथाकथित परिवर्तन राम्रो हो, उत्कृष्ट छ भनेर छाती खोली नागरिकका सामु भन्ने अट यतिबेला कसैको छैन ।

बन्द कोठाभित्र लाभ लिएका केही तरमाराहरुले गणतन्त्र ठिक छ भन्नु आफैंमा लज्जाको विषय बनिरहेको छ। दिनहुँ हजारौं नौजवान युवाहरु लावालस्कर देश छाडेर परदेश लागिरहेका छन्, अर्थतन्त्र शिथिल र दबाबमा छ, भूराजनीतिक सन्तुलनमा गडबडी देखिदैछ। केही मुठ्ठीभर बाहेक आम जनता निराश छन्, जनजीवन त्रस्त छ।

यो अवस्था कहिलेसम्म लम्ब्याउने ? अब पनि नागरिक नजागे, नउठे कहिले उठ्ने? देशले अवलम्बन गरेको मार्गचित्र गलत र त्रुटिपूर्ण छ भनेर हामीले आज मात्र होइन, हिजोका कठिन र जटिल दिनमा समेत भन्यौं, निरन्तर भन्दै आइरहेका पनि छौं । आफ्नो एजेण्डामा सतिसाल झैं उभिएको राप्रपाको एजेण्डा क्रमश: सहि साबित हॅुदै गएको छ।

हिजो कुनै बेला हाम्रा एजेण्डा लुकेर सुनाउनुपर्ने, कथित अग्रगमनकारीको निशानामा पर्नुपर्ने अवस्थाबाट आज खॅाटी गणतन्त्रवादी कहलिएका, गणतन्त्रबाट लाभ लिएकाहरुले समेत सगर्व बोकेर हिडिरहेको देख्दा सन्तोष र गर्वको अनुभूति हुन्छ।
नेपाल यतिबेला ‘कोर्स करेक्सन’को सम्मुखमा छ।

यथास्थितिबाट देश अघि बढ्न सक्दैन भन्ने कुरा हामीले भनिरहन पर्दैन, यो अवस्था र व्यवस्थाका संवाहक शक्तिहरुले समेत भनिरहेको र स्विकारेको कुरा हो। यथास्थितिमा सुधार ल्याउने विकल्प छ र विकल्प राप्रपाले मात्रै दिएको छ।

राप्रपाले अघि सारेको विकल्पमा छलफल गर्न कसैले हिनताबोध गर्नु पर्दैन। गल्ती चेतनशील प्राणीबाट नै हुने हो, गल्ती सच्याएर नेपालको माटो र परिवेश सुहाँउदो नवीन व्यवस्थाका लागि हातेमालो गर्न राजनीतिक दलहरु, विभिन्न विचार समुह, स्वतन्त्र नागरिक सबैको ध्यानाकर्षण गराउॅदछु ।

राजसंस्था फर्काउने कुरा प्रतिगमन होइन, कतिपयले प्रतिगमनको भाष्य निर्माण गरिरहेका छन्, त्यो गलत छ । नेपालको लागि राजसंस्था अहिले भन्दा अघि बढ्ने अग्रगमनकारी उत्कृष्ट बाटो हो । नागरिकलाई अधिकारसम्पन्न बनाउने विभिन्न पाटोहरुमा छलफल हुन नसक्ने भन्ने छैन । आउनुहोस्, नवीन र सार्थक बहस प्रारम्भ गरौं ।
सबैभन्दा माथि देश, देशभन्दा माथि कोही छैन ।

श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता हुनुहुन्छ ।