७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

व्यवस्थापन गरे मोहोर, नगरे फोहर

व्यवस्थापन गरे मोहोर, नगरे फोहर
अ+ अ-

वालिङ । देशका कतिपय पालिकाहरुलाई फोहरमैला व्यवस्थापन समस्याको विषय बन्ने गरेको छ । फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा देखा परिरहेका छन् । फोहरमैलाको उचित व्यवस्थापन गर्न नसक्दा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको चिन्ताको विषय बन्ने गरेको छ । फोहोरमैला व्यवस्थापनका कारण कतिपय ठाउँमा विवादहरु उत्पन्न भएका छन् । बजारबाट उठाइएका फोहरहरुलाई कुनै ठाउँमा लगेर थुपार्ने मात्रै गर्दा त्यसले जनस्वास्थ्य र वातावरण असर पार्ने त्रासले फोहरमैला थुपार्ने ठाउँ वरपरका स्थानीय तथा बस्तीबाट विरोध आउने गरेका उदाहरणहरु प्रसस्तै सुन्न र देख्न पाइन्छन् ।

फोहरलाई वर्गीकरण नगरी एकै ठाउँमा लगेर थुपार्दा समस्या निम्त्याउने गर्दछ भने आम्दानी पनि हुँदैन । व्यवस्थापन गर्न जाने मोहोर र नजाने फोहोर हुन्छ भन्ने प्रमाणित पछिल्लो समय विभिन्न पालिकाहरुले गर्दै आइरहेका छन् । फोहोरलाई प्रशोधन गरी मोहोर भित्र्याउँदै आएको एक सफल पालिका हो स्याङ्जाको भिरकोट नगरपालिका । विसं २०७३ मा स्थापना भएको भिरकोट नगरपालिका स्याङ्जा जिल्लाको मध्यभागमा सिद्धार्थ राजमार्गसँगै जोडिएको पालिका पनि हो ।

धार्मिक, पौराणिक एवं ऐतिहासिक दृष्टिले महत्व बोकेको आँधीखोलाको किनारमा रहेको बयरघारी बजार भिरकोट नगरपालिकाको प्रमुख बजार हो । यही बजारमा नै पालिकाको प्रशासकीय भवन रहेको छ । फोहरमैला थुपारिएका कतिपय ठाउँ वरपर पुग्ने प्राय:जसोले नाक मुख थुन्ने गर्दछन् । अझ फोहरमैला व्यवस्थापन गर्ने ठाउँ वरपर बनभोज खान र घुम्ने भन्नासाथै छि।।।छि शब्द निस्किहाल्छ । फोहरैफोहरको पहाड बन्छ तर भीरकोट नगरपालिका एउटा त्यस्तो उदाहरणीय पालिका हो जहाँ फोहर व्यवस्थापन र नजिकै रहेको पार्कबाट राम्रो आम्दानी लिँदै आइरहेको छ ।

आँधीखोलाको किनारमा नगरपालिकाले खरिद गरेको र सार्वजनिक गरी झण्डै ६५ रोपनी जग्गामा भीरकोट सरसफाई केन्द्र तथा पार्क सञ्चालनमा रहेको छ । नगरपालिकाले पार्क र सरसफाइ केन्द्र एकै स्थानमा बनाएसँगै अहिले देशका विभिन्न ठाउँबाट अध्ययन अवलोकन तथा घुम्नका लागि आउने गरेका बताउनुहुन्छ भिरकोट सरसफाइ केन्द्र तथा पार्कका व्यवस्थापक कृष्णप्रसाद अर्याल । “फोहरमैला व्यवस्थापनका क्षेत्रमा समस्या भएका देशका विभिन्न पालिकाहरुबाट व्यवस्थापनका बारेमा अध्ययन अवलोकन गर्न यहाँ आउनुहुन्छ”, उहाँले भन्नुभयो, “यहाँबाट फर्केपछि आफ्नो पालिकामा गएर फोहरमैला व्यवस्थापनको प्रक्रिया थालेको हामीले खबर पाएका छौँ ।”

सरसफाइ केन्द्रको अध्ययन अवलोकन गर्न आउनेहरुका लागि दुई हजार शुल्क लिने गरिएको छ । अन्यत्रबाट यहाँ अध्ययन अवलोकनका लागि आउनुभएका पाहुनाहरुलाई यसको व्यवस्थापकीय पक्षका बारेमा जानकारी दिने गरिएको छ । पार्कमा प्रवेश गर्न प्रतिव्यक्ति रु ५० शुल्क लिने गरेको छ । बनभोजका लागि चार हजार शुल्क लिई पकाउने भाँडाकुँडा तथा ग्यास उपलब्ध गराउँदै आएको व्यवस्थापक अर्यालले बताउनुभयो । नगरपालिकामार्फत नै सञ्चालनमा रहेको पार्कमा विशेष गरी विदाका दिनहरु, चाडबाडका दिनहरु, बिवाह तथा अन्य सभा समारोह तथा सांस्कृतिक कार्यक्रमहरुमा भीड हुने गर्दछ ।

