४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विपश्यना ध्यान: जीवनमा एकपटक गर्नै पर्ने अलौकिक साधना

साधनाबाट मानिसले शान्ति प्राप्त गर्दछ, सुखी र आनन्दको जिवन निर्वाह गर्न सक्दछ

विपश्यना ध्यान: जीवनमा एकपटक गर्नै पर्ने अलौकिक साधना
अ+ अ-

भगवान् बुद्धले पत्तालगाएर आफैंले गर्नु भएको ध्यानलाई विपश्यना ध्यान भनिन्छ । मानवमात्रमा रहेको विभिन्न प्रकारका दु:ख, क्लेसबाट मुक्ति दिलाउन र चित्तलाई निर्मल बनाउन यो साधना नै उत्तम मानिन्छ ।

भगवान् बुद्धले ज्ञान प्राप्त गरेपछिको ४५ बर्षसम्म मानिसहरुलाई यो शिक्षा दिनुभयो । भगवान् बुद्धको महापरिनिर्वाणको केहि बर्ष पछि यो साधना नेपाल, भारत, श्रीलंका लगायतका देशहरुबाट लुप्त हुँदै गएको तर बर्मामा भने गुरु–शिश्य, गुरु–शिश्य गर्दै पुस्ता पुस्तामा सर्दै यो शिक्षा जिवित रहेको पाइन्छ ।

पुण्य कर्म, शिक्षा, विचार केहि समय लुप्त भए पनि हराएर जाँदैन । बर्मामा जन्मिएका भारतीय मुलका सत्य नारायण गोयन्काले बर्माका बौद्ध गुरु स्यागयी ऊ बा किनबाट विपश्यना ध्यान विधि सिक्नु भएको थियो र वहाँले नै भारतमा यो शिक्षालाई ल्याएर जनस्तरमा पुर्‍याउने काम गर्नु भयो । आज यो अनमोल शिक्षा विश्वव्यापी रुपमा फैलिएको छ ।

गोयन्का ब्यापारी पृष्ठभूमिका मानिस हुनुहुन्थ्यो । वहाँको ब्यापार बर्मादेखि जापान, सिंगापुर, भारत लगायतका विभिन्न देशहरुमा फैलिएको थियो । बर्मामा हिन्दु परिवारमा जन्मेर हिन्दु संघको अध्यक्ष समेत रहनु भएका गोयन्कालाई धर्मशास्त्र, नीतिशास्त्रको निकै राम्रो ज्ञान हुनुका साथै संस्कृत, पाली, हिन्दी, अंग्रेजी लगायतका विभिन्न भाषाको राम्रो अध्ययन गर्नु भएको थियो । वहाँ अचानक एक प्रकारको टाउको दुख्ने रोग (माइग्रेन) को सिकार हुनु भयो ।

एशिया र युरोपका विभिन्न अस्पतालहरुमा उपचार गर्दा पनि ठिक भएन । डाक्टरको सल्लाहमा अफिम जस्तै एक प्रकारको औषधी मर्फिन नियमित रुपमा खानु पर्ने भयो । यसै विच वहाँको एक जना साथीको सल्लाहमा वहाँले स्यागयी ऊ बा किनबाट विपश्यना ध्यान विधि सिक्नु भएको थियो । ध्यान पछि क्रमश: वहाँको रोग निको हुँदै गयो । जसले गर्दा गोयन्कालाई भगवान् बुद्धका ज्ञान र सन्देशहरुमा रुची बढ्दै गयो । गोयन्काले गुरु स्यागयी ऊ बा किनबाट विपश्यना ध्यान विधि १४ बर्ष सम्म सिक्नु भयो र अफै विपश्यना गुरु बनेर कक्षा सञ्चालन गर्न थाल्नु भयो ।

गुरु स्यागयीको निधन पछि बर्मामा रहेको आफ्नो व्यापार, व्यवशाय सबै छाडेर वहाँ भारत फर्कनु भयो र भारतबाट लुप्त भएको त्यो अलौकिक साधनालाई फिर्ता ल्याएर ध्यान केन्द्रहरु खोलेर विश्वव्यापी बनाउनु भयो । हजारौ सहायक गुरुहरु तयार पार्नु भयो भने लाखौंलाई यो साधना गराउनु भयो । आज ९४ देशका ३८० भन्दा बढी केन्द्रहरुमा यो साधना सिकाइन्छ । यो साधनालाई एशियामा भन्दा पनि पश्चिमा देशहरुका साधकहरुले धेरै रुचाएको पाइन्छ ।

