९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड

अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड
अ अ+ अ-

काठमाडौँ । सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ ।

सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो । यतिबेला सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले आएकाहरु घरजानका लागि टिकट काट्न नयाँबसपार्कमा जम्मा भएका छन् ।

नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले दुई दिनमा झण्डै ४० हजार अग्रिम टिकट बुकिङ भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार असोज २२ गते २४ हजार तीन सय ४० र असोज २३ गते १५ हजार २५ टिकट बुकिङ भइसकेको छ ।

असोज २२ गते बुकिङ भएका टिकटमध्ये कोसी, मधेस र बागमती प्रदेशका लागि एक हजार दुई सय ३०, गण्डकी प्रदेशका लागि नौ सय ७५, लुम्बिनी प्रदेशका लागि १३ हजार पाँच सय ३५, कर्णाली प्रदेशका लागि एक हजार सात सय र सुदूरपश्चिम प्रदेशका लागि छ हजार नौ सय टिकट बुकिङ भएको छ ।

यस्तै, असोज २३ गते कोसी, मधेस र बागमती प्रदेशका लागि एक हजार एक सय ७०, गण्डकी प्रदेश पाँच सय, लुम्बिनी प्रदेश सात हजार पाँच सय ३५, कर्णाली प्रदेशमा एक हजार छ सय २० र सुदूरपश्चिम प्रदेशमा चार हजार दुई सय टिकट बुकिङ भएको छ ।

सरकारले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधनको टिकट खुला गरेको हो । पश्चिम नेपालको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, रोल्पा तथा पूर्वी नेपालको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

लामो समयदेखि काठमाडौँदेखि धनगढीसम्म डिलक्स बस चलाउँदै आउनुभएका वर्दियाका रामानन्द थारु बाटोको कारणले बसलाई ओहोरदोहोर गर्न समस्या भएको बताउनुहुन्छ । “विभिन्न ठाउँमा बाटो विग्रँदा भनेको समयमा बस गन्तव्यस्थल पुर्‍याउन सकिँदैन”, उहाँले भन्नुभयो ।

काठमाडौँदेखि दाङसम्म सवारी सञ्चालन गर्दै आउनुभएका घोराहीका चेतनाथ भट्टपनि पानीको कारण बाटो खाल्डाखुल्डी हुँदा आवतजावतमा समस्या भएको बताउनुहुन्छ । “बाटो राम्रो भए यात्रुलाई ओसार्न समस्या हुँदैन, बाटो राम्रो नहुँदा बसहरु सञ्चालनमा समस्या भएको छ”, उहाँले भन्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्नुहुन्छ । राजमार्ग बिग्रिएको कारण काठमाडौँ आउजाउ गर्न बसलाई समस्या पर्नसक्छ, तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन”, उहाँले भन्नुभयो । सरकारले दसैँका लागि देशका सबै क्षेत्रको यातायातको लागि ‘रोड परमिट’ यही असोज २६ गतेदेखि खुला गर्ने निर्णयसमेत गरिसकेको छ ।

असोज २३ गते यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा बसेको सरोकारवाला निकायको बैठकले यही असोज २६ गतेदेखि कात्तिक ८ गतेसम्म खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी साधनहरु उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

उक्त बैठकले पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग अन्तर्गत कावासोती, चोरमारा, दाउन्ने सडक खण्ड र पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत कोत्रेबाट २१ किमि काठमाडौँतर्फको सडक सवारी साधन सञ्चालन गर्न सहज हुने हिसावले सडक विभागबाट तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो ।

यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले बताउनुभयो । यस सङ्घीय राजधानी काठमाडौँबाट दसैँ मनाउनका लागि २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

उपत्यकामा सुरक्षा योजना
दसैँको समयमा हुने आपराधिक घटनालाई रोक्नका लागि प्रहरीले नयाँबसपार्क क्षेत्रमा छुट्टै सुरक्षा योजना बनाएर लागू समेत गरिसकेको छ । प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक दिनेश गुरुङले बसपार्कमा हुने आपराधिक घटना न्यूनीकरणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउनुहुन्छ ।

प्रहरीले दुई दिनमा नयाँ बसपार्कभित्र आपराधिक क्रियाकलापमा सङ्लग्न पाकेटमार, हुलहुज्जत गर्ने, ठगी, लुटपाटलगायतका घटनामा सङ्लग्न १७ जनालाई नियन्त्रणमा लिएर कारबाही समेत गरिसकेको छ । त्यस्तै, प्रहरीले बढी भीडभाड हुने स्थानलाई लक्षित गरी ड्रोन, वडीवान, गोप्रो क्यामराबाट समेत सुक्ष्म अनुगमन गर्नेछ । दसैँमा सुरक्षाका लागि नयाँ बसपार्कमा थप प्रहरी जनशक्तिसमेत तैनाथ गरिसकिएको छ ।

यस्तै, ट्राफिक प्रहरीले विभिन्न निकायसँगको सहकार्यमा चाडपर्व लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट यात्रु सहायता कक्ष १३ स्थानमा राखिएको बताउनुहुन्छ । “अहिले उपत्यकाका विभिन्न स्थानमा १३ वटा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ, आवश्यक परेमा अन्य स्थानमा समेत थप गर्न सकिन्छ”, उहाँ भन्नुहुन्छ । रासस