सरसफाइ केन्द्रमा आधुनिक ट्रसहरु, वर्गीकरण गरिएका पुन:प्रयोग हुने फोहरको भण्डारण कक्ष रहेका छन् । यहाँ बजारबाट आएका नकुहिने फोहरहरु तथा सिसाजन्य फोहरहरुको वर्गीकरण गरी पुन:प्रयोगका लागि बिक्री गरिने व्यवस्थापक अर्यालले बताउनुभयो । पार्कलाई थप ब्यवस्थित बनाउने कामहरु भइरहेका छन् । पार्कमा दुबोको हरियाली, रङ्गीविरङ्गी फूलहरु, स्विमिङ पुल, विभिन्न प्रजातिका फलफूल तथा पार्कलाई शोभा दिने अन्य बिरुवाहरु, चमेना गृह, शौचालय, कार्यालय भवन, टिकट काउण्टर, प्रतिक्षालयहरु निर्माण गरिएको छ । चारैतिरबाट पर्खालले घेराबार गरिएको छ ।

किनारैबाट श्रवणकुमारका अन्धाअन्धी बुबआमाको आँसुबाट उत्पत्ति भई बहेको आँधीखोला सुसाउँदै बहेको छ । यसले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउने गर्छ । बजारबाट एकान्त, समथर अनि रमणीय स्थानमा रहेको पार्क पछिल्लो समय आकर्षणको केन्द्रकारुपमा स्थापित हुँदै गएको छ । अघिल्लो आर्थिक वर्षमा सरसफाई केन्द्र तथा पार्कको दश हजारभन्दा बढीले अवलोकन गरेको तथ्याङ्क कार्यालयमा रहेको व्यवस्थापक अर्यालको दाबी छ ।

शान्त र मनोरञ्जनका लागि भिरकोट नगरपालिकाले निर्माण गरेको पार्क उदाहरणीय हुँदै गएको नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले बताउनुभयो । “सरसफाइ केन्द्र र पार्क एउटै ठाउँमा निर्माण गरी सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “भौतिक संरचना निर्माणको चरणमा भएकाले सरसफाइ र पार्क अझै व्यवस्थित हुँदै जानेमा विश्वस्त छौँ ।”

सरसफाइ केन्द्र तथा पार्कमा जग्गा प्रशस्तै भएकाले थप पूर्वाधार निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढिसकेकाले आगामी दिनमा अझै आकर्षकको केन्द्रका रुपमा स्थापित हुनेछ । जसका कारण आम्दानी पनि स्वत:वृद्धि भएर जाने छ । कुहिने, नकुहिने र सिसाजन्य फोहरमैलाको उचित ब्यवस्थापन गरी नगरपालिकाले आम्दानीको स्रोतका रुपमा विकास गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना बताउनुहुन्छ ।

फोहरमैलाको उचित व्यवस्थापन विशेष गरी सहरी क्षेत्रका पालिकाहरुमा चुनौती भइरहँदा भिरकोटले फोहरलाई आम्दानीको स्रोतका रुपमा रुपान्तरण गरेको हो । “फोहोरलाई ब्यवस्थापन गर्न नजान्दा, वर्गीकरण नगरी एकै ठाउँमा सबै प्रकारका फोहोर डम्पिङ गर्दा समस्या हुने हो” उहाँले भन्नुभयो, “कस्तो खालको फोहोर हो, त्यसको वर्गीकरण गरी कुहिनेबाट कम्पोष्ट मल, नकुहिने र सिसाजन्य वस्तुहरुलाई पुन:प्रयोग गर्न सकिने भएकाले बिक्री गरी आम्दानी बाँध्दै आएका छौँ ।”

स्थानीयले घर घरमै कुहिने, नकुहिने र सिसाजन्य फोहोर वर्गीकरण गरेर राख्ने गरेका छन् । नगरपालिकाको एउटा ट्रिपरले आलोपालो कुहिने, नकुहिने र सिसाजन्य फोहोर उठाउँछ । बजारबाट सङ्कलन भएको फोहोरलाई सरसफाई केन्द्रमा लगेर पुन: वर्गीकरण गरी भण्डारण गर्ने र त्यहीँबाट बिक्री गरिन्छ ।

सरसफाइ केन्द्र र पार्कमा गरी हाल १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा फोहोर मैंला बिक्रीबाट रु। छ लाख ६ हजार ३५४, आर्थिक वर्ष २०७८/७९ मा रु। नौ लाख २४ हजार ७६२ र आर्थिक वर्ष २०७९/८० मा फोहरमैला बिक्रीबाट आम्दानी रु १४ लाख ८६ हजार दुई सय ६८ आम्दानी गरेको छ । नगरपालिकाले हालसम्म फोहरमैला बिक्रीबाट मात्रै रु। ३० लाख १७ हजार तीन सय ८४ आम्दानी गरेको छ । पार्कतर्फको प्रवेश शुल्कबाट रु एक लाख ६४ हजार नौ सय १० आम्दानी गरेको उहाँले बताउनुभयो । “छोटो अवधिमा भिरकोट नगरपालिकाले फोहोरमैला ब्यवस्थापनमा फड्को मारेको छ” उहाँले भन्नुभयो, “नगरपालिकाले सञ्चालन गरेको यो काम आफैंमा महत्वपूर्ण र देशमै उत्कृष्ट एवं नमुना भएको दाबी हाम्रो छ ।”

विसं २०७३ मा स्थापना भएको भिरकोट नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ बाट नगरको फोहरमैला व्यवस्थापनका लागि सरसफाइ केन्द्र र पार्क निर्माण कार्य थालेको हो । राष्ट्रिय योजना आयोगको सङ्घीय विशेष अनुदान रु तीन करोड र नगरपालिकाको रु एक करोड गरी रु चार करोड लगानी भएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।

“सरसफाइ केन्द्रको व्यवस्थापन र पार्कलाई थप सौन्दर्यकरण गर्न अझै काम बाँकी छन्”, उहाँले भन्नुभयो, “कुन ठाउँमा कस्तो संरचना निर्माण गर्दा अझै आकर्षक हुन्छ भनेर विज्ञको सहयोगमा योजना बनाइरहेका छौँ ।”

देशका विभिन्न ठाउँबाट हामीले गरेको कामको अवलोकन गर्न आउने गरेकाले थप ऊर्जा मिलेको दाबी उहाँको थियो । बजार वृद्धि हुँदै जाँदा भोलिका दिनमा फोहोरको मात्रा पनि बढ्दै जाने हुँदा अहिलेदेखि नै सोहीअनुसारको पूर्वाधार निर्माण गरी अगाडि बढिरहेको उहाँ बताउनुहुन्छ । सरसफाइ केन्द्र तथा पार्कस्थलमै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि थप पूर्वाधार निर्माणको चरणमा नगरपालिका छ । “सरसफाइ केन्द्र तथा पार्क परिसरमै पर्यटकीय ताल निर्माण गर्दैछौँ”, उहाँले भन्नुभयो, “तालको बीचमा मन्दिर हुने र मन्दिरसम्म पुग्न तथा ताललाई फन्को लगाउन डुङ्गा शयर गर्ने गरी तयारी थालिएको छ ।”

सोही ठाउँमा चार वटा सटरसहितको व्यापारिक भवन निर्माण गरी आम्दानीको स्रोतको रुपमा विकास गर्दै लैजाने योजनामा नगरपालिका छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत रु चार करोडको लगानीमा पूर्वाधार निर्माण हुन लागेको हो । पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन बनाउने क्रममा नगरपालिका रहेको उहाँले बताउनुभयो ।

नगरपालिकाले तालिम दिएसँगै अहिले टोलटोलमा कुहिने, नकुहिने तथा सिसाजन्य फोहरहरु छुट्टाछुट्टै भाँडामा सङ्कलन गर्दै आइएको भिरकोट–१ बयरघारी बजारमा रहेको राधाकृष्ण टोल विकास समितिका संयोजक ढाकाराम खनाल बताउनुहुन्छ । “टोलमा रहेका होटल, पसल तथा अन्य घरबाट निस्कने फोहरलाई घरमै वर्गीकरण गरेर राख्ने गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “घरमा छुट्टाछुट्टै भाँडामा राखिएको फोहरलाई नगरपालिकाको फोहोर सङ्कलन गर्ने गाडी आउँदा त्यसैमा राखिदिन्छौँ ।”

टोलटोलबाट सङ्कलन गरिएको फोहरलाई पालिकाले सरसफाई केन्द्रमा लगेर पुन: वर्गीकरण गरी पुन:प्रयोगका लागि बिक्री गरी आम्दानी लिंदै आएको उहाँले बताउनुभयो ।

“सुरुका दिनमा चोकचोकमा कुहिने, नकुहिने डस्टबिनहरु राखिएको तर डस्टबिन राखेको ठाउँमा नरहने, फुटाइदिने जस्ता क्रियाकलाप भए”, उहाँले भन्नुभयो, “पछि टोलको सक्रियतामा रकम सङ्कलन गरी घरघरमा कुहिने, नकुहिने फोहोर सङ्कलन गर्नकालागि डस्टविन खरिद गर्‍यौं, त्यसपछि सहज भएको छ ।”

कुहिने फोहरलाई डस्टबिनमा सङ्कलन गर्ने र नकुहिनेलाई केही घरले डस्टबिनमै सङ्कलन गर्दै आएका छन् भने केहीले कार्टुन तथा बोरामा सङ्कलन गरी गाडीमा राखिदिने गरेको उहाँले बताउनुभयो । नगरपालिकाले फोहरमैलाबापत घरधनीसँग मासिकरुपमा रकम पनि लिने गरेको छ । नगरपालिकाले आवासीय घरबाट रु एक सय, किराना, फलफूल तथा तरकारी पसल, होटलबाट रु एकसय ५०, सैलुनहरुबाट रु एक सय २५ रकम मासिकरुपमा उठाउँदै आएको छ । रासस