• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   ऊर्जामन्त्री बस्नेत समक्ष विद्युत् नियमन आयोगका अध्यक्षको शपथ ★   निर्मला पन्तको हत्याबारे गृहमन्त्री: नतिजाउन्मुख छौँ ★   प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट ★   काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ★   अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर ★   अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम ★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा ★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे ★   नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह ★   ‘मुन्ज्या’ले १०० करोड कमायो

धादिङबेँसीबाट तिप्लिङ छिचोलियोे सडक सञ्जाल



मलेखु । धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो ।

चार दशकअघिदेखि धादिङको सदरमुकामबाट खन्न सुरु गरेको उक्त सडक बल्ल तिप्लिङसँग जोडिएपछि स्थानीय खुसी भएका छन् । सडक सुविधा पुगेसँगै रुविभ्यालीको मुहार फेरिने आशा पलाएको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताउनुभयो । रुविभ्यालीको सबैभन्दा अग्लो स्थान तीन हजार आठ सय ५० मिटर उचाइमा पर्ने पाङसाङ प्रवेशद्वारसम्म अहिले सडक सुविधा पुगेको छ । विकट बस्ती लब्दुङबाट पुरुसम्म मोटर पुगिसकेको छ भने लापासम्म पुग्ने सडक भने खन्ने प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

धादिङको सदरमुकाम धादिङबेँसीबाट खनियबासको किन्ताङफेदी, रुविभ्यालीको सेर्तुङ हुँदै तिप्लिङको पाङसाङ पास निस्किएर रसुवाको स्याफ्रुबेँसी पुग्न सकिने भएको छ । तीन हजार आठ सय ५० मिटर उचाइमा खनिएको यो सडक जिल्लाकै सबैभन्दा उच्च स्थानमा खनिएको पहिलो सडक हो ।

धादिङ र रसुवाको सिमाना सोम्दाङबाट तिप्लिङसम्म २८ किलोमिटर सडक विभाग, गाउँपालिका र विभिन्न गैरसरकारी संस्थाको रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । सदरमुकाम धादिङबेँसीबाट ७० किलोमिटर सडक भने नेपाल सरकारको लगानीमा खनिएको रुविभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले जानकारी दिनुभयो । सडक पुगेपछि आवतजावतमा त सहज भएको छ नै विकास निर्माणका कामका लागि निर्माण सामग्री ढुवानीमा समेत सजिलो भएको तामाङले बताउनुभयो ।

मोटर चल्ने सडक नहुँदा त्यस क्षेत्रका स्थानीय तीनदेखि चार दिनको पैदल हिँडेर धादिङसम्म आउनुपर्ने बाध्यता रहेकामा अब भने सो बाध्यता हट्ने र एकै दिनमा धादिङको सदरमुकाम आइपुग्न सकिनेछ । पशुपालन र जडीबुटी उत्पादनका लागि राम्रो मानिएको तिप्लिङमा सडक पुगेसँगै अब विकासको लहर आएको आभास स्थानीयले गरेका छन् । सडक सञ्जाल जोडिए पनि सबैखालका मोटर भने जान सक्दैन । धेरै घुम्ती र उकालो–आरालो अत्यधिक भएकाले जोखिम भने थुप्रै छ । खोलामा पुल नहुँदा पानीमै जोखिम मोल्नुपर्ने बाध्यता छ । रासस