४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

 छठ पर्वमा निहित समावेशी र सादगीपन

 छठ पर्वमा निहित समावेशी र सादगीपन
फार्ईल फोटो
अ+ अ-

काठमाडौँ :  छठ पर्व तराईको समतल फाँटदेखि हिमालको फेदसम्म पुगिसकेको छ । पञ्चायती व्यवस्थामा पर्व मनाउनेहरुलाई तत्कालीन शासकहरुले व्यवस्था विरोधीको जमघटका रुपमा लिने गर्दथे । केही वर्ष अघिसम्म  काठमाडौं उपत्यकामा जाति विशेषको पर्वको रुपमा हेर्ने गरिन्थ्यो । समयको गति रोकिदैन भने झैैं यसको व्यापकताले अनेक बिघ्नबाधालाई पार गर्दै जनव्रत भइसकेको छ ।

नदी किनार र पोखरीको छेउछाउमा मनाइने यो पर्वले मानव सभ्यताको अर्थ बोध दिन्छ । मानव सभ्यताको विकास नदी किनार हुँदै भएको इतिहास साक्षी छ । पञ्चतत्वमध्ये सूर्य र जल अपरिहार्य तत्व हुन् । यी दुई तत्वहरूप्रति श्रद्धाभाव व्यक्त गर्ने अवसर स्वरूप यो  पर्व मनाइँदै आएको पाइन्छ । जीवन, जगत, प्रकृति, वनस्पति, ग्रह, नक्षत्र, संवत्सर, समय, काल सबैका कारक रहेका सूर्यको आराधना गर्नुमा आपसी, सद्भाव, एकता र सहिष्णुताको सन्देश पनि निहित छ ।

सामाजिक संस्कृतिका अभिन्न अङ्ग मानिएको छठ पर्वमा सत्य, अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने  सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही नै यस्तो पर्व हो । यसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो । वेदमा सूर्यलाई ऐश्वर्यको रूपमा र ऋग्वेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ । सृष्टिका सबै जीव र वनस्पतिहरू सूर्यको तापबाट नै बाँचेका छन् । ऋग्वेदमा भनिएको छ– ‘सूर्य आत्मा जगतस्य स्थुपश्च’ अथर्व वेदमा त सूर्यलाई ब्रह्मको  साकार रूप नै मानिएको छ । महाभारतमा पनि सूर्यलाई सम्पूर्ण जगतका प्राणीसित सम्बद्ध भएको उल्लेख गरिएको छ ।

सूर्योपनिषदमा सूर्यलाई ब्रह्मा, विष्णु र रूद्र भनिएको छ । भगवान श्रीकृष्ण लौकिक लीला समाप्त गरी अन्तमा सूर्यनारायणमा नै विलीन हुनुभएको प्रसङ्ग पनि रहेको छ । वेदमा सूर्यलाई १४ वटा नामले सम्बोधन गरिएको छ । सूर्यको महात्म्यबारे यजुर्वेद, सामवेद, शुक्लवेद, गीता, मार्कण्डेय पुराण, सूर्य पुराण । साम्य पुराण इत्यादि उल्लेख पाइन्छ । सूर्यकै उपासनाबाट याज्ञवल्क्यले ज्ञान प्राप्त गरेको आख्यान पनि रहेको छ । सन्तान प्राप्ति, निरोगिता, सुख समृद्धि र चर्मरोग हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयताका प्रतीकका रूपमा छठले जनव्रतको मान्यता पाएको पाइन्छ । संसारको आदिपर्वका रूपमा रहेको सूर्य पूजाको पर्व कुनै समय प्राचीन मिथिला भू–भागभित्र मात्र प्रचलित रहेकोमा अब देश–देशान्तरसम्म विस्तार हुँदै गएको छ ।

संसारमा सूर्य पूजाको परम्परा सबै सभ्यता, धर्म, समुदाय र युगमा पाइन्छ । बेबीलोनका निवासीहरूले सूर्यलाई अपोलोका रूपमा पूजा गर्थे भने जापानीहरू इजानागी र इजानामीलाई आदि पुरूष र आदि नारी मान्ने गर्दछन् र यी आदि पुरूष, आदि नारीबाट नै सूर्यको जन्म भएको विश्वास राख्छन् । मिश्र सभ्यतामा एटम अथवा रे भनी सूर्यको पूजा गर्ने गरिन्छ ।

