१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : भारतद्वारा नेदरल्यान्ड्स १६० रनले पराजित



भारतीय ब्याट्सम्यान श्रेयस ऐयर (फाइल)
अ+ अ-

विश्वकप क्रिकेट अन्तर्गत लिगको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्सलाई १६० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

भारतले प्रस्तुत गरेको ४११ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले अलआउट हुँदै ४७.५ ओभरमा २५० रन मात्र बनाएको थियो । यो जितसँगै भारतले विश्वकपका लिग चरणका सबै ९ खेल जितेको छ ।
चालु विश्वकपमा लिगका सबै खेल जित्ने भारत एकमात्र टिम हो ।

नेदरल्यान्ड्सका लागि सिब्रान्ड एन्जेलब्रेक्टले ४५, तेजा निदामानुरुले ५४, कोलिन एकरम्यानले ३५ तथा म्याक्स ओडाउडले ३० रन बनाएका थिए ।

भारतका लागि ९ जनाले बलिङ गरेका थिए । जसप्रित बुम्राह, मोहम्मद सिराज, कुलदीप यादव र रविन्द्र जडेजाले समान दुई दुई विकेट लिएका थिए भने रोहित शर्मा र विराट कोहलीले पनि समान एकएक विकेट लिएका थिए ।

यसअघि, यस विश्वकपमा एक पनि खेल नहारेको भारतले बैंगलोरमा टस जितेर पहिले ब्याटिङ रोजेको थियो । भारतका लागि श्रेयसले ९४ बलको सामना गरी अविजित १२८ रन बनाए । उनले ५ छक्का र १० चौका प्रहार गरेका थिए ।

यस्तै, केएल राहुलले ४ छक्का र ११ चौका मद्दतले ६४ बलमा १०२ रन बनाए । यस विश्वकपमा पहिलो शतक बनाउने क्रममा उनले केबल ६४ बल सामना गरेका थिए । उनी इनिङको अन्त्यतिर डी लीडको बलमा क्याचआउट भएका थिए ।
भारतका लागि कप्तान रोहित शर्माले ६१, शुभमन गिलले ५१ तथा विराट कोहलीले ५१ रन बनाए ।

नेदरल्यान्ड्सका लागि बास डी लीडले २, पल भान बीकेरन र मर्वले समान एकएक विकेट लिएका थिए ।

अब भारतले सेमिफाइनलमा न्युजील्यान्डको सामना गर्नेछ । अर्को सेमिफाइनल खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुनेछ ।