३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.56

Wind: 4.12

Humidity: 31

Latest
फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैनः प्रचण्ड नाईट क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु हत्या गरेको अभियोगमा पक्राउ निजीकरण विधेयक सार्वजनिक संस्थानहरुलाई कौडिको भाउमा बेच्न ल्याइएको होइनः अर्थमन्त्री पौडेल ‘निजीकरण (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत राष्ट्रपतिबाट चार विधेयक प्रमाणीकरण गृहमन्त्री लेखकले गरे भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय यस्तो रहस्यमयी ठाउँ, जहाँ पुगेपछि अचानक गायब हुन्छन् विमान ! चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक, सामाजिक कथामा हरर र थ्रिलको मिश्रण लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई धान भित्र्याउन चटारो



अ+ अ-

ढोरपाटन । यहाँका किसानलाई धान भित्र्याउन चटारो परेको छ । उनीहरुलाई खेतभरि पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पिर समेत परेको छ । आकाशमा बादल मडारिँदा किसान चिन्तत हुन्छन् । यतिबेला पश्चिम बागलुङका किसानलाई दसैँ मनाउनभन्दा बढी धान भित्र्याउन भ्याइनभ्याइ छ । दसैँ र धान भित्र्याउने समय एकैपटक पर्दा किसानलाई चाडबाडकोभन्दा खेती स्याहार्ने चटारो बढी छ ।

गत असारमा लगाइएको धान असोज अन्तिम साता भित्र्याउने समय भए पनि निरन्तर वर्षा हुँदा खेतमै रहेको थियो । निसीखोला गाउँपालिका–४ का केशर पौडेलले अब वर्ष भए धानबालीमा ठूलो क्षति हुने जनाउँदै अहिले भित्र्याउन भ्याइनभ्याइ भएको बताउनुभयो । गत असोज २९ गतेसम्म ठूलो वर्षा भएको हुँदा धान भित्र्याउन नसकिएको भन्दै केही दिनदेखि पानी नपरेको हुँदा खेताला लगाएर धान काट्ने र भित्र्याउनतर्फ लागेको बताउनुभयो । आफूले मार्सी जातको धान लगाएको हुँदा छिटो पाकेको पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस वर्ष अलि ढिला आयो दसैँ, पोहोरपरार सालमा त यतिबेला तिहार आउँथ्यो, दसैँ सकेर धान भित्र्याउथ्यौँ, पानीले पनि त्यत्ति धेरै दु:ख दिएको थिएन, अहिले त धान काट्ने बेला ठूलो वर्षा भयो, केही दिनुभयो पानी परेको छैन त्यही भएर धेरै किसान धान काट्ने र भित्र्याउनमा व्यस्त छन्, अब बारीमा गहुँ पनि छर्ने समय भयो, एकैपटक धेरै काम गर्नुपर्छ, यो समय कामकै चटारो हुने भएको हुँदा दसैँ पोहोरपरार सालको जस्तो फुर्सदिलो नहुने भयो ।”

अर्का किसान निमबहादुर क्षेत्रीले असोज दोस्रो साता धान काट्ने तयारी गरेको तर वर्षका कारण रोकिएको बताउनुभयो । पानी बिदो (वर्षा रोकिन) भएका बेला अर्मपर्म गरेर धान काट्न थालेको उहाँले बताउनुभयो । धान काटेको दुई दिनमा छाट्ने र भित्र्याउने भएको हुँदा धेरै किसान यति बेला खेतमा व्यस्त भएको क्षेत्रीको भनाइ छ । यस वर्ष समयमै वर्ष भएको हुँदा धान पनि राम्रो उत्पादन भएको भन्दै समयमै नभित्र्याए असिनाले नोक्सान गरिदिन सक्ने उहाँ बताउनुहुन्छ ।

निसीखोला क्षेत्रमा अन्य ठाउँको तुलनामा छिटो रोपाइँ हुनेहुँदा धान पनि छिटो नै पाक्ने गर्छ । यहाँका किसानले मार्सी, जडन, जेठो बुढोलगायतका जातको धान लगाउने गर्दछन् । जडन जातको धान अलि ढिला पाक्ने किसानको भनाइ छ । बागलुङमा हरेक वर्ष धान उत्पादन गर्ने क्षेत्रफल बढ्दै गएको छ । कृषि ज्ञानकेन्द्र बागलुङका अनुसार गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ भएको छ । जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ । रासस