विपश्यना ध्यान दिमागको वैज्ञानिक तरिकाले गरिने प्रयोगात्मक व्यायम हो जसले हाम्रो दिमागलाई एकाग्रता प्रदान गर्दछ । यो साधनामा न त कुनै देवी देवताको आकृतिलाई सम्झनु पर्दछ न त कुनै मन्त्रको उच्चारण । भगवान् बुद्धले साधना गरेर जनजनमा पुगेको यो शिक्षाले कुनै धर्म, भाषा, वर्ण, लिंग, देश, संप्रदायको पछि लाग भन्दैन । यो शिक्षाले सबैको सम्मान गर्दछ, समभावले हेर्दछ त्यसैले यो सबैको लागि उपयोगी छ ।

विपश्यना ध्यान कम्तिमा १० दिनको हुन्छ तर पनि ध्यान केन्द्र जाने र छाड्ने दिनमा पनि केहि समय ध्यान गराइने हुँदा विपश्यना ध्यान पुरा गर्न १२ दिन लाग्दछ । ध्यान गर्न जाने सहभागीमा दृढ संकल्प चाहिन्छ । ध्यान अवधिभर आर्य मौनको पालना गर्नु पर्दछ । घर परिवार, आफन्त, साथीभाई, अफिस, कार्यस्थल सबैतिरको सम्पर्क विहिन भएर ध्यान केन्द्रमा नै रहनु पर्दछ । मोवाइल फोन, टेलिभिजन, रेडियो लगायतका सबै खाले सञ्चारका माध्यम, इन्टरनेट लगायतबाट टाढा रहनुका साथै लेख्ने, पढ्ने समेत गर्न पाईंदैन ।

ध्यान शिविरमा नै रहेका सहभागीहरु सँग कुनै पनि किसिमको संवाद, हाउभाउ गर्न पाइंदैन । तर ध्यान सिकाउने सहायक आचार्यसँग र धर्म सेवकहरुसँग अत्यवश्यक विषयमा एकदम छोटो संवाद गर्न सकिन्छ । साधकहरुले विहान ४ बजे उठेपछि राती ९ बजे सम्म अति नै व्यस्त रहेर कठीन साधना गर्नु पर्ने हुन्छ । ध्यान केन्द्रले नयाँ साधकहरुलई दिनको ३ पटक र पुराना साधकहरुलई २ पटक स्वच्छ, सुद्ध, शाकहारी खाना प्रदान गर्ने व्यवस्था मिलाएको हुन्छ ।

आम मानिसहरुको दैनिकी व्यस्त छ, पारिवारिक तथा सामाजिक दायित्वहरु छन् जसले गर्दा यो साधनाबाट पूर्ण रुपमा प्रतिफल पाउनको लागि साधकहरुले ध्यान केन्द्रमा १० दिन सम्म एक भिक्षुको रुपमा अर्काले दिएको खाना खाने र आर्यमौन पालना गर्ने गर्नु पर्दछ ।

हाम्रो मन चन्चल छ । यो चन्चल मन कि त भूतकालका यादहरुमा भाग्दछ अथवा भविश्यको कल्पना तिर । त्यसैले मनमा तनाव छ, वेचैनी छ, अशान्ति छ, ब्याकुलता छ । मनमा वारम्वार वितेका हुन् वा भविश्यका, दु:खका हन् वा सुखका, राम्रा हुन् वा नराम्रा, कल्पना र सपनाका कुराहरु के के आउँछन् के के । हामीसँग सम्पत्ति छ, साधन छ तर पनि दु:खी हुन्छौं । यो मनलाई शान्त र एकाग्र बनाउन धेरै कठिन हुन्छ ।

मनको यो रोगको कारण थाहा पायौं भने यसलाई अवस्य हटाउन सकिन्छ । रोगको कारण पनि मनको विकार हो । मनका विकारहरुबाट मुक्त हुन सकेमा, शुद्ध भएमा, निर्मल भएमा दु:ख, अशान्ति, वेचैनी रहँदैन । चित्त निर्मल भए पछि कसै प्रति ईष्र्या वा द्वेष उठ्दैन । निर्मल चित्त अरुप्रतिको मायाले, करुणले, मुदिताले, समताले भरिएर आउँछ । त्यही नै कल्याणको मार्ग हो, जुन विपश्यना साधनाबाट संभव छ ।

“बुद्धं शरणं गच्छामी, धमं शरणं गच्छामी, संघं शरणं गच्छामी“ बुद्धधर्मका तीन रत्न हुन् । विपश्यना साधना सुरु भएसँगै साधकहरु यी तीन रत्नहरुको शरणागति हुन्छन् । त्यस्तै साधकहरुले पञ्चशील (प्राणी हत्या हिंसा नगर्ने, झुटो नबोल्ने, चोरी नगर्ने, जाँड, रक्सी, चुरोट लगायतका नशालु पदार्थ सेवन नगर्ने र व्यभिचार नगर्ने) को पालना गर्नु पर्दछ । साधनाको क्रममा चार आर्य सत्यहरु: दु:ख सत्य छ र दु:खको बोध, दु:खको कारण छ जुन आशक्ति र अविद्या हो भन्ने बोध, दु:खको निवारण गर्न सकिन्छ र दु:खको निवारणको लागि आर्य अष्टांगिक मार्गको बोध र पालनाबाट संभव छ भन्ने कुराको अनुभूति पनि गराइन्छ । शीलको पालना नै साधनाको आधार हो । शीलको निष्ठा पूर्वक पालना गरे पछि सम्यक समाधि प्राप्त गर्न र प्रज्ञा जगाउन सहज हुन्छ ।

साधनाको क्रममा आफूलाई चिन, वर्तमानमा बाँच, आफ्नो जीवन चल्ने श्वास–प्रश्वासको प्रक्रिया र सरीरमा भएका संवेदनाहरुको बारेमा सचेत रहनु पर्दछ भनी सिकाइन्छ । पहिलो ४ दिन सम्म नाकको प्वालबाट सास भित्र वाहिर गर्ने प्रकृयालाई एकाग्रताका साथमा हेर्न र अनुभव गर्न सिकाइन्छ । यसलाई आनपानसती भनिन्छ । सास र मनमा आउने विकार विच गहिरो सम्बन्ध हुन्छ । जव–जव मनमा क्रोध उठ्छ, भय आउँछ, वासना आउँछ, हाम्रो सासको चाल तेज हुन जान्छ । जव विकार कम हुँदै जान्छ तब सास सुस्त, मन्द र साधारण चालमा नै फर्किन्छ ।

त्यसपछिका वाँकि दिनहरुमा तालुमा केन्द्रित हुने, शिर देखि पाउ र पाउ देखि शिर गर्दै सरिरका कुनै पनि भागलाई नछुटाइ हेर्ने र ती भागहरुमा हुने विभिन्न प्रकारका संवेदनाहरुलाई महशुस गर्ने गरिन्छ । कुनै पनि संवेदनाहरुलाई अनुभव गर्दै गर्दा सजग रहने, साक्षी भावले हेर्ने, कुनै किसिमको प्रतिक्रिया नगर्ने, समभावलाई कायम राख्ने गरिन्छ । मानिस जन्मेर आँखा खोलेदेखि नै बाहिरी संसार हेर्ने र रमाउने हुँदै आयो तर अन्तरमुखी भएर अफैंलाई हेर्ने, अनुभूति गर्ने काम यो साधनाले गराउँछ । साधनाले वर्तमानमा जिउन सिकाउँछ ।

साधनाको अर्को प्रमुख भाग वेलुका ७ बजे देखि करिव डेढ घण्टाको प्रवचन पनि हो जसले साधकहरुलाई उर्जा प्रदान गर्दछ । हिन्दी वा अंग्रेजी भाषामा सत्यनारायण गोयन्काले दिनु भएको प्रवचनको भिडियो हेर्न सकिन्छ, नेपाली, नेवारी लगायत अन्य भाषामा अनुवादित श्रव्य सामाग्री पनि सुन्न सकिन्छ ।

भौतिक वस्तुहरु प्रतिको आशक्ति, आफु नै ठिक अरु सबै गलत भन्ने सोच, वितेका र भविश्यका राम्रा र पिडादायी घटनाहरुको सम्झना, सुखद कुरामा रमाई रहने र दु:खमा चिन्तित हुने जस्ता कुराहरु नै मानिसका दु:खका कारणहरु हुन् । सुख–दु:खका सबै अवस्थामा समान दृष्टि राख्न सक्नु, समान व्यवहार गर्नु, विचलित भएर कसै प्रति द्वेष नराख्नु, खुसी भएर राग बढ्न नदिनु, कुनै पनि कुरामा तुरुन्त प्रतिक्रिया नदिनु, सोचेर, सम्झेर मात्र बोल्ने गर्नाले जिवन सुखमय बन्छ र समाज पनि राम्रो बन्दछ भन्ने कुरा प्रवचनमा पाउन सकिन्छ ।

