४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्वर्णयुगको अँध्यारो पाटो

स्वर्णयुगको अँध्यारो पाटो
अ+ अ-

हिमाल पहाड तराईको सङ्गमस्थल नेपाल । पर्यटकीय दृष्टिकोण संसारकै अब्बलमध्येको एक देश नेपाल । सगरमाथादेखि केचनासम्मको देश नेपाल । यस्तो सुन्दर देशमा बस्ने नेपाली पनि सुन्दर हुने नै भए । त्यसमाथि हाम्रो देशको जनसङ्ख्याको बनावट यतिबेला झन् सुन्दर देखिन्छ । ‘कन्ट्री अफ युथ’ अर्थात् युवाको देश नेपाल भनिने नेपाल अहिले सुनौलो युगमा छ । तथापि स्वर्ण युगलाई नेपालले नै उपयोग गरिरहेको छ कि अरु कसैले ? अहिलेको अह प्रश्न हो यो ।

प्राकृतिक स्रोतको सीमितताका कारण मानव स्रोत विश्वको वैकल्पिक सम्पदा हो । नेपाल अहिले त्यस्तै अथाह सम्भावनायुक्त मानव स्रोतको भण्डार बोकेर बसेको छ । तर यो भण्डारलाई हामीले उपयोग गर्न सकेका छौँ कि छैनौँ रु यो बहसको विषय हो । निश्चय नै मानव स्रोतयुक्त अहिलेको अवस्थालाई नेपालले उपयोग गर्न सकेको छैन । बरु यहाँबाट समृद्धिका हरेक सम्भावना हरेक दिन जेट विमान चढेर विश्वका विभिन्न देशका पुगिरहेका छन् ।

नेपाल जनसाङ्ख्यिक हिसाबले इतिहासकै सबैभन्दा उर्बर समयमा छ । जनसङ्ख्यासँग सम्बन्धित विभिन्न सूचकहरुले यस कुरालाई प्रमाणित गरेका छन् । कामगरी काम गरेर खानसक्ने सक्रिय जनसङ्ख्या(१५–५९) वर्ष उमेर समूहका मानिसहरु कुल जनसङ्ख्यामा ६१ दशमलव ९६ प्रतिशत रहेका छन् । नेपालको जनसंखिक इतिहासमा सक्रीय जनसङ्ख्यायति धेरै भएको समय पहिलो पटक हो । त्यस्तै १४ वर्षभन्दा मुनिका बालबालिका र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक पनि न्यून भएको समय हो अहिले ।

यसको अर्थ नेपालमा काम गर्न सक्ने मानिससँग आश्रित हुने जनसङ्ख्यामा इतिहासमा नै उच्च गिरावट आएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको आश्रित जनसङ्ख्या ३८ दशमलव ०४ प्रतिशत छ । जसमा १४ वर्षभन्दा कम उमेरका बालबालिका २७ दशमलव ८३ र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक १० दशमलव २१ प्रतिशत रहेका छन् । उपरोक्त तथ्याङ्क हेरेपछि भन्न सकिन्छ नेपाल इतिहासकै उज्यालो युगमा छ । इतिहासकै सम्भावनायुक्त समयमा छ । इतिहासकै आर्थिक सूचक उच्च बनाउने समयमा छ । तर यी सम्भावना माथि नेपाली आकाशमा केही बादलहरु पनि मडारिएका छन् । तिनको केही विश्लेषण गरौं ।

स्वर्णयुगको अँध्यारो पाटो

तथ्याङ्कले नेपालमा युवा जनशक्ति र समृद्धिको अथाह सम्भावना देखिए पनि त्यो समृद्धिको स्रोतको उपभोग विदेशीले गरिरहेको देखाउँछ । नेपालमा भविष्यको सुनिश्चितता नदेखेर, राज्य व्यवस्थाले युवालाई अवसर दिन नसकेर र युवामा आशा सञ्चार गराउन नसकेका कारण नेपाली युवाले देश छोडिरहेका छन् । जनगणनाले २३ प्रतिशत घरका युवा वैदेशिक रोजगारीमा गएको देखाएको छ । आखिर मानिसहरु किन विदेश गइरहेका छन् त ? गायक तेजेन्द्र गन्धर्वको एउटा गीतको टुक्राले मानिस विदेश जानुको कारण स्पष्ट बनाएको छ । यो गीतको टुक्रालाई यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ ।

हे आमा मीठो खाने राम्रो लाउने आशले।।।
विदेश जान थाले झन्झन् हाम्रा गाउँले ।
गाउँबस्ती दिनदिनै खाली हुन थाले।।।
सन्तानको साथ पाउन छाडे आमा बाले ।

