२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव



अ+ अ-

बेदको । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुसार हात्ती नहुँदा नियमित गस्ती गर्न समस्या हुने गरेको सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिनुभयो ।

“दरबन्दीअनुसार पूर्ण हात्ती आवश्यक पर्छ, बर्खामा हात्तीकै भरमा गस्ती हुन्छ”, उहाँले भन्नुभयो, “बर्खामा झाडी, तालतलैया तथा बाटो बिग्रिने भएकाले निकुञ्जको सबै ठाउँमा हिँडेर जान सकिँदैन, त्यसबेला हात्तीकै प्रयोग हुन्छ ।”

उहाँका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दशवटा हात्तीको दरबन्दी छ । अहिलेसम्म दरबन्दीअनुसार पूर्ण हात्ती निकुञ्जले पाउन सकेको छैन । भएकै हात्ती पनि अशक्त र छावा भएपछि निकुञ्जभित्रको नियमति गस्तीमा समस्या उत्पन्न हुने गरेको छ । हाल यहाँ दुई छावासहित चार भाले र चार पोथी गरेर आठवटा हात्तीमात्रै छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सबैभन्दा पुरानो हात्ती रुपकली हो । उसको उमेर ६० वर्षभन्दा बढी छ । शुक्लाकली नामक हात्तीले पाँच/छ महिनाअघि ९श्रुतिकली० छावा जन्म दिएकी थिइन् । गत वर्ष चितवन राष्ट्रिय किुञ्जबाट नारायणीकली नामक हात्तीसँगै छावा संसचन्दगढलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा ल्याइएको थियो ।

संसचन्दगढसँगै नारायणप्रसाद, लवप्रसाद र सिद्धप्रसाद यहाँका भाले हात्ती हुन् । “रुपकली बूढो भइसक्यो, दुई छावा र तिनको माउलाई गस्तीमा लगिदैन”, संरक्षण अधिकृत ऐरले भन्नुभयो, “२०–२२ वर्षका तीनवटा हात्तीलाई गस्तीमा लैजान्छौँ, बर्खामा निकुञ्जको सबै क्षेत्रमा पुग्न गाह्रो हुन्छ ।”

निकुञ्जभित्र पिपरैया पोष्टमा पाँच, शुक्लाफाँटा पोष्टमा दुई र मालुमेला पोष्टमा एक हात्ती छ । वन्जजन्तुको उद्धारमा समेत प्रयोग गरिने हात्ती निकुञ्जको पूर्वी क्षेत्र अर्जुनी, बेलडाँडीलगायत ठाउँमा पनि थप गर्नुपर्ने देखिएको संरक्षण अधिकृत ऐरले बताउनुभयो ।

“निकुञ्जमा हात्ती जति धेरै भयो, त्यति राम्रो हुन्छ, निकुञ्जको पूर्वी सेक्टरमा हात्तीसार राख्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “वन्जजन्तुको गणना तथा उद्धारमा हात्तीले निकै सघाउ पुर्याउँछ ।”

निकुञ्जभित्र जङ्गल गस्ती, वन्यजन्तु उद्धार, गणना, वैज्ञानिक अनुसन्धान, चोरी सिकारी नियन्त्रणमा हात्ती प्रयोग गरिँदै आएको छ । हात्तीलाई घुमाउनेदेखि स्याहार गर्न प्रत्येक हात्तीमा माउत, फणित र पछुवा गरेर तीन जना खटिने गरेका छन् ।

हाल यहाँ हात्तीलाई गस्ती लैजानेदेखि स्याहार गर्ने माउत, फणित र पछुवाको सङ्ख्या २४ जना छ । निकुञ्जभित्र पर्यटकलाई आकर्षण गर्नका लागि हात्ती सफारी सञ्चालन गर्न सकिन्छ । तर दरबन्दीअनुसार पूर्ण हात्ती नहुँदा र भएकै पनि अशक्त हुनाले सफारी हाललाई बन्द गरिएको निकुञ्जले जनाएको छ ।

बाह्रसिङ्गाको लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तीन सय पाँच वर्ग किलोमिटरमा फैलिएको छ । निकुञ्जको अधिकतम भाग सालको जङ्गलले ढाकिएको छ । बाँकी सिसौ र खयरको जङ्गल र घाँसेमैदान छ ।

जङ्गली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिङ्गा, जरायो, चित्तल, लगुनाजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानीताल तथा अन्य स–साना तालमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाइँ सरी आउने गरी चार सय २४ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् । रासस