सूर्यलाई आदि देवता पनि भनिन्छ । मानव मात्रको अस्तित्वपछि मानवलाई सर्वप्रथम उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने, रोगव्याधीबाट जोगाउने सूर्य नै थिए । स्वभावतः मानव सूर्यप्रति आकर्षित भए र सूर्य आराधनाको क्रम सुरू भयो । छठ पूजामा छठीमाईको पूजा गर्ने चलन पनि वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण रूप मानिन्छ । यो पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले परमेश्वरीका रूपमा लोकमानसमा आस्थाको महापर्वको स्थान ग्रहण गरेको देखिन्छ ।

सूर्यको महिमा सबै सम्प्रदाय र ग्रन्थमा रहेको छ । ऋग्वेदमा भनिएको छ, “हे आकाशकी छोरी उषा मलाई अन्न, धन, छोराछोरी देउ, वरदान देउ कि म सधैं बिहान ओछ्यानबाट उठेर बलिष्ठ छोराहरूको मुख देख्न सकौं ।” सूर्यौपनिषद्मा सूर्यलाई नै ब्रह्माको साकार रूप बताइएको छ । यति मात्र होइन, यस ग्रन्थमा सूर्यलाई जगतको पति भनी सम्बोधन पनि गरिएको छ ।

छठ पर्वले एक ठाउँमा भेला गराएर साँचो अर्थमा समान व्यक्तित्वको आदर्शसमेत स्थपित गर्दछ । यही आस्था र विश्वासले जलाशयहरूलाई सरसफाई गरी बेहुली झैं सिंगारेर परम्परालाई जीवन्त तुल्याउने प्रयास निरन्तर जारी रहेको  देखिन्छ ।

आस्थाको महापर्वका रूपमा छठ पर्व वर्षमा दुई पटक मनाउने गरिन्छ । शरद् ऋतुको कार्तिक षष्ठीका दिन र अर्को वसन्त लागेको चैत महिनाको पष्ठीका दिन मनाइने पर्वमा श्रद्धालुमा अन्य पर्वहरूभन्दा भिन्नै उल्लास र आस्था हुन्छ । सूर्यको आराधनाबाट सुख  समृद्धि र सन्तान प्राप्ति एवं चर्म रोग निको हुने जनविश्वास छ । यो पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यतिकै छन् । ज्योतिषशास्त्रका आधारमा छठ पर्वको समयमा बह््माण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्या राशि  समय पर्ने र यस बेलालाई सूर्यको प्रकाश प्रखर तथा प्रभावशाली र मानवका लागि आल्हादकारीसमेत मानिएको छ ।

छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो । षष्ठीका दिन षष्ठीका देवीसमेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्ठी, छठी हुन गएको हो तर अपभ्रंशमा षष्ठी, छठीबाट छठ हुन गएको बुझिन्छ । धर्मग्रन्थमा छठ पर्वको नाम षष्ठी व्रत, सूर्य षष्ठी पर्व, रवि षष्ठी व्रत र छठी पर्व उल्लेख छ ।

‘काँचहि बाँसके टोकरिया हो दीनानाथ,टोकरी लचकत जाय, बाटमे पुछए जे बटोहिया, टोकरी केकर जाय ? आन्हर होयबे रे बटोहिया, अरघक टोकरी छठि मायके जाय’  छठका अवसरमा मैथिल कन्याहरूद्वारा प्रसाद सामग्री बोकी कुनै नदी वा तलाउसम्म जाने बेला गाइने यो प्रचलित लोकगीतमा दीनानाथ र छठीमायालाई सम्बोधन गरिएको छ  । यसको अभिप्राय हो–दीनानाथ अर्थात् सूर्यदेव, छठीमाय अर्थात् षष्ठीका देवी दुबैको छठ पर्वमा पूजा हुन्छ ।

यस पर्वको वैदिक नाम सूर्य–षष्ठी रहेको छ । यसमा मुख्य पूजा सूर्यको हुँदाहुँदै षष्ठीका देवीको पूजा पनि हुन्छ । षष्ठीका देवीको पूजा गौणरूपमा हुन्छ । जस्तो राधाकृष्ण, सीताराम, गौरीशङ्कर एक अर्काका पूरक हुन्छ, त्यस्तै सूर्यषष्ठी पूजा पनि हुन्छ । सूर्यको पूजा गर्दा षष्ठीका देवी अर्थात् छठ माताको र छठ माताको पूजा गर्दा सूर्यदेवको पूजा हुने गरेको मान्यता पाइन्छ । षष्ठीका देवीलाई अह््लादिका शक्तिका रूपमा गौण पूजा हुने गरेको विश्वास रहेको छ । अस्ताउँदो सूर्यलाई दिइने अर्घ छठ माताको हुन्छ भने उदाउँदो सूर्यलाई दिइने अर्घ सूर्यदेवको हुन्छ भन्ने तर्कसमेत पाइन्छ ।

