• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

एसियन गेम्सः भारतीय महिला क्रिकेट टोलीलाई स्वर्ण



एजेन्सी । भारतीय महिला क्रिकेट टोलीले सोमबार हाङ्झाउमा इतिहास रच्यो । एसियाली खेलकुद २०२३ को महिला क्रिकेटको फाइनलमा हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय टोलीले श्रीलंकालाई १९ रनले पराजित गर्दै स्वर्ण पदक जित्यो ।

एसियाली खेलकुदमा पहिलो पटक सहभागी भएको भारतीय महिला क्रिकेट टोलीले स्वर्ण पदक जितेर इतिहास रच्न सफल भयो । योसँगै एसियाली खेलकुदमा भारतले दोस्रो स्वर्ण पदक जित्यो ।

१ सय १७ रनको लक्ष्य पछ्याएको श्रीलंकाका लागि कप्तान चमारी अटापट्टुले राम्रो सुरुवात गराइन् । दीप्ती शर्माले बलिङ गरेको इनिङ्सको पहिलो ओभरमा एक छक्का र एक चौका प्रहार गर्दै उनले १२ रन बनाइन् ।

तर त्यसपछि भारतका फास्ट बलर तीतस सिद्धुले आफ्नो छाप छोडिन् । उनले आफ्नो पहिलो ओभरमा अनुष्का सञ्जीवनी (१) र विश्मी गुणरत्नेलाई शिकार बनाइन् । गुणरत्नेले खाता खोल्न सकिनन् ।

यसपछि सिद्धुले कप्तान चमारी अटापट्टु (१२)लाई दीप्ती शर्माले कभरमा क्याच आउट गराएर श्रीलंकालाई ठूलो झटका दिइन् । यसपछि हसिनी परेरा (२५) र निलाक्षी डी सिल्भा (२३)बीच साझेदारी त भयो तर दुवैले रनरेट बढाउन सकेनन् ।

भारतीय बलरहरूले नियमित अन्तरालमा विकेट लिए र श्रीलंकालाई लक्ष्यको पहुँचबाट टाढा राखे । अन्तिम ओभर राजेश्वरी गायकवाडले बलिङ गर्दै भारतको जित पक्का गरिन् । भारतका लागि तीतस सिद्धुले सर्वाधिक ३ विकेट लिइन् । राजेश्वरी गायकवाडले दुईवटा सफलता हात पारिन् । दिप्ती शर्मा, पूजा वस्त्रकार र देविका वैद्यले एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको भारतको सुरुवात राम्रो हुन सकेन । शफाली वर्मा (९) लाई कुमारीले स्टम्पिङ गरिन् । यहाँबाट स्मृति मन्धाना (४६) र जेमिमाह रोड्रिगेज (४२)ले दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गर्दै भारतलाई १०० रनको नजिक पुर्याएका थिए । मन्धनाले अर्धशतक बनाउन चुकिन् । उनले ४५ बलमा चार चौका र एक छक्काको मद्दतले ४६ रन बनाइन् ।

मन्धना आउट भएपछि भारतीय इनिङ्स खस्कियो । ऋचा घोष (९), कप्तान हरमनप्रीत कौर (२ं), पूजा वस्त्रकार (२), अमनजोत कौर (१) रन जोड्दै सस्तैमा पेभिलियन फर्किए । जेमिमा पनि अन्तिम ओभरमा आउट भइन् । उनले ४० बलमा ५ चौकाको मद्दतले ४२ रन बनाइन् । श्रीलंकाका लागि उदेशिका प्रबोधिनी, सुगन्धिका कुमारी र इनोका रणविराले दुई–दुई विकेट लिए ।