यो साधना भनेको आफ्नो स्वभावलाई बदल्ने अभ्यास पनि हो, जसको लागि समय र धैर्यता चाहिन्छ । जिवनमा आउने कठिनाईहरु, अड्चनहरुको सामना गर्नु पर्दछ । यस क्रममा पाँचवटा वाधाहरु, सत्रुहरु छन् । त्यसलाई चिन्न जरुरी छ । राग (घमण्ड), द्वेष (ईष्र्या), आलस्य, वेचैनी र सन्देह, शंका नै पाँच दुश्मन हुन् । यी पाँच दुश्मनबाट बच्न, सचेत रहन र सजग भएर काम गर्नु पर्दछ । त्यसै गरी हामीसँग पाँच ठूला मित्रहरु पनि छन् । ती हाम्रालागि बलशाली हुन्छन् ।

श्रद्धा, भक्ति र विश्वास पहिलो मित्र हुन् भने प्रयत्न, पुरुषार्थ, पराक्रम दोश्रो । त्यस्तै तेश्रो मित्र जागरुकता, सावधान हो भने समाधि चौथो मित्र हो । क्षण–प्रतिक्षण मात्र होइन जुनसुकै वेला पनि जागरुक रहनु नै सम्यक–समाधि हो । त्यस्तै पाचौं मित्र हो प्रज्ञा । हामीमा भएको सबै मैलो पखाल्ने, दु:खबाट छुट्करा दिने नै प्रज्ञा हो । जिवनमा तलमाथि त भई नै रहन्छ । मनको समतालाई कायम राख्ने, सुखद् र दुखद् दुवै संवेदनाहरु अनित्य हुन्, द्रष्टा भावले अनित्य स्वभवालाई हेर्न सक्नु नै प्रज्ञा जाग्नु हो । सारा संसार अनित्य छ, परिवर्तनशील छ, उत्पन्न हुन्छ, नष्ट हुन्छ ।

विपश्यना ध्यान जिवनमा कमसेकम एकपटक गर्नै पर्ने साधना हो । यो साधना त आत्मा दर्शनको, स्व–दर्शनको साधना हो । जति नै व्यस्त भए पनि, गहन जिम्मेदारी भए पनि १२ दिन छुट्याएर विपश्यना ध्यानमा जाँदा जे कुरा पाउन सकिन्छ त्यो कुनै प्रवचन सुनेर, शैक्षिक डिग्री वा तालिम लिएर, किताव पढेर वा अन्य कुनै कुराबाट प्राप्त गर्न सिकंदैन । यो साधनामा कुनै पनि किसिमको अन्धविश्वास वा कल्पनाको कुरा गरिंदैन । यो त बोधिको मार्ग हो, सत्यको मार्ग हो, ज्ञानको मार्ग हो, आफै तप्ने र मनलाई निर्मल बनाउने पुरुषार्थको मार्ग हो । जिवन जिउने मार्ग हो ।

विपश्यना साधनालाई जनजनमा पुर्‍याएर विश्वव्यापी बनाउनु हुने गुरु गोयन्का त भौतिक रुपमा यो संसारमा हुनुहुन्न । तर पनि वहाँबाट दिक्षित भएका स्वयंसेवी सहायक शिक्षकहरुले यो साधनालाई जिवन्त राख्नु भएको छ । संसारभरीका सबै विपश्यना केन्द्रहरुमा सहायक शिक्षकहरुले गुरु गोयन्काले सिकाउनु भएको ध्यानका विधिहरुको श्रब्य सामाग्री बजाएर साधकहरुलाई ध्यान सिकउने गर्नु हुन्छ । साधकहरुमा कुनै प्रश्नहरु भएमा निश्चित समयमा सहायक शिक्षकहरुसंग सोधेर लाभ लिन सक्दछन् ।

यो साधनाको लागि १२ दिन सम्म खाने, बस्ने, ध्यान गर्ने सबै नि:शुल्क रुपमा प्रबन्ध गरिएको हुन्छ । अर्काको सित्तैमा खानु, सित्तैमा कुनै पनि सेवालिनु हुँदैन भन्ने पूर्वीय मान्यता हो । त्यस्तै आफूले सित्तैमा त्यस्तो अलौकिक साधना गरियो भने यो परम्परा जिवित रहनु पर्दछ र आर्थिक रुपमा कमजोर भएकाहरुले पनि यो साधना गर्न पाउनु पर्छ । साधनाको १० दिन पछि जव आर्यमौन तोडिन्छ सबैमा एउटा छुट्टै अनुभव हुन्छ । साधकहरुलाई आफ्नो इच्छा र गच्छे अनुसारको रकम दान गर्न सक्ने व्यवस्था मिलाइएको हुन्छ ।