षष्ठीका देवीलाई कार्तिकेयको पत्नी मानिन्छ र षष्ठीका देवीलाई प्रकृतिको छैठौं अंश र देवसेना पनि भनिएको छ । पौराणिक ग्रन्थहरूमा छ अंश षष्ठी र एक अंश सूर्यलाई मानिएकाले षष्ठीलाई छठ माता र सप्तमीलाई सूर्य मानिन्छ । षष्ठी र सूर्य गरी सात अंश अङ्कको अधिक महत्व रहेको छ । साताको सात दिन, सूर्यदेवको रथमा सात घोडा, सात समुद्र, सात अजुवा, सङ्गीतको सात सुर आदि कुरा सूर्यसँग सम्बन्धित रहेको पुष्टि हुन्छ ।

सूर्य पुराणमा वर्णित कथाअनुसार कार्तिक शुक्ल षष्ठीका दिन हुने छठ पर्व सर्वप्रथम अत्रि मुनिकी पत्नी सती अनुसुयाले सुख, समृद्धि र आफ्नो दाम्पत्य प्रेमको निष्ठाका लागि गरेकी थिइन् । सोही समयदेखि यस पर्वको थालनी भएको मानिन्छ । त्यस्तै द्वापर युगको महाभारतकालमा पाण्डवहरू अज्ञात वासमा हुँदा द्रौपदीले आफूहरूको अज्ञात वास सफल होस् भनी कामनाका साथ सूर्यदेवलाई आराधना गरेको महाभारतमा उल्लेख छ ।

ऋग्वेदमा ‘अदित्यो वै तेज ओजो बलं यशश्चक्षः श्रोय आत्मामनः’ उल्लेख छ । यसको अभिप्राय आदित्यमण्डलको अन्तःस्थित सूर्यदेव अधिक प्रेरक, अन्तर्यामी परमात्मा स्वरूप छ तथा सूर्य नै बल, यश, चक्षु, स्रोत, आत्मा र मन हो । श्रापबाट पीडित प्रसिद्ध कवि मयुर भट्टले सूर्यको उपासनाबाट सुन्दर कञ्चन शरीर पुुनः प्राप्त गर्नुभएकाले नै त्यहीँदेखि सूर्यको आराधना सुरू भएको मत पनि पाइन्छ ।

यस पर्वको विधि चतुर्थीदेखि नै सुरू हुन्छ । चतुर्थीका दिन ब्रतालुले शुद्ध शाकाहारी भोजन गर्ने गर्छन्, जसलाई अरबा अरबाइन र नहाय– खाय अर्थात् नुहाएर खानु भनिन्छ । पञ्चमीका दिन गोबरले घरआँगन लिपपोत गरी पवित्र भई दिनभरि उपवास बसेर साँझपख शुद्ध दूधमा खीर पकाई, केरा, मिष्ठान्न, फलफूल इत्यादि प्रसाद चन्द्रमालाई अर्पण गरी व्रतालुले आफू पनि ग्रहण गर्ने गर्दछन्, यसलाई खरना  भनिन्छ ।

षष्ठीका दिन गहुँको पीठो र चामलको पीठोबाट क्रमशः ठकुवा र भुसवा पकाइन्छ र बेलुकी सूर्यास्त हुनुभन्दा अगाबै पवित्र जलाशय भएको स्थानमा गई पूजा गरिन्छ । प्रसादका रूपमा ठकुवा, कसार, केरा, उखु  मूल परिकार हुन्छ भने अन्य सामग्रीमा विभिन्न फलफूल, मेवा मिष्ठान्न, गेडागुडी, कन्दमूल, नरिबल, सुन्तला, किसमिसलगायतका विभिन्न वनस्पति पनि राखिन्छ । सबै सामग्री तयार भएपछि बाँसबाट बनेको कोनिया, कनसुपती, नाङ्लो, माटोको कुरबार सजाएर ठूलो ढकीमा राखेर नदी, पोखरी वा खोलाको किनारमा गई सबैथोक सजाएर राखिन्छ । व्रत वस्नेहरू कम्मरसम्मको पानीमा बसेर अस्ताउन थालेको सूर्यलाई अर्घ दिन्छन्  ।

