१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप: भारतसामु अफगानिस्तान निरिह, आठ विकेटले पराजित



अ+ अ-

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा भारतले अफगानिस्तानलाई आठ विकेटले पराजित गरेको छ । यो जितसँगै भारतले लगातार २ खेल जितेर ४ अंक जोडेको छ भने अफगानिस्तान लगातार दुई खेलमा पराजित भएको छ ।

पहिले ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई २७३ रनको लक्ष्य दिएको थियो । दिल्लीस्थित अरुण जेटली मैदानमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७२ रन जोडेको थियो । जवाफमा भारतले ३५ ओभरमा २ विकेट गुमाइ लक्ष प्राप्त गरेको थियो

अफगानिस्तानका लागि कप्तान हसमतुल्लाह शाहिदीले ८८ बलमा ८० रनको योगदान दिए । यस्तै, अजमतुल्लाह ओमारजाईले ६९ बलमा ६२ रनको योगदान दिए । रहमानुल्लाह गुरबाजले २१, इब्राहिम जद्रानले २२, रहमत शाहले १६, मोहम्मद नाबीले १९, राशिद खानले १६ रन जोड्दा मुजीब अर रहमान १० रन तथा नवीन उल हक ९ रनमा अविजित रहे ।

भारतका लागि जसप्रित बुमराहले चार विकेट लिँदा हार्दिक पाण्ड्याले दुई तथा शार्दुल ठाकुर र कुलदीप यादवले एक–एक विकेट लिए ।

दिल्लीको ब्याटिङ पिचमा भारतले सुरुदेखि नै आक्रामक रुपमा खेलेको थियो । भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले १३१ रन बनाए । ८४ बल सामना गरेका रोहितले पाँच छक्का र १४ चौका प्रहार गरेका थिए । उनी अफगानी बलर रशिद खानको बलमा बोल्ड आउट भएका थिए ।

अर्का प्रारम्भिक ब्याट्सम्यान इशान किसनले पनि ४७ रन बनाए । उनी पनि रशिद खानकै बलमा क्याचआउट भएका थिए । उनले २ छक्का र ५ चौका प्रहार गरेका थिए ।

बिराट कोहलीले ५५ रन बनाए भने श्रेयस ऐरले २५ रन बनाए ।

अंक तालिका

१. न्यूजील्यान्ड :  २ खेल – ४ अंक

२. भारत   : २ खेल – ४ अंक

३. पाकिस्तान : २ खेल – ४ अंक

४. दक्षिण अफ्रिका : १ खेल – २ अंक

५. इङल्यान्ड  : २ खेल – २ अंक

६. बंगलादेश  : २ खेल – २ अंक

(अंकविहीनः  अस्ट्रेलिया, अफगानिस्तान, श्रीलंका, नेदरल्यान्ड्स)

नियम अनुसार, सबैभन्दा बढी अंक प्राप्त गर्ने चार टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

 

बिहीबारकाे खेल

अस्ट्रेलिया vs दक्षिण अफ्रिका

( समयः २.१५ बजे, दिवारात्रि )