सन् २००२ तिर बौद्ध पर्यटन र लुम्विनीको विषयमा मैले विद्यावारिधि गर्ने कार्य थाले देखि नै विपश्यना ध्यानको बारेमा पढ्दै, सुन्दै आएको विषय थियो तर पनि १२ दिनको समय निकालेर साधनामा बस्ने अबसर भने जुटाउन सकेको थिइन । छोटो अवधिको विपश्यना ध्यानको परिचय कक्षा लिने अवसर भने मिलेको थियो । यसै गरी बाबा रामदेवको ध्यान, राजयोग (ओम शान्ति), ओशोको ध्यान लगायतका विभिन्न ध्यानहरुको पनि अनुभव बटुल्ने अवसर मिलेको नै थियो ।

विगत २४ बर्ष देखि दैनिक रुपमा ध्यान गर्ने, स्कुलका प्रिन्सिपलहरु, शिक्षकहरु, व्यवशायीहरु, नेपाल सरकारका कर्मचारीहरु, स्थानीय निकायका पदाधिकारीहरु लगायतलाई मैले सञ्चालन गरेका तालिम, कार्यशालाहरुमा केहि समयको लागि ध्यान गर्न लगाउने गर्दै आएको पनि हो । बौद्ध पर्यटन कै विषयमा जापानबाट पोष्टडक्टरेल पनि गरें, धेरै लेखहरु पनि प्रकासित गरें तर पनि १० दिनको विपश्यना ध्यान नलिंदा सम्म मलाई अपूर्ण छु भन्ने लाग्दै आएको थियो ।

हाल अमेरिकामा रहनु हुने मकर पोख्रेल दाजुले पनि बारम्बार यो साधना गर्न हौसला प्रदान गर्दै आउनु भएको थियो । संयोग नै मान्नु पर्दछ कि ३ महिनाको अन्तरालमा एकाघरका हामी (म, मेरी श्रीमती शारदा र भाई दिपक) ले यो साधनामा सहभागी हुन मौका पायौं जसले गर्दा घरमा नै संघको निर्माण हुन पुगेको छ । केहि समयको लागि विहान मात्र ध्यान गर्दै आएको थिएँ । तर विपश्यना ध्यान सकेर आए पछि हामी दुवै जनाले हरेक दिन नियमित रुपमा विहन वेलुका सकेसम्म १ घण्टा अन्य अवस्थामा अलि कम समय ध्यान गर्दै आएका छौं । साथै अन्य फुर्सदको समयमा पनि ध्यान गर्ने र गोयन्का गुरुका प्रवचनहरु सुन्ने दैनिकी नै बनेको छ । समय मिल्दा आफ्नै घर वा अन्य विपश्यना साधकहरुकोमा सामूहिक विपश्यना ध्यान गर्ने लक्ष समेत रहेको छ ।

साधनाले सबैलाई दिने लाभ एउटै हो । तर पनि साधकले आर्यमौन कत्तिको पालना गर्‍यो, निष्ठा पूर्वक साधना गर्‍यो कि गरेन, पहिलो पटक सहभागी हो कि दोश्रो वा धेरै पटक जस्ता विविध कुराहरुले पनि प्रभाव पार्ने गर्दछ । धेरैलाई साधना पुरा गरेपछि जिउ नै फुर्तिलो हुने, मस्तिष्क चंगा हुने, नयाँ जोश र जाँगर भरिएर आउने, मनमा रहेको अनुत्तरित धेरै प्रश्नहरुको उत्तर मिलेको अनुभूति हुने गर्दछ ।

सुख, दु:ख, धन सम्पत्ति, बैभव, अभाव, प्रशंसा, प्रतिष्ठा, निन्दा, अपहेलना जस्ता सबै घटनाहरु अनित्य छन्, परिवर्तनशील छन् भन्ने अनुभूति हुन्छ । यस साधनाबाट मानिसले शान्ति प्राप्त गर्दछ, सुखी र आनन्दको जिवन निर्वाह गर्न सक्दछ । दिमागमा भएका सारा विकारहरुलई सफा गरेर आफ्नो मनलाई निर्मल बनाउन सक्दछ । यस्तो अलौकिक साधनाबाट सबैको कल्याण होस् । स्वस्ती मुक्ति होस् । भबतु सब्ब मंगलम् ।