सप्तमीका दिन बिहान उषाकालमा व्रतालुहरूले पुनः अघिल्लो दिनको क्रम दोहो¥याउँछन् । सूर्यलाई अर्घ दिँदा परिवारका सदस्यहरूले गाईको दूध चढाउँछन् । ‘ओम सूर्यायै नमः, ओम भास्करयै नमः’ को  मन्त्रोचारण गरी ब्रतालुहरूले  सूर्यदेवको आराधना गर्ने गरेको पाइन्छ । मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई प्रस्ट पार्ने यो पर्वले संस्कृतिको संरक्षण पनि गरिरहेको छ । अस्तित्वले निःशुल्क प्रदान गरेका अमूल्य उपहारहरूको पहिचान गर्नु र प्रकृतिप्रति आभार र प्रेम प्रवाह गर्नुका साथै स्वयम्भित्र रहेको चैतन्य रूपी आत्माको पहिचानको सन्देश बोकेको छठ पर्वले जनव्रतको रूप लिइसकेको छ । जुनसुकै जाति  र धर्मका आस्थावानले छठ पर्व मनाउन सकिने भएकाले आर्थिक अभाव रहेकाहरूले भिक्षा मागेर पनि छठ पर्व मनाउने गरेको पाइन्छ ।

छठ पर्वको मूल सन्देश समन्वय, समावेशी र सादगीपन हो । यसमा महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गर्नु महत्वपूर्ण पक्ष हो । यसका साथै अस्ताउने र उदाउने दुईटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख दुःख रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो । कुनै पनि व्यक्तिको कुण्डलीमा अवस्थित सूर्य ग्रहलाई ग्रहको पिता मानिन्छ । त्यसैले सूर्यलाई जल चढाउँदा शान्ति प्राप्त हुने विश्वास विद्यमान रहेको छ । सूर्यको किरणको शक्तिले शरीरका प्रत्येक अङ्गलाई सक्रिय बनाउने र भिटामिन ‘डी’ प्राप्त हुने वैज्ञानिक मान्यता पनि पाइन्छ ।

धनी, गरिब, कथित तल्ला र माथिल्ला जातिहरू एकै ठाउँमा यस पर्वमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् । सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएकाले उनीप्रति कृतज्ञताको अभिवृद्धि पनि यस पर्वले दिन्छ । आफ्नै गाउँघरका खेतवारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु छठ पर्वको थप मौलिकता हो, जो श्रमको सम्मानको परिचायक रहेको छ । यसमा श्रमको वैज्ञानिक रूप देखिन्छ । श्रमशक्तिले काम गर्न पाउन भन्ने दृष्टिले विचार गरिएको बाँसको काम गर्ने, माटोको काम गर्ने र कृषि उत्पादन गर्ने जस्ता श्रमलाई उपयोग गरिएको पाइन्छ ।

यो पर्व पारिवारिक जमघटको अवसर पनि हो । परिवारबाट टाढाटाढा बसेका व्यक्ति पनि छठ पर्व  मनाउन आफ्नो घर फर्कने गर्दछन् । यसले पारिवारिक मेल र आत्मीयताको अभिवृद्धिको अवसरसमेत प्रदान गर्दछ । यस पर्वमा धनी, गरिब, उँच–निचको भेद्भावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।

यस पर्वमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पु-याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप देखिन्छ । यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि बंशवृद्धि, केरामा भगवान विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक रहेको छ । विभाजन, द्वेष, एकले अर्काको अस्तित्वलाई अस्वीकार गर्ने वर्तमान अवस्थामा छठ पर्वले सबैलाई एउटै स्थलमा उभ्याउने र मानवलाई मानव भएर जिउनमा सहयोगीसमेत सिद्ध भएको छ । यही कारण छठलाई भेद्भावविरूद्ध र साम्प्रदायिक सद्भावको दृष्टिले लोकतान्त्रिक पर्वको सङ्ज्ञा पनि दिइएको छ । रासस

-लेखक पत्रकार तथा मैथिली साहित्यका जानकार हुनुहुन्छ