१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीले सुन तस्करीलाई ढाकछोप गर्न खोजे: अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुन तस्करी प्रकरणलाई ढाकछोप गर्न लागेको आरोप लगाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणलाई ढाकछोप गर्न लागेको बताउनुभएको हो । उहाँले भेपमा तस्करी भएको ९ किलो सुन र अर्को १०० किलो सुन तस्करी प्रकरणलाई गृहमन्त्रीले ढाकछोप गर्न लागेको बताउनुभएको हो ।

उहाँले गृहमन्त्रीले छानबिन आयोग समेत बनाउन नचाहेर स्वतन्त्र र निष्पक्ष छानविन सँग डराएको आरोप लगाउनुभयो । सरकारले सुशासनको अभियान सुरु गरेको बताउने गरेको भन्दै सुशासन कायम गर्नु सरकारको नियमित कर्तव्य भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘गृहमन्त्रीजीले हेटौँडामा गएर उधुम नै खोक्नुभयो । सुशासनको अभियान चलाएको त्यसलाई रोक्न संगठित रुपमा विरोधीहरु लागेका छन् । कुन विरोधी लागे तपाईको सुशासन रोक्न ? साडे ९ किलो सुन भेपमा पक्राउ पर्छ तपाई ढाकछोप गर्न लाग्नुुहुन्छ । १०० किलो सुन पक्राउ पर्छ, ढाकछोप गर्न लाग्नुहुन्छ । छानविन गर्न आयोग बनाउ न भन्दा एक महिनासम्म लडाइँ गर्नुपर्छ । छानविन गर्दा के बिग्रिन्थ्यो महाशय तपाईको ? किन आत्तिनुभएको स्वतन्त्र, निष्पक्ष छानविनसँग ? गफ दिनुहुन्छ हेटौँडा गएर ? सुशासनको अभियान ।’

‘सुशासन सरकारले निरन्तर कायम गर्ने हो कि अभियान हो सुशासन ? सुशासन अभियान हो ? सुशासन भनेको सरकारको नियमित कर्तव्य हो । नियमित काम हो । सरकारले शान्ति, सुरक्षा दिनुपर्छ । भ्रष्टाचार रोक्नुपर्छ । कमिशनतन्त्र रोक्नुपर्छ । घुस रोक्नुपर्छ । प्रतिपक्षले सुशासनको अभियान चलाउन दिएन संगठित रुपले विरोध गर्‍यो भनेर । म प्रश्न गर्न चाहान्छु, एयरपोर्टमा किन पक्राउ परेन सुन ? सुन आएको आएकै छ तर आवश्यक परेका बेला हाजिर हुनेछ भन्ने कागज गराएर मान्छे भगाउ, सामान लुकाउ, छिटो गर, जाउ भनेर पठाइयो । सुनिल शर्मा निर्वाचित जनप्रतिनिधिको सर्टिफिकेटमा शंका लाग्यो भनेर थुनामा राखियो । एक क्विन्टल सुन तस्करी गरेको मान्छेलाई पुर्‍याउने बित्तिकै थपक्कै छोडियो किन ? म गृहमन्त्री ज्यूलाई सोध्न चाहान्छु के यही हो अभियान ? सुशासनको अभियान भनेको यही हो ? राजनीतिको अपराधीकरणतर्फ मोडिएको छ ।’

उहाँले सरकार चरम अनुत्तरदायी र गैर जिम्मेवार भएको बताउनु भयो । सरकारले संविधान दिवसको अवसर पारेर मुस्कान खातुनलाई एसिड हान्ने व्यक्तिको कैद मिनाहा गरेको भन्दै आपत्ति जनाउनु भयो । त्यस्तै नेपालगञ्जमा हत्या अभियोगमा कारागारमा परेका रिगल डन भनिने योगराज ढकाललाई पनि उन्मुक्ति दिएको प्रति ओलीले आपत्ति जनाउनु भयो । सरकारले सांसदहरुलाई विभिन्न बहानामा तर्साउन खोजिरहेको उहाँको भनाई छ । अध्यक्ष ओलीले सरकारले राष्ट्रिय स्वाभिमान र गौरव बिरोधी, संविधान बिरोधी, राष्ट्रहीत र जनबिरोधी काम गरिरहेको पनि बताउनु भयो ।