२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङका पहिरो पीडितलाई एकीकृत आवास हस्तान्तरण



अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका अस्थायी एकीकृत आवास कक्ष पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । पहिरो पीडित ६५ घरपरिवारलाई आज एक कार्यक्रमका बीच उक्त आवास कक्ष हस्तान्तरण गरिएको हो ।

गत साउन ७ गतेदेखि सुरु गरी दुई महिनामा अस्थायी आवास निर्माण सम्पन्न गरी आज पीडित परिवारलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । पालिका अध्यक्ष वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू र सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले संयुक्तरुपमा आवास कक्ष हस्तान्तरण गरेका छन् ।

वडा नं ४ ओदकका ६२, ताम्राङका दुई र वडा नं ३ का एक परिवार गरी अस्थायी एकिकृत आवास स्थलमा ६५ परिवार रहेका अध्यक्ष वनेमले बताउनुभयो । उहाँका अनुसार ६५ मध्ये ६३ परिवार शेर्पा समुदायका र दुई लिम्बू समुदायका छन् ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार आवास स्थल निर्माणका लागि दातृ निकाय, विभिन्न संस्था तथा व्यक्तिमार्फत रू ५५ लाख ९२ हजार सात सय ७० सहयोग प्राप्त भएको थियो । “टोल विकास संस्था, विद्यालय र समुदायका सदस्यमार्फत श्रमदानसहित रू ६८ लाख एक हजार र गाउँपालिकाका तर्फबाट रू २६ लाख ६० हजार १७ गरी कूल एक करोड ५० लाख ५३ हजारसात सय ८७ मा आवास निर्माण गरिएको हो”, उहाँले भन्नुभयो ।

 

औसतमा एउटा अस्थायी आवास कक्ष निर्माणका लागि रू दुई लाख ३१ हजार पाँच सय ९६ का दरले खर्च भएको पालिकाले जनाएको छ । आवास स्थलमा पाँच जनासम्म सदस्य भएका परिवारका लागि ३६, आठ जनासम्म सदस्य भएकाका लागि २३ र १२ जनासम्म सदस्य भएका परिवारका लागि छ वटा अस्थायी घर बनेका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । उहाँका अनुसार ३६ शौचालय र १८ धारा निर्माण गरिएका छन् ।

गाउँपालिकाले सहयोगी निकाय तथा दाताहरुप्रति आभार प्रकट गरेको छ । गत असार २ गतेदेखि आएको अविरल बर्षापछि गएको बाढीपहिरोका कारण ताप्लेजुङका अधिकांस पालिकामा क्षति पुगेको थियो । रासस