सारङ्गीको धुनमा यूटुबमा भेटिने यो गीतले जो कोही नेपालीलाई पनि भावुक बनाउँछ नै । आफ्नो गाउँ छोडेर किन कोही वैदेशिक रोजगारीमा जान्छ ? यसको सहज जवाफ छ मीठो खाने, राम्रो लाउने, सन्तानलाई राम्रो शिक्षा दिने आदि चाहनाले मानिसहरु घर परिवार छोडेर वैदेशिक यात्रामा उडिरहेका छन् । अब प्रश्न उठ्छ यदि उनीहरुको मीठो खाने, राम्रो लाउने चाहेको जस्तो शिक्षा पाउने चाहना स्वदेशमै पूरा भए उनीहरु श्रीमती, श्रीमान्, छोराछोरी र बाबुआमा छोडेर विदेश जान्थे होलान् त रु पक्कै पनि जाने थिएनन् । तर हाम्रो राज्य संरचनाले नेपाली युवाका यी साना साना सपना पनि पूरा गर्न सकेन । त्यसैको फलस्वरुप समृद्धिका स्रोतको रुपमा करिब २२ लाख युवा अहिले नेपाल बाहिर आफ्नो श्रम र पसिना बगाइरहेका छन् । यो तथ्याङ्क केबल औपचारिक च्यानलबाट वैदेशिक रोजगारीमा गएकाहरुको हो । अनौपचारिक च्यानल र खुला सिमानाको उपयोग गर्दै भारत र त्यहाँमार्फत विभिन्न देश पुगेका नेपाली युवाहरुको तथ्याङ्क यहाँ समावेश छैन ।

नेपालको युवा जनसङ्ख्यामध्ये अर्को एउटा समूह छ, जो उच्च शिक्षाका नाममा नेपाली रुपैयाँसहित विदेशका विश्वविद्यालयमा पढ्ने बहानामा दैनिकरुपमा जेट विमानको यात्रा गरिरहेको छ । कक्षा १२ सकेर उच्च शिक्षाका नाममा विदेशका विश्वविद्यालयमा अग्रिम शुल्क बुझाएर विदेशिएका अधिकांश विद्यार्थी स्वदेश नफर्कने मात्र होइन, उनीहरुसँग ठूलो मात्रामा नेपाली रुपैंया पनि डलर बनेर विदेशिरहेको छ । नेपालमा गुणस्तरीय शिक्षा र त्यसपछिको रोजगारीको अभावलाई कारण मान्दै विदेशिएको यो किशोर समूह देशका लागि झन् घातकसिद्ध भएको छ । किनकी वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका नेपाली युवाहरु स्वदेश फर्कने सम्भावना पनि उत्तिकै हुन्छ भने उनीहरुले पठाएको रेमिटेन्स केही वर्ष यता परिवार मात्र होइन, देशको अर्थतन्त्रको बलियो टेको पनि भएको छ । तर अध्ययनका नाममा विदेसिएकाहरुले आफूसँगै नेपालको अर्थतन्त्र पनि लिएर गएका छन् ।

कुन प्रदेशबाट कति युवा विदेशमा ?
प्रदेश जनसङ्ख्या पुरुष महिला
कोशी ३,४३,०३४ २,८६,६३१ ५६,४०४
मधेस ३०,४२,६८६ २,९२,४२७ ११,८५९
बागमती ३,९७,९३० २,८०,१२० १,१७,८१०
गण्डकी २,८६,५९३ २,३९,७८८ ४६,८०५
लुम्बिनी ४२,०९०६ ३६,७६७० ५३,२३६
कर्णाली ९४,३२० ७७,२७८ १७,०४२
सुदुरपश्चिम ३,४३,५२३ २,५५,७६१ ८७,७६२
नेपाल २१,९०५९२ १७९९६७५ ३,९०,९१७
स्रोतः राष्ट्रिय जनगणना २०७८

माथिको तालिकामा नेपालबाट विदेशिएका नेपालीहरुको तथ्याङ्क उल्लेख गरिएको छ । उमेर समूहकै आधारमा विभाजन नगरिएको भए पनि यिनीहरु अधिकांश वैदेशिक रोजगारीमा गएका १८ देखि ५० वर्ष उमेर समूहका मानिस हुन् भन्ने कुराको अनुमान लगाउन खास गाह्रो छैन । अहिले २१ लाख ९० हजार पाँच सय ९२ जना नेपाली वैदेशिक रोजगारीमा छन् । त्यसमध्ये पुरुषको सङ्ख्या १७ लाख ९९ हजार छ सय ७५ र महिलाको सङ्ख्या तीन लाख ९० हजार ९ सय १७ जना रहेको छ । यसरी विदेश जाने मध्ये सहरी क्षेत्रको सङ्ख्या उल्लेख्य छ । नेपालको नगरपालिका अर्थात सहरी क्षेत्रका बासिन्दामध्ये १४ लाख ६८ हजार १७ जना वैदेशिक रोजगारीमा गएका छन् । गाउँपालिका अर्थात् ग्रामीण क्षेत्रबाट सात लाख २२ हजार ७५ जना वैदेशिक रोजगारीमा छन् ।

