२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन गर्न हतार गर्न हुन्नः अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्नुपर्ने अवस्था नआएको बताउनुभएको छ ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उहाँले नेपाली जनताभन्दा पनि बाह्यशक्तिको चलखेल देखिएकाले तत्काल संविधान संशोधन गरिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

“गम्भीरताभन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित कुरा कुराबाट दबाब दिने प्रवृत्ति र अनेक खालका बेठीक उद्देश्य देखिएकाले तत्काल समुचित ढङ्गले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न फेरि गम्भीर रहेको छ । त्यसकारण यसका कुनै हतारो नै गरिहाल्नुपर्ने अवस्था आएको छैन”, उहाँले भन्नुभयो ।

उहाँले बडो दुःखले बलिदानपूर्ण लामो सङ्घर्षपछि हामीले आफैँले निर्माण गरेको संविधान सबैले मान्नुपर्ने भनाइ राख्नुभयो । अध्यक्ष ओलीले संविधान सर्व स्वीकार्य बनोस् भनेर दुई पटक संशोधन गरिसकेको भन्दै अहिले पनि व्यावहारिक बनाउनका लागि आवश्यकअनुसार संशोधन गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनका क्रममा देखापरेका, नमिल्दा खालका, व्यवहारमा परिवर्तन आवश्यक देखिएका त्यस्ता विषय परिवर्तन गर्दै लैजानुपर्दछ ।” संविधानको विरोध गर्ने र संविधानको समर्थन गरेपछि संशोधन हुन सक्दैन भन्ने दुवै कुरा ठीक नभएको उहाँले बताउनुभयो ।

आधारभूत गुणमा कतै खोट नभएको व्यक्ति सुवास नेम्वाङ रहेको भन्दै उहाँले अवसर र जिम्मेवारी पाउँदा सफलतापूर्वक काम गरेको उल्लेख गर्नुभयो । नेम्वाङले पुनःस्थापित प्रतिनिधिसभाको सभामुखको भूमिका असाधारण खेलेको भन्दै सोही संसद्ले थुपै्र युगान्तकारी निर्णय गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले संविधानमा निर्माणमा नेम्वाङको पदचिह्न, योगदान, दिशानिर्देशबारे पार्टीमा छलफल गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले सबै पार्टी मिलेर देशको समस्या समाधान गर्न एकजुट हुनुपर्ने बताउनुभयो । “आज सबै पार्टी र पक्ष मिलेर देशको समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्र भने धेरै प्रकारका खतराबाट हामी जेलिने छौँ”, उहाँले भन्नुभयो, “त्यसमा पनि प्रमुख राजनीतिक दलको कर्तव्य हो । साँच्चै देशप्रति प्रमुख राजनीतिक दल जिम्मेवार हुनुपर्दछ ।”
.
प्रमुख राजनीतिक दलहरू जमानी बसेर धेरै आन्दोलन र बलिदान भएको उल्लेख गर्दै बलिदान प्राप्त उपलब्धिलाई गुम्न दिन नहुने उहाँको भनाइ छ । उहाँले आन्दोलन र बलिदानबाट प्राप्त भएको उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बेला आएको धारणा व्यक्त गर्नुभयो । देशको भूमि, सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा गर्न पनि एमाले प्रतिबद्ध रहेको बताउनुभयो ।

“देशको राष्ट्रिय हित खलबलिदिन नदिने भन्दै भावनात्मक रूपमा अरुको स्वार्थका लागि हाम्रा देशमा जनतालाई पारस्परिक घृणा फैलाउन, मारकाट मच्चाउन र हिंसा भडकाउने खालका क्रियाकलाप एमालेलाई स्वीकार्य छैन । यस्तो कार्य रोक्न एमाले अघि बढ्ने छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय एकताबाट मात्र देशमा शान्ति सुव्यवस्था, सुशासन र विकास हुने बताउनुभयो । उहाँले राष्ट्रिय राजनीति कसैलाई सिध्याउने प्रतिशोधमा भइरहेको भन्दै अहिलेको आवश्यकता त्यसो नभई प्राप्त गरेको उपलब्धिको रक्षा रहेको बताउनुभयो । रासस