• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सरकारले ल्याएको विद्युत विधेयकलाई परिमार्जन गर्नुपर्छ: रमेश लेखक



काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदमा पेश गरेको विद्युत विधेयक–२०८० लाई परिमार्जन गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा उहाँले नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले सो विधेयक परिमार्जन गर्नुपर्ने बताउनुभएको हो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र वैदेशिक लगानी बढाउने काममा पनि सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘यो विधेयकलाई परिमार्जन गर्न, समृद्ध बनाउन आवश्यक छ भन्ने म आग्रह गर्न चाहन्छु । यो विधेयकलाई सार्वजनिक क्षेत्रलाई अलि बढी महत्व दिएर निजी क्षेत्रलाई कमजोर आँकलन गरेको हो कि भन्ने आशंका गरिएको छ । यसतर्फ हामीले गम्भिरतापूर्वक हेर्नुपर्ला । र सरकारी र निजी क्षेत्र दुवैलाई यो काममा संलग्न गराउनु पर्ला विद्युत उत्पादनका लागि । यतातर्फ हेर्नुपर्ला भन्ने आग्रह गर्न चाहन्छु । दोस्रो विषय, विद्युतको सन्दर्भमा, यसको उत्पादनको सन्दर्भमा वैदेशिक लगानीलाई आकर्षण गर्न जरुरी छ । र, साथसाथै आन्तरिक तथा निजी लगानी अहिलेसम्म जुन भएको छ । त्यसको सुरक्षाको पनि आवश्यक्ता छ । र, सम्भावनाहरुलाई पनि हामीले जोड दिन आवश्यक छ ।’

‘अहिले हामीले जति विद्युत उत्पादन गरिराखेका छौं । त्यसको पनि ठूलो हिस्सा निजी क्षेत्रले उत्पादन गरेको छ । र, अहिले जो निर्माणधिन योजनाहरु रहेका छन् । त्यसको पनि ठूलो क्षेत्र निजी क्षेत्रले ओगटेको छ । त्यसो हुनाले सरकारले पनि आफ्नोतर्फबाट उत्पादन र प्रशारणको काम गरोस् । र, निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्दै लिएर जाओस् भन्ने नीति हामीले अवलम्वन गर्नुपर्छ भन्ने मलाइ लाग्दछ । तेस्रो कुरा नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत उपलब्धताको ग्यारेन्टी सरकारले गर्न जरुरी छ । त्यसो भएको हुनाले यी विषयमा गम्भिरतापूर्वक ध्यानाकर्षण गर्न जरुरी छ । र, विधेयक राम्रो आएको छ । सरकारले राम्रो पहल, प्रयत्न गरेको छ । यसलाई थप परिमार्जन गर्नका निम्ति, समृद्ध बनाउनका निमित्त, यसलाई गम्भिरतापूर्वक छलफल गरेर, यसमा केही संशोधनहरु गरेर, परिमार्जन गरेर अघि बढनुपर्छ भन्ने आग्रह गर्न चाहन्छु । ’

प्रमुख सचेतक लेखकले सरकारले विधेयक राम्रो ल्याएको र त्यसलाई गम्भिरतापूर्वक छलफल गरेर अघि बढाउनुपर्ने बताउनु भयो ।