भौगोलिक हिसाबले हेर्दा सबैभन्दा ठूलो सङ्ख्याको जनसङ्ख्या तराईले ओगटे जस्तै सबैभन्दा ठूलो सङ्ख्यामा विदेश जानेहरु तराई क्षेत्रबाट नै छन् । तराईबाट १० लाख ८३ हजार आठ सय नौ जना वैदेशिक रोजगारीमा गएका छन् । पहाडी क्षेत्रबाट नौ लाख ९० हजार सात सय २३ जना विदेशमा छन् । हिमाली क्षेत्रबाट एक लाख १६ हजार ६० जना वैदेशिक रोजगारीका लागि गाउँ छोडेको देखिन्छ ।

वैदेशिक रोजगारीपछि अर्को एउटा दुःखलाग्दो दृश्य हामीले देखिरहेका छौं । हरेक दिन साँझ त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलबाट ‘उज्ज्वल भविष्यको कामना’ गर्दै किशोर उमेरमा हजारौं नानीबाबुहरुलाई विदेश पठाइरहेका छौंँ । विदेशमा उज्ज्वल भविष्यको कामना गर्ने हामीहरु स्वदेशमै त्यो भविष्य खोज्न कतै चुकिरहेका छौंँ कि भन्ने लागेको छ । गत जेठमा कक्षा १२ को परीक्षा सकिएपछि एक संस्थाले ती परीक्षार्थीमा गरेको सर्वेक्षणअनुसार १२ कक्षाको परीक्षा दिएका करिब पाँच लाख विद्यार्थीमध्ये ८८ प्रतिशतले आफूले विदेश जान चाहेको बताएका थिए । देशको भविष्य आफ्नो काँधमा बोक्नुपर्ने नवयुवा नफर्किने गरी रोजीरोजी विश्वका सम्भ्रान्त देशतर्फ लम्किएका छन् । त्यता जान नसक्ने युवा र वयस्कहरु खाडीका देशमा पसिना र श्रम बेच्न जानु पर्ने बाध्यतामा छन् । खुला सिमानाको प्रयोग गरेर भारतमा रोजगारी गर्न जानेहरुको त हिसाबै छैन ।

घट्दो जन्मदर, घट्दो मृत्युदर बढ्दो शैक्षिक र आर्थिक अवस्था, बढ्दो औसत आयु आदि कारणले नेपाल जनसाङ्खिक लाभको सुनौलो समयमा छ । तर यो सुनौलो समयलाई नेपालले उपभोग गर्न नसक्नु यसको अँध्यारो पक्ष हो । जनसङ्ख्याको यही पलायनता निरन्तरता हुँदै जाने हो भने कुनै बेला नेपालमा ‘डेमोग्राफिक क्राइसिस’ पो आउने हो कि भन्ने चिन्ता पनि व्याप्त छ । किनकी बच्चा जन्माउने दर जन्मदर प्रतिमहिला दुईभन्दा कम भएको छ । मानिसले विवाहप्रतिको चाहनालाई पछि सार्दै ढिलो विवाहको संस्कार विकसित भइरहेको छ । हिमाल र पहाडका ३४ वटा जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक छ । एक दशकअघि २७ जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक थियो । यसपटक थप सातवटा जिल्लाले जनसङ्ख्या गुमाए ।

खासमा मानव स्रोतको अब्बल उपयोग हुनुपर्ने नेपालमा अहिलेको अवस्था आउनु दुःखद् नै हो । कलकारखाना, उद्योगधन्दा, रोजगारी, गुणस्तरीय शिक्षा, सरल र अब्बल दर्जाको स्वास्थ्य सेवा पाउनु पर्ने समय थियो यो । यदि त्यसो हुन्थ्यो भने नेपालीहरु नेपालमै हुन्थे । विद्यार्थीहरु पढ्न विदेश जानु पर्ने थिएन । सामाजिक सुरक्षालगायतको उचित प्रवन्ध राज्यले गरिदिने हो भने आफ्नो घरपरिवारसँग बसेर रमाइलो साट्थे सबै नेपाली युवाहरुले । तर विडम्बना विश्वले नेपालको जनसाङ्खिक सूचक हेर्दा स्वर्ण युगमा देख्छन् तर स्वर्ण युग भित्रको अध्याँरो पाटो कसले देख्ने ? नेपाली श्रमिकले पठाएको रेमट्यिान्सको धिपधिपे उज्यालोबाहेक स्वर्ण युगमा गर्व गर्न लायक कुरा नेपालले पाएको छैन । जन्मदरको घट्दो ग्राफ र विदेश जानेको लम्बिदो रेखा देख्दा लाग्छ नेपाल कुनै ‘डि पपुलेटेड’ देशका रुपमा दर्ज हुने पो हो कि । शायद नेपालको यस्तै परिदृष्यलाई देखेर होला कवि अर्जुन पराजुलीले केही दिनअघि सामाजिक सञ्जालमा यस्तो कविता लेखेका थिए

केही वर्षपछि मेरो देशमा
सटर हुनेछन्,पसल हुने छैनन्
जमीन हुनेछ,फसल हुने छैनन्
अस्पताल हुनेछन्,नर्स हुने छैनन्
बिरामी हुनेछन्,डाक्टर हुने छैनन् ।

(लेखक पत्रकार हुनुहुन्छ)