• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

महाधिवेशनमा पराजितलाई उपहारमा केन्द्रीय सदस्य



काठमाडौं । मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसमा गत १४औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिएर पराजित भएकालाई नै केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । सभापति शेरबहादुर देउवाले मनोनीत गर्नुभएका अधिकांश केन्द्रीय सदस्यहरू पार्टीको महाधिवेशन प्रतिनिधिदेखि केन्द्रीय सभापतिको प्रत्यासी बनेर पराजित भएकाहरू रहेका छन् ।

सभापति देउवाले महाधिवेशन भएको २१ महिनामा पटकपटक गरी ३२ केन्द्रीय सदस्य मनोनीत गर्नुभएको छ । उनीहरू सबैजसो कुनै न कुनै पदमा उम्मेदवारी दिएर पराजित भएकाहरू छन् । सभापतिमा निकटतम प्रत्यासी स्वतः केन्द्रीय सदस्य हुने व्यवस्थाअनुसार १४औं महाधिवेशनमा प्रमुख प्रत्यासी डा। शेखर कोइराला स्वतः केन्द्रीय सदस्य हुनुभएको छ । उहाँबाहेक सभापति देउवाले आफूसँग प्रतिस्पर्धा गरेका सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्य बनाउनुभएको छ ।

त्यस्तै, उपसभापतिमा पराजित विजय गच्छदार, चन्द्र भण्डारी, सुजाता कोइराला, महामन्त्रीमा पराजित प्रकाशशरण महत र प्रदीप पौडेललाई केन्द्रीय सदस्य मनोनीत गरिएको छ । सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाही हुम्ला, मानबहादुर विश्वकर्मा अर्घाखाँचीलाई पनि सभापति देउवाले केन्द्रीय सदस्यमा ल्याउनुभएको छ । केन्द्रीय सदस्यमा मनोनीत अन्य नेताहरू महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका, प्रदेशसभापति, क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा समेत पराजित भएकाहरूलाई ल्याइएको भन्दै पार्टीभित्र चर्को विरोध भइरहेको छ । सभापतिले विधान र सांगठनिक आवश्यक्तालाई कुल्चिएर राणाकालीन अवस्थाको जस्तै एकलौटी निर्देशनका भरमा आफ्ना ज्यूहजुरी गर्नेहरूलाई केन्द्रीय नेता बनाएको भन्दै कतिपय केन्द्रीय सदस्यले विरोध गरिरहेका छन् ।

सभापतिले मनोनीत गरेका शिवप्रसाद हुमागाईं, धना खतिवडा, उर्मिला थपलिया, रुकमिनी कोइराला, कल्याणी रिजाल, किरण यादव केन्द्रीय सदस्यमा पराजित नेताहरू हुन् । त्यस्तै, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मासँग पराजित अर्जुनप्रसाद जोशी र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग पराजित भरतकुमार शाह पनि केन्द्रीय सदस्य बनेका छन् ।

बागलुङबाट महाधिवेशन प्रतिनिधिमा पराजित किरणराज शर्मा पौडेल, सुनसरी क्षेत्रनम्बर–१ को सभापतिमा पराजित लक्ष्मी खतिवडालाई समेत सभापति देउवाले केन्द्रीय सदस्य बनाउनुभएको छ । पार्टीको विधानबमोजिम तल्लो पदमा चुनाव लडेर पराजित भएका जोकोही पार्टीको माथिल्लो पदमा उम्मेदवारी दिन नपाउने व्यवस्थाअनुसार मनोनीत समेत गर्न नपाइने भन्दै केन्द्रीय समितिको बैठकमै चर्काचर्की भएको थियो ।

मनोनीत केन्द्रीय सदस्यको योग्यतालाई लिएर केन्द्रीय समिति बैठकमा गण्डकी कांग्रेस सभापति शुक्रराज शर्माले सभापतिप्रति आक्रोश पोख्नुभयो । ‘आज पनि तपाईं (देउवा)ले केन्द्रीय सदस्य मनोनीत गर्नुभयो, केन्द्रीय सदस्य बन्ने योग्यता के हो ?,’ उहाँले प्रश्न गर्नुभयो– ‘केन्द्रीय सदस्य हुन के–के काम गर्नुपर्छ ? के–के काम गरेपछि मात्रै कांग्रेस सदस्य हुन पाइन्छ भन्ने मापदण्ड हुनुपर्दैन ?’ विचार पु¥याएर मात्रै केन्द्रीय सदस्य मनोनीत गर्न सभापति देउवाको ध्यानाकर्षण गराउँदै उहाँले जथाभावी मनोनीत गर्दा संगठनलाई नै क्षति पुग्न सक्ने बताउनुभयो । केन्द्रीय समितिमा मनोनीतको प्रक्रियाका विषयमा टिप्पणी गर्दै नेता मनोजमणि आचार्यले नेतृत्वबाटै विधानको खिल्ली उडाइएको बताउनुभयो । नेपाल समाचारपत्र